बाँके । नेपालगन्ज उपमहानगरपालिकाले शुल्क कार्यान्वयनको अवस्थाबारे संस्थागत विद्यालयमा अनुगमन सुरु गरेको छ । शिक्षा महाशाखाले पछिल्लो पटक गरेको संस्थागत विद्यालय वर्गीकरण अनुसार निर्धारित शुल्क ’कार्यान्वयन’को अवस्थाबारे अनुगमन सुरु गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाले ’क’, ’ख’ र ’ग’ वर्ग गरी संस्थागत विद्यालयलाई तीन तहमा विभाजन गरेर शुल्क निर्धारण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा समितिले आज तीन वटा विद्यालयमा अनुगमन गरेको छ । सोफिया रेसिडेन्सियल स्कुल, आदर्श माध्यमिक विद्यालय र युनाइटेड एजुकेशनल एकेडेमीमा अनुगमन गरिएको हो । यी तीनै विद्यालय शिक्षा महाशाखाले गरेको वर्गीकरणमा ’क’ बर्गमा छन् ।
अनुगमन गरिएका विद्यालयहरुले मापदण्ड अनुसार नै शुल्क लिने प्रतिबद्धता जनाएका छन् । निर्धारित मापदण्ड भन्दा बढी शुल्क लिएकाले तत्काल समायोजन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । यस्तै पाठ्यक्रम विकास केन्द्रले तोके बमोजिम पाठ्यपुस्तक लागू गरे नगरेको अवस्थाबारे पनि जानकारी लिइएको छ ।
नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा, शिक्षा अधिकृत लोकेन्द्र शाही तथा शिक्षा समिति सदस्यहरु गोकर्ण आचार्य, मनोज राजा श्रीवास्तव, रमेश श्रीवास्तव र विकास बज्राचार्यको टोलीले अनुगमन गरेको हो ।
शैक्षिक सुधारका लागि नेपालगञ्ज उपमहानगरपालिका संवेदनशील रहेको भन्दै नगर प्रमुख विष्टले विद्यालयहरु नीति–नियम पालना र दायित्वबोधमा गम्भीर हुनुपर्ने बताउनुभयो । शिक्षा समितिले तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा ती विद्यालयहरुलाई ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।






