बाँके । डिभिजन वन कार्यालय बाँकेमा चित्तलको बच्चा हुर्किरहेको छ । बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं.२ मकैबारी स्थित शिवशक्ति सामूदायिक वन उपभोक्ता समूहको सहयोगमा चित्तलको बच्चालाई उद्धार गरिए पछि उक्त बच्चा सशस्त्र वन रक्षकको निगरानीमा हुर्की रहेको हो ।
उक्त चित्तलको बच्चालाई जेठ ११ गते मकैबारी गाउँबाट कोहलपुर सवडिभिजन वन कार्यालयका कर्मचारी र शिवशक्ती सामुदायिक वन उपभोक्ता समूह प्रतिनधीहरुको संयुक्त सहकार्यमा उद्धार गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
सहायक वन अधिकृत नवराज शाहीका अनुसार उद्यार गर्दा उक्त चित्तलको बच्चा अन्दाजी डेढ महिनाको थियो । बाटो बिर्सिएर सामुदायिक वन क्षेत्रबाट गाउँमा पसेपछि सामुदायिक वन उपभोक्ता समूहले खवर गरेपछि वन कर्मचारीहरु गरि उद्यार गरिएको हो । उक्त चित्तलको बच्चाले दिनमा दुई देखि तीन लिटरसम्म दुध खाने गर्दछ ।
दिनप्रतिदिन वृद्धि हुँदै गईरहेको हुनाले खानाको परिमाण पनि दिनानुदिन बढेको हुँदा उसले खाने दुधको मात्रा पनि बढिरहेको हो भनेर सहायक वन अधिकृत शाहीले बताउनुभयो । उहाँका अनुसार उक्त चित्तलको वच्चा सानै देखी मान्छेसंग बस्न बानी परेको हुनाले उक्त चित्तलको बच्चालाई पुनः आफ्नै प्राकृतिक बास स्थानमा छाड्न असुरक्षीत भएको बताउनुभयो ।
‘यो मान्छेसँगै हिंड्डुल गर्ने बानी परिसकेको छ, सुरु देखि नै हरेक दिन सशस्त्र वन रक्षक शाखाको ड्युटिले यसलाई खुवाउने गरेको हुँदा शाखाको युनि फर्मसंग राम्रो घुलमिल भएको छ । अब यस्लाई पुनः निकुञ्जमा छाड्दा गाउँ वस्तिमा आउने र मान्छेको पछि लागेर जान सक्ने सम्भावना हुन्छ ।’ उहाँले भन्नुभयो, मान्छेसंग पछि लागेर जाँदा यसलाई खतरा हुन सक्छ । त्यसैले यसको सुरक्षा र संरक्षणका लागि यही नै राख्नु पर्ने देखिन्छ ।’
डिभिजन वन कार्यालय अन्तर्गतको सशस्त्र वन सुरक्षा शाखाको प्रत्येक्ष हेरचाहमा रहेको उक्त उद्धार गरिएको चित्तलको बच्चालाई दैनिक खाना खुवाउने, डुलाउने र हेरचाह भने सशस्त्र वन सुरक्षा शाखाले ड्युटी खटाई पालैपालो गर्ने गर्दछन् ।
बिहान र बेलुका गरी दिनमा दुई पटक उक्त चित्तलको बच्चालाई चरिचरणका लागि केजबाट बाहीर निकाल्ने गरिन्छ भने कार्यालय परिसरको सिमाना पुर्णरुपमा बन्द नभएका कारण दिउँसो कतै भागेर जान सक्ने भएको हुँदा दिनभरी केजमै राखेर हेरविचार गरिएको सशस्त्र वन सुरक्षा शाखाको भनाई छ ।
तस्विर……











