बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदो स्थित श्रीनगर टोलको बाटो शिलन्यास गरिएको छ । बुधबार वडाध्यक्ष दिपक कुमार बर्माले विकास निर्माणका कार्यलाई तिब्रता दिंदै ३० लाख बराबरको नालासहित सडक बाटोको शिलान्यास गर्नु भएको हो ।
‘वडाबासीहरुले मलाई दिएको विश्वासलाई सम्मान गर्दै आउने दिनमा वडा भित्र छुटेका विकास निर्माणका कार्यहरुलाई निरन्तरता दिनेछु ।’ वडाध्यक्ष बर्माले भन्नुभयो,‘यस वडाको सम्पुर्ण विकासको जिम्मेवारी मेरो नै भएको हुँदा विकासका लागि बजेटको व्यवस्थापन कुनै पनि हालतमा गर्नेछु । त्यसका लागि संघ र प्रदेश सरकारबाट माग गर्दै वडाको भौतिक पुर्वाधारहरुको विकास मेरो कार्यकालमा पुरा गर्नेछु ।’
उक्त टोलको पक्कि बाटो निर्माणका लागि लुम्बिनी प्रदेश सरकारको तर्फबाट ३० लाख बजेट प्राप्त भएको वडाध्यक्ष बर्माले बताउनुभयो । उक्त सडकको मापदण्ड करीब ३ सय ९० मिटर रहेको छ भने ६ मिटर नालासहित सडक बन्ने योजना रहेको छ ।
अध्यक्ष बर्माका अनुसार यस चालू आर्थिक वर्षमामा वडाको विभिन्न टोलमा सडक स्तर उन्नतिको कार्यलाई तिब्रता दिनुको साथै शिलान्यास भइसकेका स्थानहरुमा अनुगमन गर्ने कार्यहरु समेत भईरहेको छ । शिलान्यास गर्न बाँकी आधा दर्जनभन्दा बढी सडकहरुको छिट्टै शिलान्यास गरिने उहाँले बताउनुभयो ।











