रुपनी जि एम, बाँके । जमुना बुढा मगर । उमेरले भर्खर उन्नाईस वर्ष लाग्नु भएको छ । तर भूकम्पले उहाँको श्रीमान र पेटमा हुर्कंदै गरेको आठ महिने गर्भे शिशुलाई लग्यो । मृतक श्रीमान र बच्चाको वियोगमा उहाँ एकोहोरी रहनुहुन्छ । टोलाई रहनुहुन्छ ।
नलगाढ नगरपालिका छ भारगाउँकी जमुनाकोे शुक्रबार राति गएको भूकम्पले संसार नै अँध्यारो बनाएको छ । भूकम्प पीडितका व्यथा सबैको एउटै हो तर जमुनालाई भने आफ्नो व्यथा अरुकोभन्दा धेरै गहिरो लागेको छ । जमुनाले आफ्नो जीवनसाथी र गर्भमा हुर्किंदै गरेको शिशुलाई गुमाएको आज चारदिन भयो । यो चारदिनमा जमुनाको पनि होस पुर्ण रुपले फर्किएको छैन । जीवनसाथी र गर्भे बच्चालाई गुमाउँदाको पीडाले जमुनालाई एकोहोरो बनाएको छ ।
एकसुरमा कहिले राम्रै बोल्नुहुन्छ जमुना त कहिले बोल्दै बोल्नुहुन्न । बोलेपनि निकै कम बोल्नुहुन्छ । जतिखेरै पेट मसार्दै गर्भमा रहेको बच्चालाई सुम्सुम्याउनु हुन्छ जमुनाले । छोरीको त्यो हालत देखेर छोरीको रेखदेखका लागि एकछेऊमा बसेर आमा पवित्रा भने छोरीले थाहा नपाउने गरी पच्छेउराले मुख छोपेर भक्कानिहुन्छ ।
‘नानीलाई उस्को पेटको बच्चा नरहेको कुरा हामीले ऊ होसमा आएपछि सुनार्यौं । उस्लाई थाहा छ । तरपनि उस्ले आमा मेरो नानीलाई ठिकै त छ नि भन्दै पेट मर्साछे ।’ आमा पवित्राले भन्नुभयो,‘एक्लै एक्लै आफैसँग कुरा गर्छे । कहिले राम्रै बोल्छे कहिले बोल्दै बोल्दिन ।’ भूकम्पको पीडाले बेहोसी छोरीको होस फर्किएपनि सुरमा कुर नगरेको देख्दा आमालाई छोरीको चिन्ताले सताईरहेको छ ।
शुक्रबार राति नै भूकम्पमा परी ज्वाई नविन बुढाको घरले च्यापेर मृत्यु भएको भन्ने खबर पाएपछि गर्भवती छोरीलाई उद्धार गर्न सानीभेरी गाउँपालिका नौं रुकुम पश्चिमबाट जमुनाको आमा पवित्रा खड्का मगर र बुवा भागिराम खड्का मगर दुबैजना जाजरकोट जानुभएको थियो ।
छोरीको घरमा पुग्दा छोरी बेहोस नै भएको कुरा बुवा भागिरामले बताउनुभयो । ‘हामीले त ज्वाईसँगै छोरी पनि गुमायौं भन्ने सोचेका थियौं । उस्को पेटको नानीलाई बचाउन नसकिएपनि छोरीलाई भने केही भएको रहेनछ ।’ बुवा भागिरामले भन्नुभयो ।
उहाँका अनुसार छोरी जमुनालाई जाजरकोटबाट नेपाली सेनाको हेलिकप्टरबाट चौरझारीसम्म ल्याएको र त्याहाँबाट नेपालगञ्जसम्म प्लेनमा ल्याएर आईतबार भेरी अस्पतालमा पेट भित्रै मृत्युवरण गरेको शिशुलाई निकालिएको हो । शिशुको अन्तिम संस्कार नेपालगञ्ज स्थित मसान .घाटमा नै गरिएको बुवा भागिरामले बताउनुभयो ।
छोरी उद्धार गर्न जाजरकोट पुग्नु भएका भागीराम र उहाँकी पत्निलाई आफ्नै घरलाई भूकम्पले चर्काएको खबर भारगाउँ पुगेपछि थाहा भएको बताउनुभयो । ‘हामी त ज्वाई रहनु भएन भन्ने सुन्यौं । पेटसित भएकी छोरीको सास छ भन्ने थाहा पाउनासाथ हामी बुढाबुढी छोरी बचाउन जाजरकोट लाग्यौं । त्याहाँ पुग्दै गर्दा बाटैमा थाहा पायौं भूकम्पले हाम्रोपनि घर चर्काएछ ।’
अस्पतालमा छोरीलाई निको बनाएर घर लैजान भनि छोरीको हेरचाह गर्न श्रीमानसँगै आउनुु भएकी आमा पवित्रा भन्नुहुन्छ,‘जस्को भाग्यमा जे भोग्न लेखिएको हुन्छ उस्ले त्यही भोग्नै पर्छ । हाम्रो छोरीको भाग्यमा यस्तै दुःख भोग्न लेखिएको थियो होल आज उस्ले भोग्दै छे ।’ उहाँले भन्नुभयो,‘अब छोरी चाँडै निको भई दिए हुन्थ्यो ।’
आमा पवित्राको भनाई अनुसार जमुनाको अरु सबै स्वास्थ्य अवस्था ठीन भएपनि कहिलेकाहीं पेट र टाउको दुखिरहन्छ । भूकम्प जाँदा जमुनासँगै श्रीमान सासु, नन्द, र दुई अमाज्यूसँगै ६ जना एउटै घरमा खाना खाएर सुतेका थिए ।
भूकम्पले जमुनाको श्रीमान र गर्भे शिशुलाई लगेपनि बाँकी अरु परिवारका सदस्यलाई भने सामान्य चोट लागेको बताउनुभयो आमा पवित्रा मगरले । देवर र ससुरा भने काम गर्न भारत गएको र सोमबार मात्रै अस्पताल भर्ना हुनु भएकी बुहारीलाई भेट्न आएको पनि आमा पवित्राले नै जानकारी दिनुभयो ।
भेरी अस्पतालमा अहिले आएको ४४ जनाको उपचार भई रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताउनुभयो । उहाँका अनुसार भेरी अस्पतालमा भूकम्पमा परी घाईते भएका बिरामीहरु ४७ जनालाई ल्याईएको थियो ।
जस्मा २ जना निको भई घरफर्किएका छन् भने एकजनाको उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो । प्रजिअ पोखरेलले उपचाररत बिरामीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र सोधारोन्मुख हुँदै गईरहेको छ ।






