काठमाण्डौ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नैपर्ने बेला भएको बताउनु भएको छ । शान्ति प्रक्रियाको दुई महत्त्वपूर्ण कार्यभार पूरा गरिसकेको भन्दै श्रेष्ठले सङ्क्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी रहेको बताउनु भएको हो ।
बिहीबार काठमाण्डौमा डीआर पौडेलेको पाँचौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामहरू पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी रहेको बताउनु भएको हो ।
‘शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नैपर्छ । शान्ति प्रक्रियाको दुई महत्त्वपूर्ण कार्यभार हामीले गरिसकेका छौँ । राजनीतिक कार्यभार, परिवर्तनलाई संस्थागत गर्ने कार्यभार र माओवादी जनमुक्ति सेनाको समायोजन प्रक्रिया पुनर्स्थापना गर्ने कार्यभार पूरा गरेका छौँ । तर अहिले सङ्क्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी छ ।’
उहाँले भन्नुभयो,‘हामीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामहरू पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी छ । त्यस कारण शान्ति प्रक्रियाको काम अझै पूरा भएको छैन भनेर बाँकी राखिरहने स्थिति जो वर्षौँसम्म पनि नेपालमा रह्यो, त्यसलाई अब बाँकी रहन दिनु हुँदैन, राष्ट्रिय सहमति कायम गरेर हामीले शान्ति प्रक्रियाको बाँकी कार्यभारलाई पूरा गरेर दिगो शान्ति स्थापित गर्ने काम गर्नुपर्ने हुन्छ ।’
उहाँले राजनीतिक परिवर्तनलाई माध्यम र साधन बनाएर आर्थिक र सामाजिक क्षेत्रमा यसलाई विस्तारित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । ‘आर्थिक विकास र समृद्धिको कार्यभार छ । त्यो हामीले पूरा गर्नुपर्ने हुन्छ । यो राजनीतिक परिवर्तनलाई माध्यम र साधन बनाएर आर्थिक र सामाजिक क्षेत्रमा यसलाई विस्तारित गर्नुपर्छ । र सामाजिक आर्थिक रुपान्तरण गर्नुपर्छ । विकास र समृद्धिको प्रक्रियालाई तीव्र पार्नुपर्छ,’ उहाँले भन्नुभयो ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठले बिहीबार एसिया केन्द्रित भएर बदलिएको विश्व परिस्थिति र नेपालको भूराजनीतिक अवस्थितिको कारणले देखापरेको भूराजनीतिक संवेदनशीलताका चुनौतीहरूको बिचमा राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमानको रक्षा गर्नु सहज नरहेको बताउनुभयो । चुनौती र अवसरलाई सम्हालेर अघि बढ्नु नै अहिलेको राष्ट्रिय कार्यभार रहेको उहाँको भनाई थियो ।






