बाँके । बाँकेमा कटुवा पेस्तोल सहित ३ जना पक्राउ परेका छन् । सोमबार साँझ नेपालगञ्ज उपमहानगरपालिका २३ बस्ने सदराम बागवान, सोही ठाउँका साकिर अली बागवान र वडा नं. १४ बस्ने हुसेन बागवानको साथबाट कटुवा पेस्तोल फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीका अनुसार सोमबार राती करिब साढे दश बजेको समयमा गस्ति हिंडेको प्रहरीले बाँकेको डुडुवा गाउँपालिकामा भे ६ प ४९०२ नं. को होण्डा साईन मोटरसाईकलमा सवार तीन जनालाई शंका लागि चेकजाँच गर्दा हुसेन बागवानको साथबाट कटुवा पेस्तोल १ थान, उक्त पेस्तोलको १२ के एफ १७ लेखेको गोलि १ थान र मोबाईल ३ थान फेला परेको हो ।
कटुवा पेस्तोल सहित पक्राउ परेको उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रवक्ता डाँगीले जनाकारी दिनुभयो ।






