बाँके । बाँकेको नेपालगञ्जमा इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकराईद (इद उल अजहा) आज धुमधामसंग मनाइँदैछ । इदको रौनकले यतिबेला नेपालगञ्जको स्वरुप नै बदलिएको छ ।
ईदको अवसरमा इस्लाम धर्मावलम्बीले नेपालगञ्ज विपी चोकस्थित ईदगाहमा सामूहिक नमाज पढेका छन् । मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बाँकेमा ईदको विशेष उल्लास हुने गर्दछ । बकराईदको अवसरमा बाँकेमा एक आपसमा शुभकामना आदान प्रदान गरेर पर्वलाई उल्लासका साथ मनाईएको छ ।
बकराईद पर्व ईदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिक रूपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले हलाल कमाईबाट धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् ।
यो कुरबानी इस्लामका पैगम्बर हजरत इब्राहिम खलील उल्लाह र उनका छोरा इस्माईल जबिउल्लाहको सम्झनामा मनाईने गरिन्छ । आफ्नो प्रिय चीजको कुरबानी दिने अल्लाह को आदेशको पालना गर्दै उहाँले उमेरको अन्तिम पडावमा पाएको सन्तान सुख थियो ।
सोही सन्तान लाई कुरबान गर्न लाग्दा छोरा इस्माईलको ठाउँमा अल्लाहले स्वर्गबाट दुम्बा अर्थात भेडा पठाउनु भएको थियो । जुन भेडा उहाँले कुरबानी गर्नुभयो त्यही सुन्नतलाई आज सम्म मुस्लिमहरुले कुरबानी गरी यादगार मनाउदैं आइरहेकाछन् ।
सोही कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवार, एक आफ्ना इष्टमित्र र अर्को भाग आफूले खानुपर्ने धार्मिक मान्यता अनुसारको रहेको छ ।






