बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सडकमा जथाभावी फोहोर फाल्नेलाई नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम ५ हजारदेखि १५ हजार रुपैयाँ जरिवाना गरिने बताउनु भएको छ । बुधबार उपमहानगरपालिका प्रमुख विष्टले अब उप्रान्त जथाभावी फोहोर फाल्नेलाई फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम ५ हजारदेखि १५ हजार रुपैयाँ जरिवाना गरिने बताउनु भएको हो ।
‘नगरबासीलाई सचेत बनाउन हिंडेका छौं, पटक पटक यो कुरा भन्दै आएका छौं, अब यो अन्तिम पटक हो, भोलिदेखि जथाभावी फोहोर फालेमा कारबाही गर्छौं ।’ नगर प्रमुख विष्टले भन्नुभयो,‘जथाभावी फोहोर फालेको पाईएमा हाम्रो ऐन अनुसार ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।’ नगर प्रमुख विष्टले फोहोर व्यवस्थापनमा यदि कसैले सहयोग नगरेको पाईएमा पसल व्यवसाय समेत बन्द गरिदिने चेतावनी दिनुभयो ।
नगरबासी आफैं सचेत र जागरुक हुनुपर्नेमा पटक पटक भनिरहँदा पनि जथाभावी फोहोर फाल्ने क्रम नरोकिएपछि सचेतनासंगै कारबाहीको नीति अख्तियार गर्नुपरेको नगर प्रमुख विष्टको भनाई छ । पटक पटकको प्रयासपछि केही सुधार भए पनि अपेक्षित परिणाम नदेखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले ‘सचेतना प्रबद्र्धन र जरिवाना अभियान’ थालेको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नगरलाई सफा राख्ने दायित्व हरेक नागरिकको भएको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाको फोहरमैला व्यवस्थापन अभियानमा सबै इमान्दार बन्नुपर्ने बताउनुभयो । यो अभियानमा स्थानीय प्रशासनको दरिलो साथ रहेको पोखरेलको भनाई छ । ‘अब हामी अन्तिम पटक सचेत बनाउँछौं, पम्प्लेट वितरण गरेका छौं, माइकिंग गरिरहेका छौं, अब पनि अटेर गरे कारबाहीको दायरामा ल्याउँछौं ।’
पहिलो चरणमा स्याम्पलिंगको रुपमा चारबाहिनीदेखि कल्पत्रुलाई रोजिए पनि नगरभरि नै अभियान सञ्चालन गरिने वातावरण शाखा प्रमुख वातावरण इन्जिनियर प्रकाश डिसीले बताउनुभयो । ‘सचेतीकरण धेरै भइसक्यो, अब एक्सनमा जानुपर्दछ, फोहोर गर्ने अधिकार कसैलाई छैन, नगरबासीहरु गैरजिम्मेवार बन्न मिल्दैन ।’ डिसीले भन्नुभयो ।
घरदैलो अभियानमा जिल्ला प्रशासन, वडा अध्यक्षहरु, होटल व्यवसायी, सरसफाई अभियन्ता, नगर प्रहरी सहित वडा नम्बर ८ का वडा अध्यक्ष रजनिश बाजपेयी (विवेक), वडा नम्बर ९ का वडा अध्यक्ष गोविन्द रेग्मी, वडा नम्बर १० का वडा अध्यक्ष श्रवणकुमार श्रेष्ठ, नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटी लगायत सहभागी हुनुभएको थियो ।
तस्बिर,,,,,,








