बाँके । बढैयाताल २ निवासी अञ्जुदेवी श्रेष्ठ (दीप्ति) र गण्डकी बन्दीपुर गाउँपालिका ५ बस्ने सुप्रिता गुरुङलाई समलिंगी बिबाहको कानुनी मान्यता प्रदान गरिएको छ । उहाँहरु दुवैलाई सोमबार बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर २ का वडासचिव दीपक नेपालीले विवाह दर्ता प्रमाणपत्र प्रदान गरेर समलिंगी बिबाहको कानुनी मान्यता प्रदान गरिएको हो ।
उक्त पालिकामा समलिंगी (लेस्बियन) को विबाह दर्ता नै अञ्जु र सुप्रिताको विबाह दर्ता भएको वडा सचिव नेपालीले बताउनुभयो । ‘दर्ता गर्ने र प्रमाणपत्रमा अस्थायी विवाह दर्ता लेखेर जारी गर्न पञ्जीकरण विभागको प्राविधिक शाखाबाट जानकारी आयो ।’ उहाँले भन्नुभयो,‘समलिंगी महिलाको विवाह दर्ता भएको हामो वडामा यो नै पहिलो हो ।’ ३३ वर्षीया अञ्जु र ३३ वर्षीया सुप्रिता पाँच वर्षदेखि सम्बन्धमा रहेको कुरा उहाँहरुले सोही वडामा बताउनु भएको थियो ।
दीप्ति र सुप्रिता आजभन्दा पाँच वर्ष अघि सामाजिक सञ्जाल फेसबुकमार्फत एकअर्कासँग जोडिनु भएको थियो । महिलाको रुपमा जन्मिए पनि दिप्तीलाई पुरुषसँग कुनै आकर्षण नभएको उहाँले बताउनुभयो । एसएलसी दिई सकेपछि उहाँले आफू भित्रको फरकपन बारे बिस्तारै अनुभव गर्न थालेको बताउनुभयो । ‘एसएलसी दिएर उच्च शिक्षा लाग्दै गर्दा मैले आफुलाई अरुभन्दा फरक छु भन्ने महसुस गर्न थालें ।’ उहाँले भन्नुभयो,‘जब मलाई आफु फरक हूँ भन्ने महसुस हुन थाल्यो तब देखि मलाई पुरुषसँग कहिल्यै आर्कषण भएन ।’
उहाँको भनाई अनुसार आमा बुवाले केटासँग विवाह गर्ने तयारी गरेपछि भने अञ्जुले घर नै छोडेर हिँडनु परेको थियो । उहाँले भन्नुभयो,‘मेरो विबाहको कुरा चलाएर विबाहको तयारी गर्न शुरु गरेपछि म भागेर एक्लै बस्न थालें । समय बित्दै गएपछि भने परिवारका सदस्यले मलाई र मेरो भावनालाई विश्वास गर्न थाल्नुभयो ।’
सँगै विबाह बन्धनमा बाँधिनु भएकी बन्दिपुरकी ३३ वर्षीया सुप्रिताले पनि आफ्नो फरक परिचय स्थापित गर्न आफुलाई निकै नै संघर्ष गर्नु परेको बताउनुभयो । आमा र दाइसँगै बेलायतमा बस्दै आउनु भएकी सुप्रितासँग आफुलाई केटी नै मन पर्ने कुरा (समलिंगी) को आफ्नो पहिचान स्थापित गर्न निकै नै संर्घष गर्नु परेको उहाँले बताउनुभयो । ‘विदेशमै हुर्किए पनि मैले मेरो पहिचानको लागि घर परिवारसँग निकै नै संर्घष गर्नु पर्यो ।’ उहाँले भन्नुभयो,‘विपरीत लिंगीसँग मेरो आर्कषण छैन भन्ने कुरा हुर्किँदै जाँदा मैले थाह पाएँ । तर घरमा भने मेरो बिहेको कुरा चलाउन थालियो । त्यतिबेला म निकै डराएको थिएँ ।’
बिस्तारै बिस्तारै घर परिवारले उहाँको पहिचानलाई स्वीकार गरेपछि भने सुप्रितालाई भने आफ्नो पहिचानको बारेमा खुल्न सहज भयो । ‘खुलेर हिंड्ने क्रममा नै दिप्तिसँग फेसबुकमा नजिकीन पुगें र अहिले उनलाई नै जीवन साथीको रुपमा पाएँ ।’ उहाँले सुनाउनुभयो । विवाहपछि उहाँहरू दुबैले विवाह भनेकोसँगै बस्ने प्रतिबद्धता मात्रै नभएर एक अर्काको भावना बुझेर एक अर्काप्रति सहयोगी हुने बताउनुभयो ।
सोमबार विवाह दर्तापछि उनीहरु नेपालगञ्जस्थित यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको क्षेत्रमा कार्यरत संस्था पश्चिम तारा नेपालको कार्यालयमा पुगेर खुसी साटासाट गर्नु भएको थियो । संस्थाकी कार्यक्रम संयोजक परिना चौधरीले आफुहरुका लागि एउटा उत्सवको दिन भएको बताउँदै आज प्रेम गर्नेहरुको जित भएको बताउनुभयो । उहाँले दिप्ती र सुप्रिताको विबाहले पहिचान लुकाएर बसेका साथीहरुलार्इ हौसला बढाउने पनि बताउनुभयो ।
दीप्ति र सुप्रिताले विवाह दर्ताका लागि लामो समयदेखि प्रयास गरेको बताउनुभयो । उहाँहरुले विवाह दर्ताका लागि ४ माघमा वडा कार्यालयमा निवेदन दिनु भएको थियो । बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले पञ्जीकरण विभागमा ‘समलिङ्गी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा आवश्यक राय तथा निर्देशन उपलब्ध गराइदिनु हुन’ पत्र पठाउनु भएको थियो ।
पहिलो विवाह दर्ता गर्न राय दिएको पञ्जीकरण विभागले दीप्ति र सुप्रिताको विवाह दर्तामा भने राय दिन समय लियो । विभागको राय अनुसार विवाह दर्ता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भनाई थियो । मुलुकी देवानी संहिता २०७४ ले व्यक्तिलाई कानुनको अधीनमा रही विवाह गर्ने, परिवार कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्ने स्वतन्त्रता हुने व्यवस्था गरेको छ ।
असार २१ म सर्वोच्च अदालतले यौनिक तथा लैंगिक पहिचानसहित नेपाली नागरिकताको प्रमाणपत्र पाउन सक्ने, प्रत्येक व्यक्तिलाई विवाह गर्ने स्वतन्त्रता रहेको र कानुनको दृष्टिमा सबै नागरिक समान हुने व्यवस्था भएकाले विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्नु रगराउनु भनी अन्तरिम आदेश दिएको थियो ।






