बाँके । स्ट्रेन्थलिफ्टिङमा स्वर्ण पदक जितेका दन्तरोग विशेषज्ञ डा. प्रतिक श्रेष्ठसहित विजेता खेलाडीलाई सम्मान गरिएको छ । भारतको हैदराबादमा भएको १० औँ वल्र्ड स्ट्रेन्थलिफ्टिङ विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेर फर्किएका नेपालगन्ज निवासी डा. श्रेष्ठसहितका खेलाडीलाई शनिबार सम्मान गरिएको हो ।
बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ संघ, लाइफलार्इन् अस्पताल र गणपति डेण्टलको आयोजनामा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, लाइफलार्इन् अस्पतालका अध्यक्ष अशोक श्रेष्ठ र डा. पारस श्रेष्ठले सम्मान खेलाडीलाई गर्नु भएको हो ।
उक्त प्रतियोगितामा स्वर्ण पदक विजेता डा. श्रेष्ठ र रजत पदक विजेता सन्तोषकाजी शाक्यलाई पनि सम्मान गरिएको थियो । भारतको हैदराबादमा सम्पन्न उक्त प्रतियोगितामा डा. श्रेष्ठले ९५ किलो तौल पुरुष सिनियरतर्फको प्रतिस्पर्धामा स्वर्ण पदक जित्नु भएको थियो भने नेपालगन्जकै सन्तोषकाजी शाक्यले ७६ किलो तौल पुरुष मास्टर वानतर्फको प्रतिस्पर्धामा रजत पदक जित्नु भएको थियो ।
दुवै खेलाडीलाई नगदसहित शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । मेयर विष्टले स्ट्रेन्थलिफ्टिङको विश्व च्याम्पियनसिपमा स्वर्ण र रजत पदक जितेर खेलाडीले नेपालगन्ज र नेपालको नाम विश्वभर फैलाएको बताउँदै विजेता सबैलाई धन्यबाद दिनुभएको थियो ।






