रुपनी जि एम, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १३ बुलबुलिया स्थित मसानघाट टोलमा विगत ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आई रहनु भएको छ मोहम्मद आमिनले । उमेरले पचास नाघि सक्नु भएका मोहम्मदले आफ्ना बाबु र बाजेबाट माटाका भाँडा बनाउन सिकेको बताउनुहुन्छ ।
८ वर्षको उमेर देखि नै बाजेसँगै माटो मुछेर जानी नजानी भाँडाको आकार दिन शुरु गर्नु भएको मोहम्मदले बुवाबाट भाँडालाई व्यावसायिक आकार दिन सिकेको बताउनुभयो । माटोसँग मोहम्मदको सम्बन्ध सानैदेखि गाँसिएको हुनाले माटोसँगको सम्बन्धलाई नंग मासुको सम्बन्ध भन्न रुचाउनु हुन्छ मोहम्मद ।
‘बाबा र बाजे दुवैलाई पच्छाउँदै माटो बोक्न जान्थें म । माटोसँग उहाँहरु खेलेको देखेर मैले पनि माटोसँगै खेल्न सिकें । सानै उमेरदेखि माटोसँग खेल्दै, माटोलाई मथ्दै र आफुले चाहेको आकार दिंदै हुर्किएको हुनाले माटोसँगको मेरो सम्बन्धलाई नंग मासुको सम्बन्ध भन्न रुचाउँछु म ।’ मोहम्मदले विगत सम्झिंदै माटोसँग गाँसिएको कथा सुनाउनुभयो ।
बाउ बाजेले नै माटोको भाँडा बनाउँदै बेचेर कमाएको पैसाले परिवार पाल्दै आएको देखेर आफुलाई पनि माटोकै भाँडा बनाउन रुचि जागेको बताउनुहुन्छ मोहम्मद । ‘जे सिकायो त्यही सिक्ने त हो । मेरो बाउ बाजेले मलाई माटोकै भाँडाकुँडा बनाएर बेच्न सिकाउनुभयो आज मैले त्यही सिकेको छु र मेरा छोराछोरीलाई पनि त्यही नै सिकाएको छु ।’
उहाँले भन्नुभयो,‘माटोको भाँडा बनाउने हाम्रो पेशा थिएन र बाजेको पालादेखि यही गर्दै आएको हुनाले आज हाम्रा लागि यो पेशा बनेको छ ।’ मोहम्मदका अनुसार विगतका वर्षभन्दा यस वर्षको दशैंतिहारमा माटाका भाँडाहरुबाट खासै फाईदा हुन सकेन । अघिल्लो वर्षमा पन्ध्र सोह्र हजारसम्म मुनाफा भएको माटोको भाँडाबाट यस वर्ष जम्मा पाँच छ हजारको आम्दानी भएको मोहम्मदले बताउनुभयो ।
‘पोहर सालको दशैं तिहारमा हामीले पन्ध्र सोह्र हजार फाईदा गरेका थियौं । यस वर्ष त भन्न पनि लाज लाग्छ । जम्मा पाँच छ हजारको आम्दानीले कसरी वर्षभरीको खर्चको जोहो गर्न सकिन्छ ?’ निरास हुँदै उहाँले यस वर्षको दशैं तिहारको व्यापारमा भएको घाटाको कथा सुनाउनुभयो ।
मोहम्मदका सात परिवार माटोको भाँडाबाट हुने कमाईमै भर पर्दछन् । माटो र माटो पकाउनलाई चाहिने भुस ओसार्नका लागि मोहम्मदले तीन ओटा घोँडा पाल्नु भएको छ । ती तीनै ओटा घोँडाको खर्च पनि त्यही माटोकै भाँडाबाट कामाईने पैसाबाट जोहो गर्ने मोहम्मद बताउनुहुन्छ ।
‘सात जनाको परिवारसँगै तीन वटा घोँडाको खर्च पनि यीनै भाँडा बिक्रि गरेर जोहो गर्नुपर्छ । भाँडाका व्यापार अघिल्ला वर्षहरुको तुलनामा घट्दै गईरहेको छ ।’ उहाँले भन्नुभयो,‘यो वर्ष त ह्वात्तै घट्यो । यस्तै हो भने हाम्रो यो पेशा धरापमा नपर्ला भन्न सकिंदैन ।’
मोहम्मदले जस्तै माटोको भाँडा बेचेर कमाएको पैसाले ६ जनाको जीवन धान्दै आईरहनु भएको छ सुफिया कसगरले पनि । सुफियाले माटोको भाँडा बनाउन सासुबाट सिकेको बताउनुहुन्छ । नेपालगञ्ज उपमहागनर पालिका वडा नं. ५ स्थित मसानघाट टोलकी सुफियाले आफुसँगै आफ्ना दुई छोरीलाई पनि माटोबाट भाँडा बनाउन सिकाउनु भएको छ ।
पुख्र्यौली पेशालाई जोगाउन सुफियाले माटोका भाँडा बनाएर बेच्ने गर्नुहुन्छ । माटोको भाँडाबाट हुने आम्दानी र मुनाफाका विषयमा मोहम्मदको भन्दा फरक छैन सुफियाको पनि भनाई । गत वर्षको दशैं तिहारमा साढे तेह्र हजारको व्यापार गर्नु भएकी सुफियाले दश हजारको मुनाफा कमाएको बताउनुभयो ।
तर यस वर्ष भने जम्मा पाँच हजार जतिको मुनाफा भएको उहाँको भनाई छ । मोहम्मदको जस्तै सुफियाको पनि तीन पुस्तादेखि नै माटोको भाँडाले उहाँहरुको जीवन धानिंदै आईरहेको छ । तर पछिल्लो समय व्यापार राम्रो नभई दिंदा आम्दानी घट्दै गएको हुनाले पेशाको चिन्ता त छँदै छ साथसाथै परिवारको गुजारा कसरी गर्ने भन्ने चिन्ताले सताउन थालेको सुफिया बताउनुहुन्छ ।
‘हामीले जानेको काम भनेकै माटोको भाँडा बनाएर बेच्ने हो । तर यस्को व्यापार बढ्नुको साटो घट्दै गईरहेको छ ।’ उहाँले भन्नुभयो,‘आफुसँगै आफ्ना पुस्ताको चिन्ता लागी रहेको छ ।’ सुफियाले यसै वर्षको दशैं तिहारका लागि भनेर एक ट्रली माटोको भाँडा बनाउनु भएको थियो । तर उहाँले सोंचे जस्तो मुनाफा हुन सकेन ।
बुलबुलिया स्थित मसानघाट टोलमा माटोको भाँडा बनाउने कसगरहरु झण्डै २१ घरपरिवारका छन् । तीन पुस्तादेखि नै माटोको भाँडा बनाउँदै र बेच्दै गरेका कसगरहरुले यो पेशालाई पुख्र्यौली पेशाका रुपमा चिनाउँदै आईरहनु भएको छ । कसगरका अहिलेका पुस्ताहरुले पनि यही पुस्तैनी पेशालाई अँगाली रहनु भएको छ ।
पहिला मनग्य आम्दानी हुँदै आएको उक्त पेशा कोभिड १९ पछि भने ओरोला लाग्दै गएको कसगरहरुको भनाई छ । माटोको भाँडा बनाउनलाई कसगरहरु बाँकेको कम्दी स्थित कट्लिया गाउँबाट माटो ल्याउने गर्नुहुन्छ । एक ट्रली माटोको मूल्य साढे चार हजार पर्ने गर्दछ ।
मोहम्मद र सुफियाको जस्तै पप्पु कसगरको पनि आफ्ना सात जना परिवारको साँझ बिहानको छाक माटोको भाँडामा नै भर परेको छ । उमेरले झण्डै चार दशक नाघि सक्नु भएका पप्पुको भने चार पुस्ताले यो पेशालाई अँगाल्दै आईरहनु भएको छ । पप्पुको सात जना परिवार मध्य छोराले फुर्सदमा ज्यालादारीको काम गर्ने गर्नुहुन्छ ।
तर माटोको भाँडा बनाउने समयमा परिवारलाई सघाउने उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘फुर्सदको समयमा छोराले ज्याला मज्दुरी गर्ने गर्छ र तर जब माटो मुछेर भाँडा पकाउनु पर्ने हुन्छ त्यतिखेर छोराले पनि ज्यालामज्दुरीको काम छाडेर हामीसँगै माटोको भाँडा बनाउन सहयोग गर्छ ।’
एक ट्रली माटोको मूल्य चार हजार तिर्दै आएका कसगरहरुले यसै वर्षदेखि माटोको मूल्य बढेर साढे चार हजार तिरेको पप्पु, मोहम्मद र सुफियाले बताउनुभयो । उहाँहरुका अनुसार माटो विक्रि गर्ने साहुले यसै वर्षदेखि माटोको मूल्य बढाएपछि साढे एक ट्रली माटोको मूल्य साढे चार हजार भएको हो ।
काँचो माटोको भाँडा तयार भईसकेपछि पकाउनलाई भुस, गोबरको गुईँठा र दाउराको प्रयोग गर्ने गरिन्छ । ‘पहिला पहिला गोबरको गुईँठामा भाँडा पकाईन्थ्यो तर अहिले पशुाचौपाया पाल्न छाडेको हुनाले गोबर पनि पाउन छाडेको छ ।’ सुफियाले भन्नुभयो,‘हिजोआज गोबरको साटो धानको भुस अथवा दाउरामा माटोको भाँडा पकाएर तयार गर्ने गर्छौं ।’
एक क्वीन्टल दाउरालाई हजार रुपैँया पर्दछ । माटोको भाँडा तयार गर्नलाई दुई पटक पकाउनु पर्ने हुन्छ । धानको भुस पनि पाईन हम्मेहम्मे पर्न थालेको हुनाले कसगरहरु प्रायः दाउरामा नै माटाका भाँडा पकाउने गरेको सुफियाको भनाई छ ।
दुई रुपैँयादेखि दुईसय पचास सम्म मूल्य पर्ने माटोका भाँडाहरुमा बत्ति बाल्नलाई प्रयोग गरिने दियो, दही जमाउने आरी, खुतुर्के, पानी राख्नलाई प्रयोग गरिने गाग्री, घैंटो, सुराही (पानी चिसो बनाउनलाई प्रयोग गरिने भाँडा) लगाएत अन्य भाँडाकुँडा बनाईन्छन् ।
माटाका भाँडाहरु सुकाउन नमिल्ने र भिज्ने भएको हुनाले वर्षाको मौसममा चार महिना कसगरहरुले भाँडा बनाउनु हुँदैन । त्यो चार महिनामा मात्रै उहाँहरु दैनिकी रुपमा ज्याला मज्दुरीको काम गरेर साँझ बिहानको छाकको जोहो गर्ने गर्नुहुन्छ ।
तस्बिर…….










