बाँके । नेकपा माओबादी केन्द्रका उप–महासचिव जनार्दन शर्मा (प्रभाकर) ले नयाँ नीति र नेतृत्वसहित जनतामा जाने बताउनुभयो । शनिबार मधेशी, मुस्लिम र थारुको संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले विशेष महाधिवेशनबाट जनतामा जान लागेको बताउनु भएको हो ।
सभालाई उदघाटन गर्दै प्रभाकरले विशेष महाधिवेशनले नयाँ नीति, नेतृत्व र रणनीति बनाएर अघि बढ्ने बताउनुभयो । जनताको सामाजिक न्यायलाई सरकारले स्थापित गर्ने बताउँदै उप–महासचिव प्रभाकरले माओवादीको अबको बाटो समाजवादको भएको हुनाले स्वदेशमा नै स्वरोजगारको व्यवस्था गरेर युवाहरुलाई विदेशीनबाट रोक्ने योजना बनाउन लागिएको बताउनुभयो ।
माओवादीको पार्टीको अभियान मिसन समाजबादी भएको दोहो¥याउँदै नेता प्रभाकरले त्यसक्रममा देशैभरीका जनताले दिएका सुझावलाई प्रधानमन्त्री एवं माओबवादी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) समक्ष बुझाउने जानकारी दिनुभयो ।
प्रभाकरले मूलुकमा धर्म निरपेक्षता कायम नै रहने बताउनुभयो,‘हिन्दु राज्यको परीकल्पना यदि कसैले गर्दछ भने त्यो केवल दिवा सपना मात्र हुने’ उनको भनाई थियो । पूर्व अर्थमन्त्रीसमेत रहनु भएका नेता प्रभाकरले चाँडै नै सुकुम्बासी समस्या समाधान हुने ठोकुवा गर्दै भन्नुभयो,‘सरकारको समेत नेतृत्व गरीरहेको नेकपा माओबादीले सरकार, सदन र सडक तीन तहबाट सुकुम्बासी समस्याको समाधान गरेरै छाड्ने छ । अब देशमा कोहीपनि सुकुम्बासी बन्नु पर्ने छैन ।’
कार्यक्रममा लुम्बिनी प्रदेश सहरी विकास मन्त्री कृष्णा केसी (नमूना) ले माओबादीबाट जनताले अपेक्षा गरे अनुरुपको प्रतिफल पाउन नसकेको बताउनुभयो । नेतृ नमूनाले माओवादीले जनतालाई उन्मुक्ति दिएर नयाँ राज्य व्यवस्था कायम गरेपनि जनताका आधारभूत कुराहरुलाई पुरा गर्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
संयुक्त भेलाको उदघाटन सत्रमा बोल्दै मन्त्री नमूनाले आफुले यस क्षेत्रको विकासका निम्ति कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो । ‘मलाई जनताले दिएको माया र भरोसाको परिणाम म यस क्षेत्रमा विकास गरेर देखाउने छु ।’ उहाँले भन्नुभयो,‘मेरो कार्यकाल सम्ममा मैले यो प्रदेशलाई विकासको प्रदेशका रुपमा स्थापित गर्नेछु ।’
सोही कार्यक्रममा थारु मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष सन्त कुमार थारुले पहिचानको लडाई लडेर नै पुरानो शासन व्यवस्था उल्ट्याएर ल्याएको गणतन्त्रमा थारु जातिले अझैंपनि अधिकार सहीतको पहिचानको लडाई लड्न बाँकी रहेको धारणा राख्नु भएको थियो ।
‘सामन्ती व्यवस्था अन्त्यको लागि हिजो थारुहरु जागेका थियौं । आजपनि हाम्रो पहिचानको लडाईँ बाँकी नै छ,’ अध्यक्ष थारुले राज्य व्यवस्था परिवर्तन गर्नका लागि थारु जातिको योगदान रहेको बताउँदै थारु जातिको अबको लडाईँ राजनीतिक रुपमा आत्मरक्षाका लागि भएको बताउनुभयो ।
अध्यक्ष थारुले पहिचानको लडाई लडेर नै पुरानो शासन व्यवस्था उल्ट्याएर ल्याएको गणतन्त्रमा थारु जातिले अझैंपनि अधिकार सहीतको पहिचानको लडाई लड्न बाँकी रहेको बताउनुभयो । ‘सामन्ति व्यवस्था अन्त्यको लागि हिजो थारुहरु जागेका थियौं । आजपनि हाम्रो पहिचानको लडाईँ बाँकी नै छ ।’ उहाँले भन्नुभयो ।






