बाँके । कोहलपुर नगरपालिका–१५ चौधरियामा कालोपत्रे उप्काएर नयाँ अस्फाल्ट पिच (गुणस्तरीय पक्की बाटो) बनाइएको छ । निर्माण भइरहेको उक्त सडकको अनुगमन गर्दा गुणस्तरीय नबनेको पाइएकाले अनुगमन समितिको निर्देशनपछि आईतबार कालोपत्रे उप्काएर नयाँ अस्फाल्ट पिच (गुणस्तरीय पक्की बाटो) बनाईएको हो ।
कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुवेदीसहितको अनुगमन टोलीले कालोपत्रे गुणस्तरीय नभएको भन्दै कालोपत्रे उघारेर नयाँ अस्फाल्ट पिच बनाउन सडक निर्माण गर्ने निर्माण कम्पनीलाई सुधार्न निर्देशन दिनुभएको थियो ।
‘पूर्वाधार निर्माणका कामहरूको अनुगमन गर्ने क्रममा वडा १५ को निर्माणाधीन सडकको कोरकटिङ गरी कालोपत्रेको विटुमिन परीक्षण हेर्दा मापदण्ड अनुसार काम भएको नपाईएपछि कालोपत्रे उप्काएर नयाँ अस्फाल्ट पिच बनाउन निर्देशन दिएकी थिएँ ।’ सुवेदीले भन्नुभयो,‘अहिले बल्ल सडक सडक जस्तो भएको छ ।’
उपप्रमुख तथा अनुगमन समिति संयोजक सुवेदीले तत्काल निर्माण कम्पनीलाई एक हप्ताभित्र मापदण्डअनुसार पुनः कालोपत्रे गर्न निर्देशन दिनुभएको थियो ।
कोहलपुर नगरपालिकाको ४७ लाख ४६ हजार २ सय ३४ रुपियाँको लगानीमा ‘बरको रुख अगाडिदेखि चौधरिया चोक’ सम्मको चारसय मिटर सडक कालोपत्रे गर्नेगरी खुसी विल्डर्सले ठेक्का लिएको थियो ।
साढे पाँच मिटर चौडाइ भएको उक्त सडकको बायाँतिरको करिब डेढसय मिटर खण्ड भत्काएर पुनः कालोपत्रे गरिएको योजना शाखा प्रमुख हरि वलीले बताउनुभयो । कोहलपुर नगरपालिकाको लागतमा निर्माण भएका योजनाको गुणस्तरीयता कायम राख्न अनुगमनलाई प्रभावकारी बनाइएको योजना शाखा प्रमुख वलीको भनाई छ ।
उपभोक्ता समितिबाट निर्माण हुने पाँच लाखभन्दा बढीका आरसीसी नालामा पनि समितिले क्युव टेस्ट सुरु गरेको छ । मसला र सरियाको गुणस्तरीयता जाँच गर्न क्युव टेस्ट गर्ने गरिएको अनुगमन समितिका सदस्य नरेश वान्तवाले बताउनुभयो । करिब डेढसय मिटर कालोपत्रे उप्काएर निर्माण कम्पनीले एक हप्तामै पुनः कालोपत्रेको काम पूरा गरेको छ ।






