बाँके । नेकपा माओबादी केन्द्रका उप–महासचिव जनार्दन शर्मा (प्रभावकर) ले मूलुकमा धर्म निरपेक्षता कायम नै रहने बताउनुभयो । बाँकेको मधेशी मुक्ति मोर्चा, मुस्लिम मुक्ति मोर्चा र थारु मुक्ति मोर्चाले शनिबार नेपालगञ्जमा आयोजना गरेको संयुक्त भेलाको उदघाटन सत्रमा उप महासचिव शर्माले गणतन्त्रको शासन व्यवस्था भएको राज्यमा धर्म निरपेक्षता कायम नै रहने बताउनु भएको हो ।
पुर्व गृहमन्त्री समेत रहनु भएका शर्माले हिन्दु राज्यको परीकल्पना यदि कसैले गर्दछ भने त्यो केवल दिवा सपना मात्र हुने बताउनुभयो । ‘मुलुकलाई विकासको बाटो तिर डोर्याउनका लागि बलिदान दिएर हामीले गणतन्त्र राज्य स्थापना गरेका हौं । गणतन्त्र त्यसै आएको होइन ।’ उहाँले भन्नुभयो,‘धर्म निरपेक्षातासँग जनताको पहिचानसँगै भावना जोडिएको छ । जनताको भावनासँग खेल्ने प्रयास यदि कसैले गर्छ भने त्यो केवल दिवा सपना मात्रै बन्ने छ ।’
मिसन चौरासी माओबादीको एजेण्डा नभएको बताउँदै अर्थमन्त्री समेत रहनुभएका शर्माले अर्को प्रसंगमा चाँडै नै सुकुम्बासी समस्या समाधान हुने बताउनुभयो । उहाँले भन्नुभयो,‘सरकारको समेत नेतृत्व गरीरहेको नेकपा माओबादीले सरकार, सदन र सडक तीन तहबाट सुकुम्बासी समस्याको समाधान गरेरै छाड्ने छ । अब देशमा कोहीपनि सुकुम्बासी बन्नु पर्ने छैन ।’
जनताको सामाजिक न्यायलाई सरकारले स्थापित गर्ने बताउँदै उप–महासचिव शर्माले माओबादीको अबको बाटो समाजबादको भएको हुनाले स्वदेशमा नै स्वरोजगारको व्यवस्था गरेर युवाहरुलाई विदेशीनबाट रोक्ने योजना बनाउन लागिएको पनि बताउनुभयो । साथै उहाँले अभियानका क्रममा देशैभरीका जनताले दिएका सुझावलाई प्रधानमन्त्री एवं माओबादी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) समक्ष बुझाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सहरी विकास मन्त्री नमुना केसीले माओबादीबाट जनताले अपेक्षा गरे अनुरुपको प्रतिफल पाउन नसकेको बताउनुभयो । उहाँले माओबादीले जनतालाई उन्मुक्ति दिएर नयाँ राज्य व्यवस्था कायम गरेपनि जनताका आधारभूत कुराहरुलाई पुरा गर्न नसकेको जिकिर गर्नुभयो ।
संयुक्त भेलाको उदघाटन सत्रमा बोल्दै मन्त्री केसीले आफुले यस क्षेत्रको विकासका निम्ति कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो । ‘मलाई जनताले दिएको माया र भरोसाको परिणाम म यस क्षेत्रमा विकास गरेर देखउने छु ।’ उहाँले भन्नुभयो,‘मेरो कार्यकाल सम्ममा मैले यो प्रदेशलाई विकासको प्रदेशका रुपमा स्थापित गर्नेछु ।’
सोही कार्यक्रममा थारु मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष सन्त कुमार थारुले पहिचानको लडाई लडेर नै पुरानो शासन व्यवस्था उल्ट्याएर ल्याएको गणतन्त्रमा थारु जातिले अझैंपनि अधिकार सहीतको पहिचानको लडाई लड्न बाँकी रहेको बताउनुभयो । ‘सामन्ति व्यवस्था अन्त्यको लागि हिजो थारुहरु जागेका थियौं । आजपनि हाम्रो पहिचानको लडाईँ बाँकी नै छ ।’ अध्यक्ष थारुले राज्य व्यवस्था परिवर्तन गर्नका लागि थारु जातिको योगदान रहेको बताउँदै अबको लडाईँ राजनीतिक रुपमा आत्मरक्षाका लागि भएको बताउनुभयो ।









