बाँके । पार्किङ्ग शुल्क, हवाई सेवाको गुणस्तर र बिमानस्थल भित्रको बिभिन्न क्षेत्रका गरिनु पर्ने सुधारका बिषयमा सार्वजनिक सरोकारको क्षेत्रमा कार्यरत कानून ब्यवसायी र अधिकारकर्मी द्धारा दायर रिटमा उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासबाट बिपक्षी नेपालगञ्ज विमानस्थल नागरिक उड्डयन कार्यालय र एयरलाईन्स कम्पनीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
वरिष्ठ अधिवक्ता सुनील कुमार श्रेष्ठ कानून ब्यवसायीहरु अधिवक्ता लोक बहादुर शाह, एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम, अधिवक्ताहरु विकास आचार्य, बल बहादुर चन्द, बिश्वजित तिवारी, सुनिता शर्मा, र नागरिक समाज नेपालगन्ज अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, इन्सेकका प्रदेश संयोजक भोला महत लगायतले संयुक्त रुपमा रिट दायर गरेका थिए ।
रिटमा उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका न्यायाधीश किरण कुमारी गुप्ताको एकल इजलासले बिपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका सम्बन्धमा सार्वजनिक सरोकारको बिषय भएकोले गाम्भिर्यताको आधारमा बिपक्षीहरुलाई झिकाई छलफलमा भाग लिनका लागी २०८० चैत्र १४ गतेका लागी सुनुवाईको पेशी तारेख तोक्ने आदेश भएको हो ।
मुद्धामा बिमानस्थल भित्रका क्यान्टिनले लिने मनपरि शुल्क, खाद्यबस्तुको गुणस्तर, बिमानस्थलमा सामान ओसार्ने ट्रलीको कमि, हवाईजहाजले यात्रुलाई दिने सेवा सुबिधा गरेको कटौती लगायतका बिषय समेटिएका छन् । मुद्धामा रिट निवेदक अधिवक्ताहरुका साथै अधिवक्ताहरु केवल सिंह थारु, सुनिलराज शर्मा, हिरा श्रेष्ठ लगायतले बहस गरेका थिए ।






