बाँके । बाँकेको नेपालगञ्जमा गत बर्ष तुलनात्मकरुपमा डुबान कम भएको थियो । बाक्लो शहर त्यसमा पनि निकासको प्रभावकारी नहुँदा नेपालगञ्ज वर्षेनी डुबानमा पर्ने गर्दछ । तर, गत बर्ष बर्षा अगावै आम रुपमा शहरका साना ठूला सबै खाले नाला सरसफाई गरिँदा डुबान कम भएको देखियो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरकी पल्लवी केसी भन्नुहुन्छ,“पोहोरसाल बर्षायाम शुरु हुनु भन्दा अघि नाला सफाई भएको थियो । त्यसैको कारण डुबान कम भयो । नालामा पानी निर्वाधरुपमा बग्न पाउँदा खासै डुबान देखिएन ।” उहाँले दोन्द्रा नालामा पानी छचल्किएको देख्दै आएकोमा गत बर्ष त्यस्तो नदेखिएको पनि बताउनुभयो ।
पानीको निकास सहज भए डुबान धेरै न्यूनीकरण हुने नेपालगञ्ज १८ कारकाँदोका भूमीराज कार्कीको भनाई छ । नेपालगञ्ज उपमहानगरपालिकाले बर्षायाम शुरु हुनु भन्दा पहिले राम्रोसंग नाला सफाई गरे डुबान धेरै कम हुनेमा उहाँको पनि विश्वास छ । उहाँले भन्नुभयो,‘यो वर्ष पनि नाला सरफाई अभियान शुरु गरिएको छ । यस्ले नेपालगञ्ज शहरलाई यो वर्ष पनि डबानबाट जोगाउने छ भन्नेमा पुर्ण रुपमा विश्वास छ ।’

केसी र कार्कीले जस्तै कैयौं नेपालगञ्जबासीले नाला सफाईको कामलाई सराहना गरेका छन् । यो कामलाई प्रत्येक बर्ष निरन्तरता दिनुपर्ने स्थानीयहरुको माग रहेको छ । नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन गत बर्ष जस्तै यस बर्ष पनि बर्खा सुरु हुनु पहिले नाला सफाई गरिएको छ । बर्षायाममा हुने डुबानबाट नेपालगञ्जलाई जोगाउन यहाँका साना ठूला मुख्य नालाहरु गत बर्षदेखि आमरुपमा सफाई गर्न थालिएको हो ।
विगतमा सामान्यरुपमा डुबानका बेला मात्र बजार क्षेत्रका नालाको सफाई गर्ने गरिए पनि गत बर्षदेखि भने बर्खा अगाबै आमरुपमा सबै नाला सफाई गर्न थालिएको वातावरण तथा सरसफाई शाखाका सुपरभाइजर दिपेश श्रेष्ठले बताउनुभयो ।
मुख्य नालाको अन्तिम विन्दु ९आउटलेट० बाट सफाई थालिएको थियो । “अन्तिम विन्दुबाट काम सुरु गरेपछि जहाँ जहाँ अबरोध छ । त्यसमा राम्रोसंग काम गर्न सजिलो हुन्छ भन्ने उद्देश्यले आउटलेटबाट काम शुरु गरेका थियौं ।”
नेपालगञ्ज उपमहानगरपालिका वातावरण तथा सरसफाई शाखाका प्रमख वातावरण इन्जिनियर प्रकाश डिसी भन्नुहुन्छ,“बजार क्षेत्रभित्रको मुख्य नाला र दोन्द्रा नाला मिसिएर बनेको दोधारा नालासहित अन्य नाला पनि सफाई वरण गरेका छौं ।” स्काभेटरले सफाई गर्न सक्ने ठाउँमा स्काभेटर र स्काभेटरले गर्न नसक्ने ठाउँमा दैनिक ज्यालादारीमा मान्छे नै लगाएर नाला सफाई गरिएको इन्जिनियर डिसीको भनाई छ ।
नगर प्रमुख प्रशान्त विष्टले नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य समस्याको रुपमा डुबान रहेको बताउँदै उक्त डुबानको समस्या समाधानका लागि मुख्य तथा सहायक नालाहरु सफा गर्दै आईरहेका छौं । ‘हामीले गत बर्षदेखि बर्षायाम शुरु हुनु भन्दा पहिलादेखि नै सफाईको काम सक्ने उद्देश्यका साथ नाला सफाई गर्ने कामको शुरुवात गरेका हौं ।’
नेपालगञ्ज उपमहानगरपालिकाभित्र डे«नेजको पर्याप्त नेटवर्क भएपनि सहजरुपमा पानीको निकास नहुँदा समस्या निम्तिने गरेको नगर प्रमुख विष्टको दाबी छ । “विगतमा बजारको वरिपरि मात्रै सफाई गर्ने काम भयो, गत बर्षदेखि भने हामीले अन्तिम विन्दुबाट आमरुपमा नाला सफाई गर्ने गरी काम सुरु गरेका छौं, अब झरीको बेला डुबानको समस्या निकै कम हुने विश्वास लिएका छौं ।” उहाँले भन्नुभयो ।
नालाको ढक्कन खोल्न सकिनेलाई ढक्कन खोलेर र खोल्न नसकिने नालामा उपकरणको प्रयोग गरेर नाला सफाई गरिएको वातावरण तथा सरसफाई शाखाका सुपरभाइजर श्रेष्ठले बताउनुभयो । उहाँका अुनसार मनसुन शुरु हुनु अगावै काम सक्ने गरी नाला सफाईको अभियान अगाडि बढाईएको छ ।
नाला सरसफाईका क्रममा थाभावी फालिएका प्लाटिकजन्य बोतल र विभिन्न वस्तु, सिसाका बोतल, माटो लगायतका कारण नालामा पानीको निकास नहुँदा स्थानीयवासीले डुबानको सास्ती खेप्दै आएका छन् । गत बर्ष पनि बर्षा अघि नै नाला सफाई गरिएपछि डुबानको समस्या तुलनात्मकरुपमा कम देखिएको थियो ।
वडा तहमा पनि वडा कार्यालयहरुले आफ्नो स्रोत साधनले भ्याएसम्म नाला सफाई गरिरहेका छन् । नालामा जथाभावी फोहोर फाल्दा ब्लक भएर निकास थुनिँदा आकाशको पानीले डुबान निम्त्याउने गरेकोमा आम नागरिकले पनि सावधानी अपनाउनुपर्ने वातावरण इन्जिनियर डिसीले आग्रह गर्नु भएको छ ।
नेपालगञ्जको २३ वटा वडा मध्य हालसम्म ठूला नालाको सफाई सकिएको छ । साना नालाहरु केही वडा कार्यालय आफैले सफाई गर्दैछ भने केहीमा वडाको समन्वयमा नगरपालिकाले गरिरहेको छ । अषाढ १५ गते देखि २० गते भित्रको समयमा नाला सफाईको सकिने सुपरभाईजर श्रेष्ठले बताउनुभयो । बैशाष १८ गतेदेखि नाला सफाईको काम शुरु गरिएको थियो ।






