बाँके । नेपालगञ्ज उपमहानगरपालिका २ भैयापुरका दिनेश थापा मगरले जग्गा उर्बरा र बाली उब्जनीमा बढावा गराउनका लागि ढैचालाई जोतेर कम्पोष्ट मल बनाउनु भएको छ । उहाँले आफ्नो २ विगाह जग्गामा लगाएको ढैंचालाई ट्रयाक्टरले जोतेर कम्पोष्ट मल बनाउनु भएको हो ।
भोली अषाढ १५ गते धान दिवसको अवसरमा धान रोप्नका लागि ढैचालाई जोतेर कम्पोष्ट मल बनाउनु भएका दनेशले विगत ५ वर्षदेखि रासायानिक मलको साटो कम्पोष्ट मलको रुपमा ढैचालाई प्रयोग गर्दै आई रहनु भएको छ । ‘मैले आफ्नो खेतमा ढैंचा प्रयोग गर्न लागेको ५ वर्ष भयो । शुरुका वर्षहरुमा यस्ले खासै नतिजा दिन सकेन ।’ उहाँले भन्नुभयो,‘प्रत्येक वर्ष मैले यसैगरी ढैचालाई नै जग्गा मलिलो र पोषिलो बनाउनका लागि प्रयोग गर्न थालेदेखि अहिले उब्जनीमा धेरै फरक भएको छ ।’
३९ वर्षिय दिनेशले ‘आफ्नै बारी आफ्नै कर्म’ भन्ने सिद्धान्तलाई आफैले नै प्रतिपादन गरी विदेश गएर खेत बारी बाँझै राखेर पैसा कमाउनु भन्दा खेतबारीबाटै मनग्य उब्जनी गरेर जीविको पार्जन गर्न ढैचाखेतीलाई नै बढावा दिन सबै किसानलाई आग्रह समेत गर्नु भएको छ । उहाँले ढैचाखेतीले खेतबारीमा कुनै पनि प्रकारको विषादि प्रयोग हुन नपाउँदा स्वच्छ हावा र स्वस्थ माटोले जीवनलाई नै स्वस्थ राख्नमा मद्यत पुग्ने बताउनुभयो ।
ढैंचाखेती गर्न शुरु गरेदेखि कुनै पनि प्रकारको रासायानिक मलको आवश्यकता नै नपरेको दिनेशको भनाई छ । ‘मलाई पहिला पहिला वर्षा लाग्दा रासायानिक मल नपाईने कुरामा निकै नै चिन्ता हुन्थ्यो तर मैले यो ढैंचाखेती गर्न लागेदेखि मलाई अब मलको चिन्ता हुनै छाड्यो ।’ उहाँले भन्नुभयो,‘म युवा भएको हुनाले पनि होला अहिले मेरो देखासिखि गरेर यहाँका मात्र नभई बर्दियाका केही युवाहरुले पनि आफ्नो खेतमा यस्को प्रयोग गर्न शुरु गर्नु भएको छ । मलाई यो कुराले निकै नै खुशी दिएको छ ।’
कम्पोष्ट मल प्रयोग गरेर युवा किसानका रुपमा बाँकेमा चिनिनु भएका दिनेशका अनुसार वर्षा याममा धानबालीका लागि प्रयोग गरिने ढैंचाले हिंउदे बालीलाई समेत उब्जनीमा सहयोग गर्ने बताउनुहुन्छ । खेतबारीको सबै काम आफै नै गर्ने दिनेशले खेतमा धानखेतीका लागि कम्पोष्ट मल मात्र नभई बारीमा लगाईने तरकारी र फलफुलका बोट विरुवाहरुमा समेत घरमै मल तयार गरेर प्रयोग गर्दै आउनु भएको छ ।
बाँकेमा केही वर्ष यता विशेषगरी धानबालीका लागि कम्पोष्ट मलका रुपमा किसानहरुले ढैचाको प्रयोग गर्दै आईरहेका छन् । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकील अहमदले माटो सुधारका लागि ढैँचाखेती निकै प्रभाकारी भएको बताउनुभयो । धान बालीलाई आवश्यक पर्ने कूल नाइट्रोजनको २५ प्रतिशत भाग ढैँचाखेतीबाट परिपूर्ति गर्ने हुँदा यसप्रति किसानको आकर्षण बढ्दै गएको उहाँको भनाइ छ ।
माटोको सन्तुलन बिग्रदै गइरहेको अवस्थामा ढैँचाखेती किसानका लागि फाइदाजनक भएकाले यस वर्ष केन्द्रले पाँच क्विन्टल ढैँचाको मल वितरण गरेको केन्द्रका प्रमुख अहमदले जानकारी दिनुभयो । उहाँका अुनसार नेपालमा पाइने ढैँचाका जातहरु सेस्बानिया रोस्ट्राटा र सेस्बानिया क्यानाविना छन् । कृषि ज्ञान केन्द्रका प्रमुख अहमदका अनुसार ढैंचालाई धान रोप्नु भन्दा ४५ दिनअगाडि ४० केजी प्रतिहेक्टर वा प्रति रोपनी दुई केजीका दरले खेत खनजोत गरी छर्नु पर्ने हुन्छ ।
यी मध्ये सेस्बानिया रोस्ट्राटामा काण्ड र जरा दुवैमा वायुमण्डलीय नाइट्रोजन सोसेर लिन सक्ने ‘राइजोबियम ब्याक्टेरिया’ भएको गिर्खाहरु हुन्छन्। जस्ले नाइट्रोजन स्थिरीकरणको मात्रा बढाउँछ। ढैँचा लगाएको छ देखि सात हप्ता (फूल फल्ने अवस्था) पछि खेतमा पानी राखी बोटलाई जोत्न सजिलो हुनेगरी काट्ने र जोतेर माटोमुनि पारेर दबाएर राख्नुपर्दछ । यसरी सडाएर राखेको हरियो मल ढैँचाले ८० देखि एक सय ५० केजी नाइट्रोजन प्रतिहेक्टर स्थिरीकरण गर्न सक्ने विज्ञहरुको भनाइ छ ।






