बाँके (नेपालगञ्ज) । उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शक्ति र पहुँचका आधारमा कसैको कैद माफी मिनाहा नहुने बताउनु भएको छ । बाँकेको नौबस्तास्थित कारागार कार्यालयको उद्घाटन गर्दै राम्रो आचरण हुने कैदीबन्दीहरुलाई कानुन बमोजिम माफी मिनाहा हुने बताउँदै गृहमन्त्री लामिछानेले उक्त कुरा बताउनु भएको हो ।
‘तपाईंले आफनो आचरण हेर्ने हो कहाँ शत्ति केन्द्र छ भन्दै परिवारलाई दौडाउने दिनको अन्त्य गर्छौं ।’ उहाँले भन्नुभयो,‘कैदीबन्दीको क्षमता अनुसार उनीहरुलाई सीपमुलक कार्यक्रम बनाइने छ । कारागारबाट निस्किएपछि सामाजिक पारिवारिक जीवन सिर्जना गर्ने वातावरण ब,नाइने छ ।’ कारागारमा आधारभूत स्वास्थ्य, शिक्षा जस्ता विषयहरुमा सरकारले व्यवस्था गर्ने उहाँले बताउनुभयो ।
गृहमन्त्री लामिछानेले कैदी जीवनपछि पनि एउटा असल नागरिक भइ जिम्मेवारी पूर्वक बाँच्न पाउनु सबैको अधिकार भएको बताउँदै कारागार भित्र मानव अधिकारको प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । नेपालगञ्ज कारागारमा तेब्बर कैदीबन्दी रहेको अवस्थामा क्षेत्रीय कारागारले कारागारमा हुने चापलाई व्यवस्थापन गरेको उहाँको भनाई थियो ।
उहाँले जसको कोही हुँदैनन् त्यसको सरकार हुने बताउँदै सामान्यतया कारागार जीवन बिताएर घर फर्केकाहरुको पुनर्स्थापनामा समस्या हुने गरेको त्यस विषयमा सरकार संवेदनशील रहेको बताउनुभयो । उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रत्न खत्री, आन्तरिक मामिलामन्त्री दिनेश पन्थी लगायतले आगलागिको विषयमा संघिय सरकार गम्भिर हुन ध्यानाकर्षण गराउनु भएको थियो ।
दरबन्दी स्वीकृत भएसँगै उक्त कारागारमा नेपालगञ्जस्थित कारागारका १ सय ३० कैदी स्थान्तरण गरिएको छ । साढे ९ बिघा क्षेत्रफलमा निर्मित उक्त क्षेत्रीय कारागारलाइर्उ एउटा ब्लकमा १ हजार जना कैदीबन्दी रहनसक्ने गरि ४ वटा ब्लकमा निर्माण गरिएको छ ।







