रुपनी जि एम, बाँके । विद्यार्थीहरुलाई खेलकुदद्धारा मनोरञ्जन, अनुशासन, स्फुर्ती लगाएत शारिरीक र मानासिक क्षमताको अभिवृद्धि गर्ने उद्येश्यले इम्प्यानल्ड रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । श्री बज्रदल गणको आयोजनामा नेपाली सेनासँग ईम्प्यानल भएका बाँके र बर्दियाका १५ ओटा विद्यालयहरुको दोश्रो रानिङ शिल्ड तथा सैनिक प्रदर्शनी २०८० प्रतियोगिता शनिबार नेपालगञ्ज व्यारेक हाताभित्र शुरु गरिएको हो ।
खेलकुदको माध्यमबाट भविष्यमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न खेल र खेलाडीको स्तर अभिवृद्धि गर्दैे श्री बज्रदल गणको जिम्मेवारी क्षेत्र भित्र रहेको बाँके जिल्लामा १२ र बर्दिया जिल्लामा ५ गरी जम्मा १७ वटा विद्यालयहरु सेनासँग इम्प्यानल्ड भई सञ्चालन भईरहेका छन् ।
हिजोदेखि शुरु भएको उक्त खेलमा बाँके जिल्लाबाट ११ र बर्दिया जिल्लाबाट ४ गरी जम्मा १५ विद्यालयहरुको सहभागिता रहेको बज्रदल गणका गणपति एवं नेपाली सेनाका प्रमुख सेनानी रवीन श्रेष्ठले जानकारी दिनुभयो । उदघाटन सत्रको प्रमुख अथितिका रुपमा रहनु भएका श्री नंं ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका बाहिनीपति सहायक रथी प्रकाश थापाले खेल र खेलाडीको स्तर अभिवृद्धि गर्दैे र ईम्प्यानलड रनिङ्ग शिल्ड प्रतियोगिताको छवि देशव्यापी रुपमा उच्च राख्ने उद्धेश्यले गत बर्षदेखी नेपाल आर्मी इम्प्यानल्ड स्कूल रनिङ्गशिल्ड प्रतियोगिताू संचालन गरिएको बताउनुभयो ।
बाहिनीपति सहायक रथी प्रकाश थापा र इम्प्यानल्ड स्कुल रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालक समितिका अध्यक्ष किशन गुरुंगले संयुक्त रुपमा पानसमा दियो बालेर प्रतियोगिताको उदघाटन गर्नु भएको थियो । सहायक रथी थापाले उत्कृष्ट खेलाडीका प्रतिभाहरुलाई पहिचान गर्दै प्रोत्साहन गर्नका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न, खेललाई अझ प्रतिस्प्रर्धी बनाउन इम्प्यानल्ड रनिङ्ग शिल्ड प्रतियोगिता प्रभावकारी हुने बताउनुभयो ।
प्रतियोगितामा शैक्षिक कार्यक्रमहरुको व्यवस्थापन, पहुँच र प्रभावकारिता बृद्धि गर्न इम्प्यानल्ड विद्यालयको अवधारणा अनुरुप नेपाली सेनाका सैनिक हिताधिकारीहरुका सन्ततीलाई कक्षा ४ देखि कक्षा १२ सम्म अध्ययन सुविधा उपलब्ध गराउन सैनिक कल्याणकारी कोषले शैक्षिक सत्र २०७६ सालबाट नेपाली सेनाका सन्तानलाई आफनो स्थानीय तहमा रहेका विद्यालयहरुसंग इम्प्यानल्ड गरी सहुलियत शुल्कमा अध्ययन सुविधा प्रदान गराउँदै आईरहेको छ ।
इम्प्यानल्ड विद्यालयहरु र अभिभावहरुसँग समय समयमा हुने यस गणको समन्वयात्मक बैठक तथा अन्तरक्रियाहरुमा खेलको विधाहरुमा थप गरी धेरै विद्यार्थीहरुले सहभागिता गर्ने गरी दोस्रो रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गराउँदा उपयुक्त हुने राय अनुसार यस बर्ष फुटबल बाहेक महिला भलिबल र १०० मि. दौड ५, ७ र ८, १० कक्षाका छात्र छात्राहरुलाई समावेश गरी २ समुहमा प्रतियोगिता संचालन भईरहेको गणपति श्रेष्ठले बताउनुभयो ।
इम्प्यानल्ड विद्यालयहरुबीच गत बर्ष फुटबल खेलको आयोजना गरी प्रथम रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न गरिएको थियो । नेपालगंज ईमामनगर ब्यारेक हाताभित्र सञ्चालन भईरहेको उक्त प्रतियोगिता १२ गते समापन हुनेछ । उक्त खेलकुद (फुटबल, भलिबल र दौड) प्रतियोगिताको अन्तिम दिन १० वटा स्टलमा नेपाली सेनासँग सम्बन्धित विविध विषयवस्तु समेटी सैनिक प्रदर्शनी आयोजना गरिने छ ।
तस्बिर…….






















