बाँके । नेपालगन्ज उपमहानगरपालिका–१ को कार्यालयले विपन्न मजदुरको बिमा गर्न सुरु गरेको छ । वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्ने विपन्न वर्गका कामदारको एक लाखसम्मको म्यादी लघुजीवन बिमा सुरु गरिएको वडाध्यक्ष प्रमोद रिजालले बताउनुभयो । उहाँले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार, १८ वर्षदेखि ५५ वर्षका मानिसको बिमा गरिने छ । वडासचिव भुविन्द्रप्रसाद कँडेल, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स नेपालगन्जका प्रबन्धक लक्ष्मी विष्टको उपस्थितिमा वडाध्यक्ष प्रमोद रिजाल र इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक विमल खड्काले सम्झौता गर्नु भएको हो । १८ वर्ष उमेरको हकमा २ सय ७९ रुपैयाँ र ५५ वर्षको उमेरको १ हजार १ सय ३५ रुपैयाँ तिरेर बिमा गरिने छ ।
विपन्न वर्गका कामदारको वडा कार्यालयले नै रकम तिरेर बिमा गरिदिने वडाध्यक्ष रिजालले जानकारी दिनुभयो । एक लाखको जीवन बिमामा दुर्घटना भएर बिमितको मृत्यु भएमा उसका परिवारले २ लाख रुपैयाँ र क्रियाखर्च २५ हजार पाउने इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक खड्काले बताउनुभयो ।
वडाध्यक्ष रिजालले भन्नुभयो,‘बिमा एक वर्षका लागि हुनेछ । अर्को वर्ष गर्न चाहेमा फेरि बिमा गर्नुपर्छ ।’ उहाँका अनुसार सवारी चालक, उद्योगमा काम गर्ने कामदार, डकर्मी, सिकर्मी, पेन्टिङ व्यवसाय गर्ने, कुनै पनि मजदुरी गर्ने, कृषि मजदुरलगायतका श्रम गरी खाने वडाका नागरिकहरूको बिमा गर्न लागिएको हो ।






