रुपनी जि एम, बाँके । पहिलो पटक नेपाली आकाशबाटै चीनको कैलाशको दृश्यावलोकन गर्नुभएकी अम्बिका दुवेचा अति नै रोमान्चित र उत्सुक देखिनुहुन्थ्यो । आँखैमा बस्ने मुगुको मनोरम रारादह र वरपरको अति सुन्दर दृश्य नियाल्दै सतह मार्गबाटै कैलाश पुग्ने चाहाना थियो । तर सम्भव नभएपछि उहाँले आकाश मार्ग रोजेको बताउनुभयो ।
अम्बिका जस्तै बिमलेश मिश्र पनि कैलाश मानसरोवरको दृश्य हेर्न पाउँदा निकै नै खुशी हुनु भएको थियो । ‘साक्षात महादेवको दर्शन गरेको जस्तो भयो ।’ उहाँले भन्नुभयो,‘मरेपछि स्वर्ग देखिन्छ भन्थे तर मैले त जिवित हुँदै स्वर्गको दर्शन गर्न पाएँ ।’
अम्बिका र बिमलेशले जस्तै प्रियंका चण्डौल पनि नेपाली आकाशबाटै कैलाश मानसरोवरको दर्शनका गर्नु भएको छ । उहाँको अनुभव पनि अन्य तिर्थयात्रीको भन्दा फरक रहेन । सानो छँदा कथा र कविता सुन्दै आएको कैलाशको दर्शन प्रत्यक्ष रुपमा गर्न पाउँदा आफुलाई निकै नै खुशी लागेको उहाँको भनाई थियो ।
धार्मिक पर्यटकका रुपमा आएका भारतीय पर्यटक र तीर्थयात्रीहरुको चीन र भारत सरकारसंगे एउटै आग्रह थियो ‘धार्मिक आस्था र भावनाको सम्मान गर्दै यहाँ आउन जान पाउने मार्ग खुला गरियोस ।’ चारवटा प्रमुख एसियाली नदी सिन्धु, सतलज, ब्रह्मपुत्र र कर्णाली नदीको स्रोत मानिने यो पर्वतको दर्शन गर्न धेरै भारतीयहरु नेपालगन्ज आइरहेका छन् ।
यो मौसम अनकुल भएकाले घुइचो बढेको हो । नेपालगन्जबाट कैलाश मानसरोवर दूरदर्शनका लागि भारतीय धार्मिक पर्यटकको नेपालगन्ज आउने क्रम बढेको छ । हवाई जहाजमार्फत दूरदर्शनको व्यवस्था मिलाइएपछि कैलाश छिमेकी मुलुक चीनको तिब्बत स्थित कैलास पर्वत र मानसरोवारको दर्शन गर्न आउजाउ गर्नको लागि भारतीय धार्मिक पर्यटकको नेपालगन्ज आउने क्रम बढेको हो ।
आवतजावतमा सहज व्यवस्थाको वातावरण मिलाए पश्चात नै मध्यमार्गको रुपमा रहेको नेपालगन्जमा भारतीय तीर्थयात्री सँगै पर्यटकहरुको घुइचो देखिन थालेको छ । कर्णाली प्रदेशको उत्तर नेपाली आकाशबाट देवका पनि देव महादेवको बासस्थान मानिने कैलाल पर्वतको दर्शन गर्न सकिने भएकाले भारतीयहरु नेपालगंन्ज आउन थालेका हुन् ।
चीनले भारतीयहरुलाई सहत मार्गबाट कैलाश पर्वत जान अनुमति नदिने हुँदा नेपाली आकाशबाटै भए पनि कैलाश मानसरोवरको हवाई यात्राका लागि आउनेहरुले धार्मिक आस्था र भावना सम्मान गर्दै चीन र भारत सहरकाले शिव भक्तहरुलाई नेपालको सहत मार्गबाट त्यस सम्म पुगेर र दर्शन गरी फर्किन पाउने व्यवस्था गर्न माग गरेका छन ।
६ हजार ७ सय १४ मिटरको उचाइमा रहेको विशाल कैलाश पर्वतको हिम श्रृंखला र ४ सय १० किमिलोमिटर क्षेत्रमा फैलिएको मानसरोवारलाई कर्णालीप्रदेशको सिमावर्ती हुम्लाको आकाशबाट त्यो पनि २२ हजार फिटको उचाईबाट दर्शन गर्न आउनु भएका भारतीय तीर्थ यात्रीहरु मध्य अम्बिका दुवेचा पनि हुनुहुन्थ्यो ।
होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफलेका अनुसार नेपालगन्जका पर्यटन तथा होटल व्यवसायीले चीन भारत र नेपाल तीनवटै देशले कैलाश दर्शनको सहज व्यवस्था मिलाउन सके फाइदा पुग्ने बताउनुभयो । उहाँका अनुसार यो महिनामा धेरैजना भारतीय पर्यटक नेपालगन्ज आउने भएका छन् ।
सिमावर्ती नेपालगन्ज पश्चिम नेपालको पर्यटनको केन्द्र भएकाले यो मौसममा यहाँका तारे होटलहरुमा भारतीय पयर्टकहरु खचाखच छन् । यस्तो आकर्षणलाई कायम नै राख्न र थप धार्मिक पर्यटक भित्राउन सरकारले चीनँंग सहज मार्गका लागि कुटनीतिक पहल गर्ने तिर पनि सोच्न आवश्यक रहेको सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय निर्देशक केशव न्यौपानेले बताउनुभयो ।
‘एकदमै नजिकबाट एकैपटकमा चीनको तिब्बतस्थित कैलाश पर्वत र मानसरोवर दर्शन देख्न सकिने भएको हुँदा धार्मिक पर्यटक भित्राउन सरकारले चीनँंग सहज मार्गका लागि कुटनीतिक पहल गर्न आवश्यक छ ।’ उहाँले भन्नुभयो,‘यसैगरी बाह्य पर्यटकहरुको आगमन नेपालगञ्जमा भईरहने हो भने पर्यटनसँगै यहाँको आर्थिक गतिविधिमा महत्वपूर्ण उपलब्धि हुन्छ ।’ उपाध्यक्ष न्यौपानेले भन्नुभयो,‘पर्यटकहरुको यस प्रकारको आगमनले यहाँको पर्यटन क्षेत्रमा केही आशा पलाएको छ ।’
नेपालगन्जबाट कैलाश मानसरोवर दर्शन गराउने उदेश्यका लागि शुरु गरिएको माउण्टेन फलाइटको प्रचारप्रसार बढ्दै जाँदा भारतीय पर्यटक आउने क्रम बढेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो । ‘दुई वर्षको निरन्तर प्रयासपछि मानसरोवर दर्शनका लागि नेपालगन्जबाट माउण्टेन फलाइटको सफल परीक्षण भएको छ ।’ उहाँले भन्नुभयो,‘यो पश्चिम नेपालकै लागि सुखद पक्ष हो ।’
मानसरोवर विश्वका हिन्दुहरुको गन्तव्य भएको भन्दै त्यहँ पुग्न विश्वको सबैभन्दा छोटो रुट नेपालगन्जलाई मानिन्छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष सिग्देलका अनुसार यसभन्दा पहिला पनि महँगो शुल्क तिरेर तीर्थ यात्री जाने आउने गथ्र्ये । तर त्यो व्यावसायिक थिएन । सिजनको समयमा सयौं भारतीय धार्मिक पर्यटकहरु मानसरोवर पुग्ने गर्छन ।
नेपालगन्जबाट हुम्लाको सिमकोट यात्रापछि उनीहरु मानसरोवरसम्म स्थलमार्ग हुँदै पुग्छन् । माउन्टेन फलाइटमार्फत कैलाश मानसरोवर दूरदर्शनको अझै पनि भारतमा धेरै प्रचार प्रसार हुन नसकेको पर्यटन प्रवर्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।
कर्णाली प्रदेशको उत्तरी आकाशबाट महादेवको वासस्थान मानिने कैलास पर्वतको दर्शन गर्न सकिने भएकाले भारतीय तीर्थयात्रीहरु उल्लेख्य संख्यामा आउन थालेका हुन् । चीनले हुम्लाको हिल्सा स्थलमार्गबाट कैलाश मानसरोवर जान भारतीयहरुलाई प्रवेश अनुमति नदिने हुदा नेपाली आकासबाटै भए पनि त्यसको दर्शन गर्न भारतीय तीर्थालुहरु यता आउन थालेका हुन् ।
नेपालगन्जबाट मानसरोवर दर्शनका लागि माघ १५ बाट माउण्टेन फलाइट परीक्षण उडान गरिएको थियो । नेपालगन्जबाट एक घण्टा १५ मिनेटमा मानसरोवरको दर्शन गरेर फर्किन सकिनेछ । यसले यहाको एउटा सम्भावना प्रारम्भ भएको छ । यसलाई एयरलाइन्स र यहँका व्यवसायीले निरन्तरता दिन जरुरी रहेको पर्यटन व्यवसायी बताउँछन् । पूर्वी नेपालमा भने यसभन्दा अघिदेखिनै व्यावसायिक माउण्टेन फाइट हुदै आएका छन् ।
कोभिड–१९ पछि र आर्थिक संकटपछिको अवस्थालाई सुधार गर्ने अपेक्षा गरिएको छ । नेपाली भूभागमा यसरी उडान गरिएको पहिलोपटक भएको श्री एयरलाइन्सले जनाएको छ । नेपालगन्जबाट नेपाली, भारतीय र विदेशीलगायत धार्मिक पर्यटकहरु आकर्षित गर्न सकिने र आर्थिक गतिविधिमा समेत महत्वपुर्ण उपलब्धि हुन सक्ने श्री एयरलाइन्सका प्रवन्धक (कर्पोरेट) अनिल मानन्धरले बताउनुभयो ।
पथिल होलिडेजका प्रबन्ध निर्देशक महेश गौतमका अनुसार बुधबार मात्रै २ सय ५० बढी भारतीय दर्शनार्थी कैलाश मानसरोवरको दूरदर्शनका लागि नेपालगन्ज पुगेका छन् । ‘हामी जहाजबाटै नेपाली भूमितर्फ ३÷४ पल्ट जहाज घुमाउँछौं ।’ उहाँले भन्नुभयो,‘नेपाली भूमि लाप्चा आसपासका क्षेत्रबाट मानसरोवर–कैलाश प्रस्ट र नजिकै देख्न सकिन्छ र भारतीय तीर्थयात्रीले जहाजबाटै दर्शन गर्ने गर्नुहुन्छ ।’
उहाँका अनुसार तीर्थ यात्री र पर्यटकका लागि ‘फिक्स डिपाचर डेट’ मा मिति तोक्ने गरिन्छ । ‘प्राय हप्तामा सोमबार या आईतबार बुकिंग हुने गर्दछ ।’ उहाँले भन्नुभयो,‘अर्को लटमा आउने धार्मिक पर्यटकहरु अप्रिल २३ र २५ तारिकमा आउने कार्यक्रम रहेको छ ।’
प्रबन्ध निर्देशक महेश गौतमका अनुसार एभरेजमा १ सय ५५ को हारहारीमा पर्यटकहरु आउने गर्दछन् । अर्को लटका लागि अहिले सम्म ५० जनाको बुकिंग भईसकेको छ । कैलाश मानसरोवर दर्शन र भ्रमणका लागि ९९ प्रतिशत भारतीय नागरिक आउने गरेको गौतमले बताउनुभयो ।






