बाँके । जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगितामा नेपालगञ्ज–११ स्पोटिङ क्लबले विजयी शुरुवात गरेको छ । शनिबार कोहलपुर स्थित १३ बिगाह फुटबल मैदानमा नेपालगन्ज–११ ले इजोन स्पोट्स क्लबलाई ३–० ले पराजित गरेको छ । नेपालगन्ज–११ को लागि सुमित थापाले २ गोल र भरत बहादुर घर्ती मगरले १ गोल गर्नु भएको थियो । सुमितले खेलको २०औं मिनेट र ६१ औं मिनेटमा गोल गर्नु भएको थियो ।
भरतले ६२ औं मिनेटमा गोल गर्नु भएको थियो । बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा ७ वटा क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता क्लबले आगामी वर्ष हुने बाँके जिल्ला स्तरीय लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउनेछ । जेठ २३ गते सम्म चल्ने प्रतियोगितामा नेपालगन्ज –११ स्पोटिङ क्लब, सिटी युथ क्लब, ई जोन स्पोट्र्स क्लब, न्यु दपर्ण युवा स्पोट्र्स क्लब, न्यु नलेज स्पोट्स क्लब, एफसी संघारी, कंञ्चनजंगा भिजन स्पोट्स क्लबको सहभागिता रहेको छ ।
शनिबार एक कार्यक्रमका बिच कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । नगरप्रमुख आचार्यले कोलहपुरले पछिल्लो समय खेलकुद क्षेत्रको पुर्वाधारसँगै स्तरीय प्रतियोगिता आयोजना गरेर खेलाडीहरुको मनोबल बढाउने काम गरेको बताउनु भयो । उहाँले भन्नु भयो,‘फुटबलमा छिटै एउटा स्तरीय मैदान बन्दैछ । अन्य पुर्वाधारलाई पनि हामीले महत्व दिएको छौं । फुटबल खेलको विकासको लागि फुुटबल संघले हामीलाई थुप्रै सहयोग गरेको छ । यसका लागि म संघलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’
आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा अखिल नेपाल फुटबल संघका पुर्व उपाध्यक्ष गोर्वधन सिंह सम्झना, पुर्व वडा सदस्य शंकर खड्का, नेपाल प्रेस युनियन बाँके अध्यक्ष प्रिया स्मृति ढकाल, कोहलपुर नगरपालिका खेलकुद संयोजक बुद्धि थापा, सदस्य किरण विक, कोहलपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक केशव राज रेग्मी लगायतको सहभागिता रहेको थियो ।






