बाँके । बाँकेका दुईवटा पीउने पानी उद्योग शिल गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेद्धारा गरिएको बजार अनुगमनमा मापदण्ड विपरीत काम गरेको भन्दै नेपालगञ्जमा सञ्चालित दुईवटा पीउने पानी उद्योग शिल गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङको नेतृत्वमा नेपालगञ्ज वडा नं. ११ मा रहेको रारा प्रोसेसिंग ड्रिंकिंग वाटर इन्डस्ट्रिजको अनुगमन गर्ने क्रममा सरसफाइको न्युनतम मापदन्ड पूरा गर्न नसकेको पाईएको हुनाले अनुज्ञा पत्र नलिंदासम्म उत्पादन रोक्का शिल गरिएको हो ।
उहाँका अनुसार उक्त ईन्डस्ट्रिजबाट वितरण गरिने पानीको पुराना २२ वटा जार नस्ट गरिएको छ । यसका सौ उक्त पानी उद्योगलाई नगद २० हजार जरिवाना पनि गराईएको छ ।
जिल्ला प्रशासन कार्यालयसँगै बाँकेका सरोकारवाला निकायहरुको सहभागितामा गरिएको उक्त अनुगमनमा एके ड्रिंकिंग वाटर ईन्डस्ट्रिलाई सुरक्षित पानी उत्पादन सुनिस्चित नगरिएको हुँदा उक्त उद्योगलाई शिल गरिएको छ । एके उद्योगले उत्पादनमा प्रयोग गर्ने पानी र उत्पादन भएको पानीको छुट्टाछुट्टै नमुना परिक्षणका लागि संकलन गरिएको छ ।
त्यसैगरी न्यु सगरमाथा पानी उद्योगमा अनुगमन गर्दा बिल बिना कारोवार भएको पाईएकोले पाँच हजार जरिवाना गरिएको छ । यसैगरी खानेपानी संस्थानबाट बितरण हुने पानीको नमुना परिक्षणका लागि संकलन गरिएको छ भने नगरक्षेत्र भित्रको १ वटा ह्याण्ड पम्पको पानीको समेत नमुना संकलन गरिएको सप्रजिअ गुरुंगले बताउनु भएको छ ।






