बाँके । बाँके प्रहरीले ६ तोला सुन बरामद गरेको छ । बुधबार नेपालगञ्ज उपमहानगरपलिका १० साझा चोकस्थित चारबाहीनीबाट जमुनाह तर्फ जाँदै गरेको भारतीय नागरिकको साथबाट ६ तोला सुन बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।
बाँके प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षम नारायण डाँगीले भारतको बाबागञ्ज बस्ने ४० वर्षिय बब्लु भन्ने सञ्जय कुमार सोनीको साथबाट प्रहरीले सुन बरामद गरेको बताउनुभयो । सोनीले चलाएको यूपी ४० एयू ४१९९ नं. को मोटरसाईकल चेकजाँच गर्दा ६ तोला सुन भेटिएको डिएपी डाँगीले बताउनुभयो ।
प्रहरीका अनुसार बरामद गरिएका गहना मध्य मिनी हार दुईथान, मसिनो सिक्रि एकथान, नथिया ठूलोसानो दशथान, लकेट एकथान, कानमा लगाउने चारथान, औंठी एकथान गरी ६ प्रकारका गहना बरामद गरिएको छ । नेपालगञ्ज सुनचाँदी व्यवसायी संघ बाँकेले प्रमाणीत गरेको उक्त गहनाको जम्मा तौल ७० ग्रामको रहेको छ भने बजार मूल्य ६ लाख ७८ हजार एकसय ५८ रुपैंया रहेको बाँके प्रहरीले जनाएको छ ।
सुनका गहनासँगै सोनीका साथबाट एउटा सुपर स्पिलिन्डर मोटरसाईकल, स्यामसंग कम्पनीको एकथान ट्याब, कानमा लगाउने ५४ जोड टप र कानमा लगाउने बेरुवा बाली ३१ जोर बरामद गरी थम कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाईएको प्रवक्ता डाँगीले बताउनुभयो ।






