बाँके । नेकपा माओबादी केन्द्रका उपाध्यक्ष तथा पुर्व सभामुख अग्नि प्रसाद सापकोटाले ठुलो त्याग र बलिदानबाट प्राप्त भएका उपलब्धिमाथि खतरा उत्पन्न भएकोले गठबन्धन परिवर्तन गर्नु परेको बताउनुभएको छ ।
बाँकेको कोहलपुरमा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको मिडिया सम्मेलनको उदघाटन गर्दै पुर्व सभामुख सापकोटाले गठबन्धनमा रहेको नेपाली काँग्रेसबाटै संविधान, धर्म निरपेक्षता र गणतन्त्र माथि खतरा उत्पन्न भएपछि नेकपा एमालेसँगको गठबन्धनको बाध्यता आएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘शान्ति सम्झौताको शुरुवात देखिकै एक महत्त्वपूर्ण सहयात्री नेपाली काँग्रेसले नै शान्ति प्रक्रिया टुंगोमा पुरयाउन नदिने देखियो, अनि कसरी सहकार्य र समन्वय गर्न सकिन्थ्यो ?’ नेकपा माओबादी केन्द्रका उपाध्यक्ष सापकोटाले अहिलेको गठबन्धन प्रगतिशील गठबन्धन भएको दावी गर्दै यो गठबन्धन अगाडि बढ्दै गएर बृहत बामपंथी एकताबाटयसले शक्तिशाली कमनिष्ट पार्टीको गठन गर्ने बताउनुभयो ।
उहाँले समाजबादको कुनै पनि बिकल्प नरहेको जनाउँदै माओबादी आन्दोलनको अन्तिम लक्ष्य भनेको नै समाजबाद भएको प्रष्ट पार्नुभयो । गणतन्त्र, संघियता र धर्म निरपेक्षताको रक्षाका लागि नेपालको मिडियाले फेरि पनि ठुलो भुमिका निर्वाह गर्ने बेला आएको जनाउँदै नेता सापकोटाले त्यसको नेतृत्व प्रेस सेन्टरले गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु प्रसाद सापकोटा जुगलले अहिले नेपाली मिडिया एक चुनौतिपुर्ण अवस्था बाट गुज्रिरहेकोले सबैले सचेत भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले नेपाली पत्रकारहरुको पेशागत सुरक्षा र जिविकोपार्जन अहिलेको सबैभन्दा बढी अहम बिषय बनेको बताउनुभयो । नयाँ मिडियाले गर्दा परम्परागत मिडिया बन्द हुन थालेकाले पत्रकारहरु पनि संकटमा परेको उहाँको भनाइ थियो ।
सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य महेश्वर गहतराज अथक, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल, सचिव कृष्ण अधिकारी, प्रेस सेन्टर नेपालका उपाध्यक्षहरु निर्मल ज्ञवाली, अजयदिप शर्मा, महासचिव सन्तोष पौडेल, सल्लाहकार खिल बहादुर कार्की, प्रेस सेन्टर लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह बिक लगायत प्रेस चौतारी र प्रेस युनियनका नेताहरु तथा अग्रज पत्रकारहरुले पनि आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
दुई दिनसम्म चल्ने सो मिडिया सम्मेलनमा लुम्बिनी प्रदेशको १२ जिल्लाका प्रेस सेन्टर आवद्ध पत्रकार र केन्द्रीय नेताहरु गरेर झण्डै २०० जनाको सहभागीता रहेको छ ।








