बाँके । धनी परियारको दैनिकी विबाहमा प्रयोग हुने सगुनका विभिन्न सामाग्री बनाउनमै बित्ने गर्दछ । नाती खेलाउने धनीका हातले अहिले विबाहमा प्रयोग हुने सगुनको डालो, सगुनको सुपो, शाही पाटो, दुलहीको घुम्टो, जडी माला जस्ता श्रृंगारका सामाग्रीहरु बनाउन जान्नु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाद्धारा आयोजित ४५ दिने विवाहको ‘सगनु एवं श्रृंगारका सामाग्री निमार्ण तालिम’ मा सहभागी भएर धनीले हाते सीपलाई अघि बढाउनु भएको हो ।
उमेरले ५० वर्ष लाग्दै गर्नु भएकी धनी परियार नेपालगञ्ज उपमहानगरपालिका १ धम्बौझिकी एकल महिला हुनुहुन्छ । विगत १२ वर्षसम्म अरुकै पसलमा कपडा सिलाएर आफुसँगै परिवारको पनि जोहो गर्दै धनीले बताउनुभयो । ‘मैले १२ वर्षसम्म सिलाकटाई गरेरै आफुसँगै परिवारको पनि जोहो गरेकी थिएँ ।’ उहाँले भन्नुभयो,‘दैनिक ढाई देखि पाँच सयसम्म कमाइ हुन्थ्यो । त्यसले दिन त कट्थ्यो तर घर खर्च मज्जाले चल्दैनथ्यो ।’
हातमा सीप भयो भने आफ्नो बेग्लै पहिचान हुने र आर्थिक रुपमा पनि बलियो भईन्छ भन्ने कुरा बुझेर नै तालिममा सहभागी भएको धनीको भनाई छ । सीप विकासका लागि पहिलो पटक तालिम लिएको हुनाले शुरुशुरुमा गाह्रो भएपनि अहिले सजिलै धागोमा जडी जोड्न, मखमली डालो बनाउन, शाही पाटो तयार गर्न जानेको उहाँले बताउनुभयो ।
‘तालिममा बसेर यी सामान बनाउन सिकेको आज १८ दिन भएको छ । पहिलो पटक तालिम लिएको हुनाले शुरुशुरुमा गाह्रो भयो ।’ धनीले भन्नुयो,‘सिक्दै र बनाउँदै जाँदा सजिलै हुने रहेछ । तालिम सकिंदासम्म त सबै कुरा सिकेर परिपक्क व्यवसायि बन्छु भन्ने विश्वास छ ।’ नेपालगञ्जको सीप विकास तालिम केन्द्रको हलमा धनीले आफुद्धारा बनाईएका सगुनको मखमली डालो देखाउँदै भन्नुभयो,‘तालिमको प्रमाणपत्र पाएपछि त सामूहिक व्यावसाय गर्ने हो ।’
धनी परियार जस्तै सोही तालिममा सहभागी हुनुहुन्छ प्रमिला केवँट पनि । ३३ वर्षको उमेरसम्म घोडा खच्चरलाई घाँस काटेर जीविको पार्जन गर्नु भएकी प्रमिलाले अब भने सीप सिकेर आफुलाई व्यावसाय महिलाको रुपमा चिनाउन चाहानुहुन्छ ।
नेपालगञ्जको वडा नं. १३ स्थित बुलबुलिया टोलकी प्रमिलाले आफुहरुको घाँस काट्ने पुख्यौली पेशाले पहिचान नदिएको बताउँदै सीप सिकेर व्यावसायिक पहिचान बनाउने उहाँले बताउनुभयो । उद्यमशीलता सम्बन्धी २ दिने तालिममा सहभागी भए पश्चात पुनहः एक हप्ताको तालिमबाट छानिएर प्रमिला ४५ दिने ‘सगनु एवं श्रृंगारका सामाग्री निमार्ण तालिम’ मा सहभागी हुनुभएको छ ।
‘वर्षौंदेखि सधैं मैले घाँस काट्दै आएँ तर अब सीप सिकेर आफ्नै उद्यम गर्ने सोंच छ ।’ उहाँले भन्नुभयो,‘यो तालिमले मलाई केही गर्न सकिन्छ भन्ने आत्मविश्वास दिएको छ ।’ प्रमिला बिहान ११ बजे देखि साँझको ३ बजेसम्म सीप सिक्नमै व्यस्त हुनुहुन्छ ।
सिकाएका हाते सीपलाई ध्यानपुर्वक प्रमिलाले सिक्ने गरेको प्रशिक्षक संगीता गौतमले बताउनुभयो । ‘मधेशी समूदायबाट प्रतिनीधित्व गर्नु भएकी प्रमिलाले योभन्दा पहिलो कुनै पनि तालिम लिनु भएको छैन ।’ प्रशिक्षक गौतमले भन्नुभयो,‘यो उमेरमा पनि सिकाएका कुरालाई एकैपटकमा सिक्न सक्ने क्षमता हुनु भनेको भोलीका दिनमा उहाँले कैही त पक्कै गर्न सक्नु हुन्छ भन्ने विश्वास छ ।’
दिदी भिनाजुसँगै बस्दै आउनु भएकी प्रमिलालाई पनि प्रशिक्षकले भने झैं आफ्नै व्यावसाय सञ्चालन गर्ने रहर छ । ‘मैले अनुभवको लागि मात्र यो तालिम लिएको हैन ।’ उहाँले भन्नुभयो,‘म अब उद्यमी बन्न चाहान्छु ।’ ३३ वर्षिया प्रमिलालाई ४५ दिने तालिमले उद्यमी बनाउँछ भन्ने पुर्ण विश्वास छ । धनी परियार झैं उहाँलाई पनि सामूहिक व्यवसाय गर्ने ईच्छा छ । ‘शुरु मै लगानी लगाउन त सक्दिन तर सामूहिक व्यावसाय गर्ने ईच्छा छ ।’ प्रमिलाले भन्नुभयो ।
नेपालगञ्ज उपमहानगरपालिका १ वाटरपार्ककी नम्रता मल्ललाई पनि धनी परियार र प्रमिला केँवट जस्तै उद्यमी महिला बनेर आफ्नै व्यावसाय गर्ने ईच्छा छ । छोराछोरी हुर्काएर हाते सीप सिक्न नम्रता निकै ईच्छुक हुनुहुन्छ । ‘पहिला छोराछोरी साना थिए । चाहेर पनि घर बाहीर निसकन पाईँदैनथ्यो ।’ उहाँले भन्नुभयो,‘अब त बाबु नानी हुर्कि सके । उनीहरुले घरको काममा सघाउने भएकोले नै मलाई बाहीर निस्कन सजिलो भएको छ ।’
नम्रताको श्रीमान वैदेशिक रोजगारीका लागि विदेश जानुभएको छ । घर खर्च सबै रेमिट्यान्सले चल्छ उहाँको । उहाँलाई साँझ बिहानको जोहो गर्न खासै गाह्रो छैन । ‘आफ्नो कमाईमा आफ्नै पहिचान हुन्छ । यो कुरा बुझ्न मलाई चालिस वर्ष कुर्नु पर्यो ।’ उहाँ भन्नुहुन्छ,‘पहिला युट्युवमा अरुको भिडियो हेरेर लाईक र कमेन्ट गर्ने गर्थें । तर अब भने मलाई मेरै सामानहरुको भिडियोमा अरुको लाईक र कमेन्ट गराउने ईच्छा छ ।’
सीपले मान्छेलाई स्वाबलम्बी बनाउनमा सहयोग गर्छ भन्ने कुरा बुझेर नै उहाँ यतिबेला दश जना अरु महिलाहरुसंगै हाते सीप सिक्दै हुनुहुन्छ । शुरुमा हात नबस्दा गाह्रो भएको बताउने नम्रताले अहिले भने सजिलै सबै कुरा तयार गर्न जान्नु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाद्धारा आयोजित ४५ दिने विवाहको ‘सगनु एवं श्रृंगारका सामाग्री निमार्ण तालिम’ मा २१ जना महिलाहरुले उद्यमशीलता सम्बन्धी सीप सिकिरहेका छन् ।
जस्को एउटा ग्रुपमा ११ जना महिलाहरुले विबाहका लागि सगुन र श्रृंगारका सामाग्री सम्बन्धी सीप सिक्दैछन् भने अर्को ग्रुपमा १० जनाले बुटिक सम्बन्धी सीप सिकी रहेको महिला उद्यमी सहजकर्ता शोभा वालमिकीले बतउनुभयो ।






