बाँके । जाजरकोट रामिडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्प प्रभावित क्षेत्रमा पठाउनका लागि नेपालगन्ज स्थित एयरपोर्टको गोदाममा तयारी अवस्थामा खाद्य सामाग्री राखिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले आईतबार भूकम्प प्रभावित क्षेत्रमा पठाउनका लागि नेपालगन्जको गोदाममा तयारी अवस्थामा खाद्य सामाग्री राखिएको बताउनुभयो ।
प्रजिअ पोखरेलले भन्नुभयो,‘शनिबार प्रभावित क्षेत्रमा नेपालगञ्जबाट नेपाली सेनाको हेलिकप्टरमा डक्टरको टोली सहीत औषधी पठाएको हुनाले भोली सोही हेलिकप्टर फर्किएपछि राहत स्वरुप तयारी अवस्थामा राखिएको खाद्य सामाग्री पठाउने छौं ।’ प्रजिअ पोखरलका अनुसार शनिबार बसेको बिपद व्यवस्थापन समितिको निर्णय अनुसार उक्त क्षेत्रमा खाद्य सामाग्री पठाउने निणर्य गरिएको हो ।
खाद्य सामाग्री अन्तरगत चाउचाउ, चामल, चिउरा, बिस्किट, भुजा त्यसैगरी औषधी तथा सर्जिकल समाग्री रहेका छन् । उक्त राहत समाग्रीलाई बाँकेको राप्तिसोनारी गाउँपालिकाको कार्यालय त्यसैगरी रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको बाँके शाखा कार्यालय र अन्सरी ट्रेडर्सले संकलन गरेको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।






