बाँके । विश्वबजारमा छुट्टै नेपाली हस्पिटालिटीको ब्राण्डिङ गर्ने लक्ष्य सहित ७ वर्ष अघि स्थापना भएको होटल पौवाले नेपालगन्जमा आफ्नो १३ औं शाखा संचालनको थालनी गरेको छ । कोशी र मधे प्रदेश बाहेक सबै प्रदेशमा उपस्थिती जनाईसकेको पौवा होटलले पर्यटनको पश्चिम ढोकाका रुपमा रहेको नेपालगन्जमा सुबिधा सम्पन्न ५ तारे होटल निर्माणको आज शिलान्यास गर्दै संचालनको थालनी गरेको हो ।
होटल पौवा प्रालीका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले पूजापाठ गर्दै होटलको शिलान्यास गर्नु भएको हो । पौवाका प्रबनध निर्देशक ज्ञवालीका अनुसार स्थापनाको ७ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पौवाको पहुँच पुगेको छ भने छिमेकी कर्णाली प्रदेशको जुम्ला, गण्डकी प्रदेशको पोखरा, सुदुरपश्चिम प्रदेशको धनगढी तथा बाग्मती प्रदेशको काठमाडौं र सौराहामा पौवाको सेवा उपलब्ध छ ।
यसै वर्षबाट चितवनको सौराहामा पनि होटल पौवाले सेवा सुरु गरेको प्रबनध निर्देशक ज्ञवालीले जानकारी दिनुभयो । उहाँले यसै आर्थिक वर्षमा थप २ वटा शाखा थप गर्ने लक्ष्य राखिएको जनाउँदै कोशी प्रदेशमा होटल संचालनको अध्ययन गरिरहेका तथा मधेश प्रदेशको जनकपुरमा सम्भाब्यता सहित होटल संचालनको प्रारम्भीक तयारी गरिएको बताउनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशमा पनि थप होटल संचालनको अध्ययन थालिएको छ ।
होटल पौवाका संचालक समितिका सदस्य ध्रुवराज न्यौपानेले पौवाको सेवा लिने हरेक ग्राहकले नेपालीपनको महसुस् गर्ने र विश्व पर्यटन बजारमा नेपाली आतिथ्यताको ब्राण्डिङ हुने विश्वास ब्यक्त गर्नुभयो । २ वर्ष भित्र निर्माण सम्पन्न गरि सेवा दिने योजनाका साथ कार्य आरम्भ गरिएको जनाउँदै पौवा नेपाली हस्पिटालिटी भएको नेपालको एउटामात्र समुह भएको उहाँको भनाई थियो ।
लुम्बिनी प्रदेशको रुपन्देहीको भैरहवाको चिल्ड्रेन पार्क र बुटवलको योगीकुटी, दाङको भालुवाङ, लमही र घोराही, कपिलवस्तुको गोरुसिङ्गेमा पौवाले समान र नेपालीपन सहितको सेवा दिईरहेको छ । त्यसैगरि पाल्पाको तानसेन र गुल्मीको रेसुङ्गामा पनि अन्तरराष्ट्रिय स्तरको रिसोर्ट सहित होटल संचालनमा रहेको छ । नेपालगन्जमा संचालन हुने होटल निर्माणको काम २ वर्षमा सम्पन्न गरि ग्रहाकलाई सेवा दिइने पौवाका संचालकहरुले जनाएका छन् ।






