बाँके । पश्चिम नेपालका तीन प्रदेशको स्वास्थ्य हबका रूपमा परिचित बाँकेको रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ । अत्यधिक गर्मीका कारण रक्तदान हुने क्रम घटेपछि रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो ।
गर्मीकै कारण बिरामी थपिँदा रगतको माग पनि बढ्दै गएको बेला रक्तदान घटेकाले रगत पु¥याउनै समस्या भइरहेको उहाँले बताउनुभयो । ‘रक्तसञ्चार केन्द्रमा विभिन्न ग्रुपका १५० पिन्टको हाराहारीमा मात्रै रगत मौज्दात रहेको छ ।’ उहाँले भन्नुभयो,‘खासगरी चाड पर्वका बेला र अत्यधिक गर्मीका बेला रक्तदानमा हुने कमीले माग र आपूर्तिको सन्तुलन बिग्रने गर्दछ ।’
रक्तसञ्चार केन्द्रका प्रमुख रेग्मीका अनुसार रक्तदानको भरमा रहेको ब्लड बैङ्कमा माग अनुसार रगत नहुँदा बिरामीका आफन्तले नै रगतको व्यवस्थापन गर्नु परेको छ । ‘रगत माग हुँदा स्टक अभावले बिरामीका आफन्तलाई नै ल्याऊ भन्नुपरेको छ ।’ उहाँले भन्नुभयो,‘आवश्यकता बमोजिम रक्तदानका कार्यक्रम नहुँदा रबिरामीका आफन्तले नै सट्टा रगतको व्यवस्था गर्नुपर्दा समस्या भइरहेको छ ।’
थालेसिमिया, सिकलसेलका बिरामीलाई समेत नियमित रूपमा रगत उपलब्ध गराउनुपर्ने भएकाले पनि नियमित रगतको माग अत्यधिक रहेको रक्तसञ्चार केन्द्रले जनाएको छ । कुनै ठुलो घटना दुर्घटना भएको अवस्थामा आवश्यक रगत आपूर्तिका लागि रक्तसञ्चार केन्द्रमा अहिले रगतको पर्याप्त स्टक नरहेकाले चिन्ता बढाएको केन्द्रका प्रमुख रेग्मीको भनाई छ ।
रगत अभाव हुन नदिन सामाजिक सञ्जालमा समेत रक्तदानका लागि पटक पटक आह्वान गर्ने गरिएको केन्द्रले जनाएको छ । नेपालगन्ज, खजुरा र कोहलपुर गरी बाँकेमा दैनिक कम्तीमा ८० देखि १०० पिन्ट रगत माग हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।
बाँकेमा कम्तीमा एक हजार पिन्ट रगत स्टकमा हुने हो भने समस्या नहुने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवर्धनसिंह सम्झनाले नेपालगन्जस्थित ब्लड बैङ्कमा हाल तीन हजार पिन्ट बढी रगत स्टक गर्ने सक्ने क्षमता विस्तार गरिएपनि त्यस अनुसार रक्तदान नहुँदा आपूर्तिमा समस्या हुने गरेको बताउनुभयो ।
नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले नेपालगन्ज, कोहलपुर र खजुराका अस्पतालहरूमा रगत उपलब्ध गराउँदै आएको छ । रक्तसञ्चार केन्द्रका अनुसार केन्द्रले आर्थिक वर्ष २०७८÷०७९ मा १६ हजार ७ सय ८७ पिन्ट रगत वितरण गरेको थियो भने २०७९÷०८० मा १८ हजार ७ सय ५७ पिन्ट रगत वितरण गरेको थियो ।
सोही प्रकारले चालु आर्थिक वर्षको वैशाख महिनासम्म १५ हजार १९ पिन्ट रगत वितरण गरिसकेको रक्तसञ्चार केन्द्रे जनाएको छ । यो तथ्याङ्कले पनि हरेक वर्ष रगतको माग बढ्दै गएको पुष्टि गरेको छ ।






