रुपनी जि एम
बाँके । ‘अरुलाई भन्दा मलाई आधा घण्टाको समय बढी दिईएको भएपनि समयमा परीक्षा सक्नु पर्ने थियो । त्यस्मा पनि मैले त खुट्टाले लेख्नु पर्ने । सजिलो त थिएन ।’ यो भनाई हो भर्खरै खुट्टाले लेखेर एसइई पास गर्नु भएका उमेश खत्रीको ।
बाँकेको राप्तीसोनारी गाउँपालिका २ मदुई स्थित श्री लक्ष्मी माध्यामिक विद्यालय मदुवाबाट यो वर्ष उमेशले २.९२ जिपिए ल्याएर एसइईको परीक्षा उत्तिर्ण गर्नु भएको छ । आफुले सोंचे भन्दा कम ग्रेट आएकोमा उमेशलाई थोरै खिन्नता छ । ‘यो भन्दा बढि नै सोंचेको थिएँ । तर यो उपलब्धीमा पनि खुशी नै छु ।’ उहाँले भन्नुभयो,‘अब उच्च शिक्षाको पढाईमा थप मिहिनेत गर्नेछु ।’
एसईई दिएकै विद्यालयबाट उच्च शिक्षाको पढाई पढने योजना बनाएको उमेशले बताउनुभयो । बालि बिज्ञान लिएर पढने योजना भएको बताउँदै उमेशले भन्नुभयो,‘मैले कक्षा नौं देखि नै बाली विज्ञान लिएर पढेको हुनाले उच्च शिक्षा पनि बालि बिज्ञानमा गर्ने योजना छ ।’ भविष्यमा लोकसेवा दिएर अधिकृत बन्ने ईच्छा भएको उहाँले बताउनुभयो ।
यस बर्षको एसइई नतिजामा धेरै विद्यार्थी र शिक्षक माथी नै प्रश्न उठिरहेको बेला १८ बर्षिय उमेश भने खुट्टाले लेखेर एसईई उतिर्ण हुनु भएको छ । बाँकेमा यो वर्ष खुट्टाले लेखेर एसईई पास गर्ने उहाँले नै पहिलो विद्यार्थी हो । उमेश भन्नुहुन्छ,‘हातले काम गर्नु पर्नेमा खुट्टाले गर्दा गाह्रो त हुन्छ नै तर आत्मविश्स र लगनशिलता भयो भने जस्तो सुकै गाह्रो काममा पनि सफल भईने रहेछ ।’
बँकेको राप्तीसोनारी २ मदुवाका उमेश जन्मजात नै दुबै हात र खुट्टा नचल्ने भएर जन्मनु भएको हो । पटक पटकको उपचारले हातको नशामा कुनै सुधार नआए पनि खुट्टाको भने तिन पटक अप्रेसन गरेपछि अलिअलि चल्न शुरु गरेको आमा गोमा खत्रीले बताउनुभयो ।
खुट्टा चल्न थालेपछि उमेशले खुट्टाकै भरमा आफुले सक्ने आफ्नो कामहरु विस्तारै विस्तारै गर्न शुरु गरेको आमाले बताउनुभयो । खुट्टा चल्न शुरु गरेपछि उहाँलाई हिँड्नका लागि कसैको साहारा चाहिएन । तर धेरै बेर उभिँदा भने उहाँलाई निकै अफठयारो हुने आमा गोमाको भनाई छ ।
खुट्टाले काम गर्न सक्ने भएपछि छोरालाई स्कूल भर्ना गरिदिएको उहाँले बताउनुभयो । ‘शरुमा उस्लाई गाउँकै जय दुर्गा आधारभूत विद्यालयमा पढायौं । त्यसपछि गाउँमै सञ्चालित वागेश्वरी वेस्टन ईल्गिस मिडियम बोडिंग स्कूलमा कक्षा ७ सम्म पढाएर लक्ष्मि माध्यामिक विद्यालयमा भर्ना गरेका हौं ।’ आमाले भन्नुभयो,‘छोरा पहिलादेखि नै पढाईमा अब्बल भएको हुँदा उहाँलाई एसईईमा पनि छोरा पास हुन्छ भन्नेमा ढुक्क थियो ।’
छोराले एसईई पास गरेपछि चौतर्फी बढाईको ओईरो आई रहँदा आफुलाई गर्व लागेको उहाँले बताउनुहुन्छ । ‘बाबुले एसईई पास गरेपछि चिनेजानेका देखि नचिनेकाहरुले पनि टाढाटाबाट फोनमा बधाई दिई रहनु भएको छ । गर्व लागेको छ ।’
खुट्टाको नशामा सुधार आएपछि उमेशले अरु काम गर्न नसकेपनि आफ्नो किताब कापी मिलाउने, कलम समात्ने, मोबाईल र ल्याप्टप समेत चलाउने हुँदा ती कुरामा सहयोग गर्नु नपरेको गोमाले बताउनुभयो ।
उमेशलाई कक्षाकोठाको बसाई देखि लिएर सहज वातावरणका लागि विद्यालयले उचित व्यवस्थापन गरेर सहयोग पुर्याएको लक्ष्मि माविका प्रध्यानाध्यापक लक्षण प्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार कक्षाकोठाको बेन्चमा बसेर लेख्न उमेशलाई अप्ठयारो भएपछि बिद्यालयले उहाँलाई छुटै टेबल अनि कुर्सीको ब्यबस्था समेत गरेको थियो ।
प्रधानाध्यापक आचार्यले उमेश मिहिनेती मात्र नभई अनुशासीत बिद्यार्थी भएको बताउनुभयो । ‘उहाँको शारीरिक अपागंतालाई देखेर स्कुलले पनि धेरै सहयोग र ब्यबस्थापन गरेको छ ।’ उहाँले भन्नुभयो,‘हुनत पढने मान्छेलाई कुनै कुराले रोक्न सक्दैन् । यो सफलता उमेशको पढाई प्रतिको लगनशिलता अनि प्यासको नतिजा नै हो ।’
घरबाट १५ मिनेटको दुरीमा रहेको बिद्यालयमा उमेशलाई कहिले मामाका छोरा त कहिले आमाले बिद्यालयसम्म पुर्याउन जानुहुन्थ्यो । उमेश आफ्नो यो सफलताको सबै श्रेय आफ्ना आमा बुवा अनि गुरुहरुलाई दिनुहुन्छ ।
पाँच वर्षको उमेरबाट उमेशले आफुले सक्ने आफ्ना कामहरुलाई खुट्टाकै साहारामा गर्न शुरु गर्न थाल्नुभयो । हात खुट्टा नै नचल्दाको अवश्थामा भन्दा खुट्टाले काम गर्दा शुरु गरेपछि भने धेरै सजिलो भएको उमेशको भनाई छ ।
उमेशकी आमा गोमा खत्रीका अनुसार उमेश स्कूल गएदेखि कक्षा दशसम्म विषय नलागेर पास हुन सफल विद्यार्थी हो । छोराको अवस्था सामान्य नभएपनि उहाँले छोरालाई कहिल्यै असामान्य मान्नु भएन । छोराको हिम्मतलाई बढावा दिन उहाँले अरु सपांग विद्यार्थीहरु पढेकै विद्यालयमा भर्ना गरिदिनुभयो ।
सशस्त्र प्रहरीमा जागीरे बुवा अहिले नवलपरासीमा कार्यरत हुनुहुन्छ । उमेशकी आमा भने गृहण्ी हुनुहुन्छ । उमेशका एक मात्र भाई भर्खर कक्षा २ मा पढ्दै हुनुहुन्छ । उमेश घरका जेठा छोरा भएको हुनाले आफनो रहरलाई भन्दा जिम्मेवारीलाई पहिलो प्राथमीकता बनाएको उहाँको भनाई छ ।
यसबर्षको एसइई धेरै विद्यार्थीले नतिजा राम्रो ल्याउन नसकोके अवस्थामा जटिल अवस्थामा पनि आफनै वडाबाट उमेशले राम्रो अंक ल्याएर पास भएको वडाबासी नै खुशी भएको वडा अध्यक्ष ज्ञानेन्द्ररँज वलीले बताउनुभयो ।
उमेशको उच्च शिक्षाका लागि वडाबाट भन्दा पनि आफनै व्यक्तिगत सेवासुविधाबाट पढाइ खर्चमा सहयोग गर्ने वडाध्यक्ष वलीले प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त बिद्यालयबाट एक सय सात जना विद्यार्थीले एसईईको परिक्षा दिएकोमा १२ जना विद्यार्थी मात्र उतिर्ण भएका छन् ।






