बाँके । बाँकेको कोहलपुर नगरपालिकाले निर्माण गरेको भ्यू टावर र नयाँ बसपार्क सञ्चालन तथा ब्यवस्थापनका विषयमा सर्बपक्षिय रुपमा सुझाव संकलन गरेको छ । कोहलपुर नगरपालिकाले शुक्रबार भ्यू टावर र नयाँ बसपार्क सञ्चालन तथा ब्यवस्थापनका विषयमा सर्बपक्षिय रुपमा सुझाव संकलन गरेको हो ।
नगर प्रमुख पुर्ण प्रसाद आचार्यले अघिल्लो कार्यकालका जनप्रतिनिधिका पालामा दुबै आयोजना निर्माण कार्य सुरु भएको र आफुहरु आएपछि मात्र काम सम्पन्न भएको बताउनु भएको थियो । उहाँले भन्नुभयो,‘हामी निर्वाचित भएर आएपछि मात्रै भ्यूटावर र नयाँ बसपार्कका काम सम्पन्न भएका हुन् । हामीले केवल सुरुवात भईसकेका योजनालाई पुरा गरेका मात्र हौं ।’
नगर प्रमुख आर्चायले निमार्ण भईसकेको भ्यू टावर र नयाँ बसपार्क ब्यवस्थापन र सञ्चालन गर्न चुनौति भएको बताउनुभयो । ‘नगरपालिकाले भ्यू टावर र नयाँ बसपार्क सञ्चालनका लागि पटक पटक ठेक्का खोलेपनि कुनैपनि ब्यवसायीले ठेक्का नहालेको हुनाले भ्यू टावर र नयाँ बसपार्क ब्यवस्थापनका साथै सञ्चालनमा समस्या भएको छ ।’
नगर विकास कोषको ६० प्रतिशत ऋण अनुदानमा निर्माण गरिएका दुबै पुर्वाधार सञ्चालन तथा ब्यवस्थापनमा समस्या आएपछि सर्बपक्षिय रुपमा सुझाव लिइएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो । उहाँले निर्माण सम्पन्न भएका भ्यू टावर र नयाँ वसपार्कको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
सुझाव दिने क्रममा सहभागी नेपाली काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, उद्योग वाणिज्य महासंघका पुर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, कोहलपुर उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, कोहलपुर नगरपालिकाका पूर्व वडाअध्यक्ष कर्णबहादुर थापा, ब्यवसायी देवानन्द अर्याल लगायत उद्योगी, ब्यवसायी लगायतले निर्माण सम्पन्न भईसकेका नगरपालिकाका गौरवका योजनालाई सञ्चालन तथा ब्यवस्थापन गर्दा ब्यवसायीलाई वातावरण बनाइदिनुपर्ने र नयाँ ढंगले ठेक्का टेण्डर गर्नुपर्ने सुझाव दिनु भएको थियो ।
नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नगर उपप्रमुख संगिता सुवेदीले स्वागत गर्नु भएको थियो । उक्त कार्यक्रममा जनप्रतिनिधि, विभिन्न दलका प्रमुख तथा प्रतिनिधि, उद्योगी, व्यवसायी लगायतको सहभागिता रहेको थियो ।
तस्बिर,,,,,,













