बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सामाजिक सुुरक्षा योजना अविलम्ब कार्यान्वयन गर्न अनुरोध गर्नु भएको छ । सोमबार बाँकेको नेपालगञ्जमा छैठौं सामाजिक सुरक्षा दिवस २०८० को अवसरमा प्रमुख विष्टले नीजी क्षेत्रले सामाजिक सुरक्षाको जिम्मेवारी बहन गरेपनि सरकारी निकायले अझैं कार्यान्वयन नगरेको बताउँदै उक्त योजना अविलम्ब कार्यान्वयन गर्न अनुरोध गर्नु भएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले दुःख र शोषणमा परेका श्रमिकका संरक्षणका लागि राज्यले सामाजिक सुरक्षा योजना संचालनमा ल्याएको बताउनुभयो । प्रजिअ पोखरेलले राज्यद्धारा सञ्चालनमा ल्याईएका सामाजिक सुरक्षाका विविध कार्यक्रमहरु अझैं प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन आवश्यक रहेको औंल्याउनुभयो ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त मल्लले (अन्टुप) ले संगठन नबनेका ठाउँहरुमा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन हुन कठीन भएको बताउँदै सरकारले नीतिगत कार्यक्रमको आयोजना गरेर योजना लागू गर्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले सामाजिक सुरक्षाको कार्यक्रमहरु नीजि क्षेत्रमा लागू भएपनि त्यसले पुर्णता नपाएको बताउनुभयो । अध्यक्ष मल्लले सरकारी कर्मचारीहरु नै सामाजिक सुरक्षा कोषमा असुरक्षित रहेको जिकीर गर्दै सरकारलाई यस विषयमा गम्भिर हुन आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा ट्रेड युनियन कांग्रेसक याम बहादुर खड्रकाले सामाजिक सुरक्षा कोषबाट कर्मचारीहरुलाई क्रृण लिने व्यवस्था भएकाले यो कोष निकै प्रभावकारी भएको बताउँदै यो कोषका बारेमा धेरैलाई जानकारी नभएको जिकीर गर्नु भएको थियो । उहाँले नागरिकको सम्पुर्ण सुरक्षाको जिम्मेवारी र ग्यारेन्टि लिने सामाजिक सुरक्षाका विषयमा जनचेतना मूलक कार्यक्रमको योजना बनाउन सम्बन्धित पक्षलाई सुझाव दिनु भएको थियो ।
घरेले तथा साना उद्योग बाँकेका अध्यक्ष मधुु खड्काले लगानीको सुरक्षा राज्यले गरे मात्र श्रमिकको सुुरक्षा सुनिश्चित हुने बताउनुभयो । उहाँले ठूला र साना उद्योगको लगानी हेरेर मात्र सामाजिक सुरक्षाको प्रत्याभूति गर्न सकिने बताउँदै लगानीको सुरक्षामा राज्य गम्भिर हुनु पर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
आश्रित परिवारका तर्फबाट पुष्पा चन्दले नियमित रुपमा सामाजिक सुरक्षा कोषबाट पैसा पाएको बताउनुभयो । गत वर्षको पौष महिनामा सुर्खेतबाट कोहलपुर फर्कदैं गर्दा दुर्घटनामा परी श्रीमानको निधन भएपछि उहाँलाई श्रीमान कार्यरत रहेको चेतना सहकारी संस्थाले नै सामाजिक सुरक्षा कोष मार्फत उक्त रकम पाउनका लागि सहयोग गरेको बताउनुभयो ।
बाँकेको बैजनाथ ४ विकासनगरकी पुष्पाले अहिले आफुले पाउने ६० प्रतिशत र नाबालग सन्तानले पाउने ४० प्रतिशत गरी मासिक ३५ हजार पाउने गरेको बताउनुभयो । श्रीमानको मृत्यु पश्चात सामाजिक सुरक्षाबाट प्राप्त रकमले नै आफुहरुलाई जीविको पार्जन गर्न सहज भई रहेको उहाँको भनाई थियो ।
पुष्पाले जस्तै श्रीमानको निधन पश्चात सामाजिक सुरक्षा रकम नियमित पाई रहनु भएको छ हाँसकौरा शाहीले पनि । हाँसकौराको श्रीमान कोहलपुर स्थित मेडिकल कलेजमा कार्यरत हुनुहुथ्यो । हृदयघातबाट श्रीमानको मृत्यु भएपछि उहाँले आफु र आफ्नो एक नाबालिग छोरी गरी मासिक ३३ हजार सामाजिक सुरक्षा रकम पाएको बताउनुभयो ।
सामाजिक सुरक्षा कोषका मेडिकल अधिकृतथ डाकटर सचित कुमार भण्डारीको अध्यक्षतामा छैठौं सामाजिक सुरक्षा दिवस २८० को वार्षिकोत्सव मनाईएको थियो ।






