बाँके । लुम्बिनी प्रदेशकी शहरी विकास मन्त्री कृष्णा केसी (नमुना) ले बाँकेको कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना हुने बताउनु भएको छ । कोहलपुर नगरपालिकाले निर्माण गरेको भ्यू टावर र नयाँ बसपार्क सञ्चालन तथा ब्यवस्थापनका विषयमा सर्बपक्षिय रुपमा गरिएको सुझाव संकलन कार्यक्रममा मन्त्री केसीले नेपालगञ्जमा यातायात कार्याल हुँदा समय र दुरीका कारण जनतालाई मर्का परेको बताउँदै कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना हुने बताउनु भएको हो ।
‘नेपालगञ्जमा यातायात कार्यालय भएपनि कोहलपुरमा लाईसेन्सको एउटा शाखा ल्याउने विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल सुरु भैसकेको छ ।’ उहाँले भन्नुभयो,‘कोहलपुरमा यातायातको एउटा शाखा जनताको आवश्यकता भएको हुनाले यहाँ मेरो कार्याकालमा लाईसेन्सको एउटा शाखा स्थापना हुन्छ । त्यसका लागि नगरपालिकाले ठाउँको व्यवस्थापन गर्ने तयारी गर्दा हुन्छ ।’
मन्त्री केसीले भौतिक संरचनाहरु निमार्ण गर्दा दीर्घकालीन योजनाका साथ बनाउनु पर्ने बताउँदै संरचना बनाउँदा त्यसबाट कति प्रतिफल लिन सकिन्छ भन्ने कुराको ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । ‘संरचना बन्नु आफैँमा नराम्रो होइन । तर कालन्तरमा त्यसको प्रतिफल कस्तो रहन्छ भन्ने कुरामा विचार गरेर मात्र यस्ता संरचनाहरुको निमार्ण गरिनु पर्छ ।’ कोहलपुरमा अत्याधुनिक बसपार्क र भ्युटावरको संरचना तयार भइसकेकाले त्यसलाई सञ्चालनमा ल्याउन सबैको भूमिका महत्पुर्ण रहने उहाँले बताउनुभयो ।






