बाँके । मंसिरः लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले नेपालगञ्जमा रहेको लुम्बिनी प्रदेश प्रहरी अस्पताल ५० शैयाको बन्ने बताउनु भएको छ । हाल १५ शैयामा सञ्चालित उक्त अस्पतालको बुधबार अनुगमन गर्दै मुख्यमन्त्री चौधरीले यही आर्थिक वर्षमा नै थप ३५ शैया थपेर ५० शैयाको अस्पताल बनाउने बताउनु भएको हो ।
मुख्यमन्त्री चौधरीले भन्नुभयो,‘अस्पतालको सेवा सुविधालाई अझैं चुस्तदुरुस्त बनाएर बिरामीलाई सहज तरिकाले सेवा प्रवाह गर्नका लागि यसै आर्थिक वर्षमा नै थप ३५ शैयाको बेड थप गर्न पहल गर्नेछु ।’ उहाँले भन्नुभयो,‘५० शैयाको अस्पता बनाउन खासै समस्या छैन । आवश्यक कागजातको प्रकृयामा प्रदेशमा पठाई दिनुस्, म त्यसलाई स्वास्थ्यमन्त्रालय समक्ष पेश गर्नेछु ।’
प्रदेश प्रहरी अस्पतालका निर्देशक तथा प्रहरी वरिष्ठ उपरीक्षक डा अमिनकुमार श्रेष्ठले मुख्यमन्त्री चौधरीलाई अस्पताल अनुमगन गराउनु भएको थियो । सोही क्रममा डा श्रेष्ठले अस्पतामा आवश्यक भौतिक संरचनाका साथै निर्माणाधिन भवनहरुको बारेमा पनि जानकारी गराउनु भएको थियो ।
वि.सं. २०५५ सालमा स्थापना भएको उक्त प्रदेश प्रहरी अस्पतालले लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई समेत सेवा दिँदै आईरहेको छ । प्रदेश अन्तर्गतका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरुका परिवार र भूपू प्रहरीलाई समेत लामो समयदेखि उपचार सेवा प्रदान गर्दै आएको डा श्रेष्ठले बताउनुभयो ।
मुख्यमन्त्री समक्ष उहाँले प्रदेश प्रहरी अस्पताललाई तीनवटै प्रदेशको स्वास्थ्य उपचारको ‘हब’ बनाउने योजना रहेको पनि जानकारी गराउनुभयो । अस्पताल भित्रका प्रहरी विभागका प्रहरी चिकित्सकले नै सेवा दिँदै आईरहेका छन् ।
छालाको रोग, स्त्री रोग, सर्जरी र मानसिक रोगको उपचारका लागि भने बाहिरबाट चिकित्सक बोलाएर सेवा दिँदै आएको डा.श्रेष्ठले बताउनु भयो । चौबीस घण्टा आपत्कालीन सेवामा रहेको उक्त अस्पतालले ल्याब, एक्सरे र फिजियो थेरापी सेवा प्रदान गर्दै आएको छ ।
तस्बिर,,,,


















