एजेन्सी । यहाँ मानिस मानिसबीचको सम्बन्ध नमिलि रहेको बेला कुनै जनावरसंग मानिसको सम्बन्ध धनिष्ठ छ, प्रेममय छ, आत्मिकी छ, र अत्ति नै संवेदनशील छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । पत्याउनै गाह्रो हुन्छ । तर यस्तो सम्बन्ब संसारको कुनै एउटा देशमा भने पक्कै छ । जहाँ मानिस र एउटा बनहाँसबीच सोच्नै नसकिने र पत्याउनै गाह्रो लाग्ने सम्बन्ध छ । उनीहरुबीच एउटा अनौठो सम्बन्ध र कथा छ । जुन निकै नै मार्मिक छ ।
टर्कीका एक अवकाशप्राप्त हुलाकी र सेता हाँसबीचको मित्रताको कथा झन्डै ४ दशकदेखि प्रसिद्ध छ र उनीहरुको मित्रताले दशौं लाखको मनलाई पगालेको छ । १९८४ मा जब रेसेप मिर्जानले घाइते हाँसलाई इर्डिने प्रान्तमा भेटेका थिए, त्यतिबेला यही हाँस आफ्नो सबैभन्दा नजिकको साथी बन्नेछ भन्ने उनलाई हेक्का थिएन । साथीहरुको समूहमा कारमा हिडिँरहेका बेला खाली मैदानमा पखेंटा भाँचिएको हाँसमा रेसेपको नजर गयो । रेसेपलाई लाग्यो कि यस हाँसलाई यत्तिकै छाड्नु भनेको अन्य जनावरको आराहा बन्न दिनुु हो ।
त्यसैले उनले कार रोके र हाँसलाई आफूसँगै राखे । त्यसपछि घर लगेर यस हाँसको उपचार गरे । ‘मलाई लाग्यो कि फ्याउरोको आहारा बन्न दिनुुभन्दा यसलाई मैले घर लग्नु ठिक हुन्छ । घर ल्याएपछि हामी एकअर्कासँग परिचित भयौं र कहिल्यै अलग भएनौं,’ एशोसियट प्रेससँगको कुराकानीमा रेसेपले भने । रेसेपका अनुसार यो पोथी हाँसले आफ्नो भाँच्चिएको पखेंका ठिक भएपछि पनि उडेर जान मन गरेन । बरु, रेसेपको फार्ममै रहेका अन्य जनावरहरुसँग घुुलमिल भएर यही बस्न थाल्यो । ग्रिससँग सीमा जोडिएको कारागाक क्षेत्रमा रेसेपको फार्म छ, जहाँ उनले अन्य जनावर पनि पालेका छन् ।
यो हाँस यही फार्म वरपर डुल्दछ र रेसेपले यसलाई गारिप नाम दिएका छन् । ‘मैले बोलाउने बित्तिकै आउँछ । कहिल्यै मलाई छाडेको छैन, बाढी आउँदा पनि छाड्नि,’ रेसेपले भने, ‘हाँस बलियो थियो, तर अहिले वृद्ध भइसकेको छ । मलाई आशा छ अझै लामो समय हामी एकअर्काको साथ हुनेछौं ।’ रेसेपले गारिपका लागि अलग खोर बनाइदिएका छन्, तर गारिप रातमा मात्रै यहाँ बस्छ । दिउँसो भने अन्य मानिसहरु भए ठाउँ पुुग्छ र उनीहरुसँग घुलमिल हुन्छ ।
केही वर्ष पहिले श्रीमतीको निधन भएयता रेसेपले धेरैभन्दा धेरै समय फार्ममा जनावरहरुसँग बिताउँछन् । उनका छोराछोरी छैनन् । त्यसैले गारिपलाई रेसेप आफ्नो सन्तान भन्छन् । संरक्षित वातावरण पाएमा १ दशकसम्म हुपर हाँस बाँच्नसक्छ । तर गारिपले आफ्नो प्रजातीका अन्य जनावरहरुको औसत आयुुभन्दा धेरै आयुु बिताइसकेको छ । यो कथाले हामीलाई त्यस पेन्गुुइनको संझना गराएको छ, जसको ज्यान एक मानिसले बचाएका थिए । त्यसपछि उक्त पेन्गुुईन सधैं ती मानिसलाई भेट्न आइरहन्थ्यो ।






