बाँके । बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीय क्षेत्र प्रवर्द्धन गर्न बाँकेको नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म साइकल यात्रा ‘टुर द ठाकुरद्वारा’ आजबाट शुरु भएको छ । शुक्रबार नेपालगन्जबाट शुरू भएको साइकल यात्रा भोलि बर्दियाको ठाकुरद्धारामा गएर सम्पन्न हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा दुई सय भन्दा बढी साईकल यात्री सहभागी हुने आयोजक नेपालगन्ज साईक्लिङ क्लबले जनाएको छ । कार्यक्रम संयोजक निरौलाका अनुसार बाँकेको बागेश्वरी मन्दिर हुँदै बर्दियाको ठाकुरद्वारासम्म सञ्चालन हुने यात्रा १ सय ४ किलोमिटर लामो रहेको छ ।
उहाँले बागेश्वरी मन्दिरबाट सुरु भई साइकलयात्रा कोहलपुर, बर्दियाको केदारेश्वर धाम, सत्खलुवा हुँदै ठाकुरद्वारा मन्दिरसम्म पुग्ने बताउनुभयो । टिसर्ट सार्बजनिक गर्दै चीन र भारतबाट समेत साईकल यात्रीहरुको सहभागिता रहने कार्यक्रम संयोजक निरौलाले बताउनुभयो ।
टुर द ठाकुरद्धारा सम्पन्न गर्न करिव २७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उहाँले जनाकारी दिनुभयो । साईकल यात्रामा सहभागी हुने साइकल यात्रीहरु मार्फत यहाँको पर्यटनसँगै बजार व्यवसाय चलायमान बनाउन सहयोग पुग्दै आएको आयोजक नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिनुभयो ।
बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीय स्थलको प्रचार गर्ने उद्देश्यले बिगत ६ बर्षदेखी टुर द ठाकुरद्धारा आयोजना हुँदै आएको छ । उक्त साइकल यात्रामा झापा, विराटनगर, धरान, बारा, पोखरा, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, नवलपरासी, धनगढी, महेन्द्रनगर, दाङ लगायत देशका प्रमुख शहरबाट साइकल यात्रीहरु सहभागी छन् ।










