बाँके । जाजरकोट र रुकुम (पश्चिम) का भूकम्प पीडितका लागि बाँकेको बैजनाथ गाउँपालिकाले राहत सामाग्री स्वरुप त्रिपाल र ब्ल्यांकेट उपलब्ध गराएको छ । गाउँपालिकाले तत्कालका लागि २ लाख ५० हजार बराबरको राहत सामाग्री स्वरुप त्रिपाल र ब्ल्यांकेट जिल्ला विपद ब्यवस्थापन समिति बाँकेलाई हस्तान्तरण गरेको हो ।
विपद ब्यवस्थापन समितिका संयोजक एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय र सूचना अधिकारी तप्तराज आचार्यले २५ थान ठुलो साईजको त्रिपाल र १ सय थान ब्ल्यांकेट हस्तान्तरण गर्नु भएको हो ।
नेपालगन्ज विमानस्थल परिसरमा स्थापना गरिएको अस्थायी गोदाम घरमा उक्त राहत सामाग्री राखिएको छ । राहत सामाग्री हस्तान्तरण गरिसकेपछि अध्यक्ष शाहीले भूकम्पले जनताको ठुलो जनधनको क्षति भएकाले मानवीय धर्म अनुसार बैजनाथले तत्कालका लागि त्रिपाल र ब्ल्यांकेट सहयोग गरेको बताउनुभयो ।
‘तत्काल राहत उपलब्ध गराउनु पर्छ भनेर हामीले विपद समिति छ, त्यो समितिमा हामीले यस्ता अकस्मात कोषहरु चाही ब्यवस्थापन गरेर राखेका हुन्छौं ।’ उहाँले भन्नुभयो,‘त्यही कोषबाट हामीले तत्काल २ लाख ५० हजार बराबरको ठुलो त्रिपाल २५ थान र डबल लेन भएको ब्ल्यांकेट १ सय थान उपलब्ध गराएका छौं ।’
पालिका अध्यक्ष शाहीले आगामी दिनमा औषधी प्याकेज बनाएर सहयोग गर्ने बताउनुभयो । ‘तत्कालका लागि भौतिक संरचना बनाउन नसकिने अवस्थामा त्रिपाल र ब्ल्यांकेट आवश्यक पर्ने भएको हुँदा सहयोग गरेका हौं ।’ अध्यक्ष शाहीले भन्नुभयो,‘आगामी दिनमा हामीले औषधी पनि पठाउने तयारी गरेका छौं ।’
बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले पहिलो चरणमा घाइतेको उपचार सफलता पूर्वक गरिएको र अब दोस्रो चरणमा राहत संकलन गरेर पठाउने काम सुरु भएको बताउनुभयो । ‘दुई वटा कुरामा बाँके प्रशासनले आफ्नो जिम्मेवारी निर्वाह गर्ने मौका पायो, एउटा घाइतेको उपचार । त्यो उपचार सफलता पूर्वक चलिरहेको छ ।’
उहाँले भन्नुभयो,‘अब दोस्रो फेजमा हामी यहाँबाट राहतहरु संकलन गरेर राहत प्याकेजहरु प्रभावित जिल्लामा पठाउँदैछौं ।’ प्रजिअ पोखरेलका अनुसार राहत सामाग्री हस्तान्तरण गर्नेमा बैजनाथ गाउँपालिका जिल्लाकै पहिलो गाउँपालिका भएको छ ।






