बाँके । नेपालगन्जमा मोटरबोट सञ्चालनका लागि परिक्षणकाल शुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वर्ड नं. १ स्थित वाटरपार्कमा पर्यटन प्रवर्द्धनका लागि मोटरबोट सञ्चालनमा ल्याउनका लागि मंगलबारदेखि परिक्षणकाल शुरु गरिएको हो ।
उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले मोटरबोट सञ्चालनमा आएसँगै वाटरपार्क क्षेत्रमा पर्यटकहरुको आवागमन बढ्ने विश्वास व्यक्त गर्नुभयो । ‘हामी अहिले परीक्षणकालमा छौं ।’ मेयर विष्टले भन्नुभयो,‘यो वाटरपार्कमा पानीको तहलाई बढाउन मोटरिंगको काम भईरहेको छ । यस्को वरपर जीपलाईन पनि चाँडै नै जडान गरिनेछ । यस्लाई पुर्ण रुपले व्यवस्थित गरियो भने यहाँ आन्तरिकसँगै बाह्य पर्यटनहरुको संख्यामा बृद्धि हुनेछ ।’
उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का वडाअध्यक्ष प्रमोद रिजालले पर्यटन प्रवर्द्धनका लागि बोरेबोटा नामक कम्पनीलाई १० वर्षका लागि ठेक्का दिइएकोमा कम्पनीले मोटरबोट सञ्चालन गरेका बताउनुभयो । ‘मोटरबोटसँगै कम्पनीले माछा पालन, रेष्टुरेन्ट पनि सञ्चालन गर्ने अनुमति पाएको छ ।’ प्रवक्ता रिजालले भन्नुभयो,‘प्रारम्भिक चरणमा कम्पनीले २ वटा मोटरबोट ल्याएको छ । यो संचालन हुने बित्तिकै यस क्षेत्र व्यवसायिक रुपमा पनि विकसित हुनेछ ।
ब्यवसायी प्रजुन गिरीले पर्यटन प्रवर्द्धनका लागि वाटरपार्कमा पर्यटकलाई भित्र्याउन मोटरबोट सञ्चालनसँगै निकट भविष्यमा क्याफे, रेष्टुरेन्ट पनि सञ्चालनमा ल्याइने बताउनुभयो । परीक्षणकालकै लागि हाल दुई ओटा मोटरबोट प्रयोग गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार आवश्यकता अनुसार पछि मोटरबोटको संख्या पनि थपिने जानकारी दिनुभयो । मोटरबोट चढे वापत प्रतिब्यक्ति २ सय ५० रुपैयाँ शुल्क तोकिएको छ । बिद्यार्थीको हकमा भने तत्कालका लागि १ सय रुपैयाँ तोकिएको छ ।







