बाँके । जाजरकोटलाई केन्द्रविन्दू बनाएर आएको भूकम्पमा परी घाइते भएकाहरुको उपचार व्यवस्था मिलाउन भेरी अस्पतालले आवश्यक तयारी गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भूकम्पमा परी घाइते भएकाहरुको उपचार व्यवस्था मिलाउन भेरी अस्पतालले आवश्यक तयारी गरेको हो ।
अस्पताललाई प्राविधिक रुपमा पुर्ण तयारी गरिएको प्रजिअ पोखरेलले बताउनुभयो । ‘अस्पताललाई उपचारको लागि डेडिकेटेड अस्पताल बनाईएको छ । ब्याक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरुको आफन्तजनको सहजताको लागि पनि फोकल परर्सन नरेश श्रेष्ठलाई तोकिएको छ ।’ उहाँले भन्नुभयो ।
घाईते बिरामी उपचारकालागि कोहलपुरमा रहेको मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको पनि प्रजिअ पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य निजि अस्पतालहरुलाई पनि तयारी अवस्थामा राखिएको छ । बाँकेमा रहेको भेरी अस्पताल, सैनिक असपताल र प्रहरी अस्पतालको १ सय ५ वटा बेड समेत तयारी अवस्थामा राखिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।
प्रजिअ पोखरलेलका अनुसार हेलिकप्टरबाट ल्याइने बिरामीको लागि रांझा बिमानस्थल र आर्मिको हेलिप्याडमा २ २ वटा एम्बुलेन्स तैनाथ गरिएको गरिएको छ । ब्लडको मौज्दात रहेको बताउँदै अपुग भएमा फ्रेश ब्लड आपुर्तिको लागि रक्त दाता सुरक्षाकर्मिको ब्यवस्था मिलाईएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार उक्त व्यवस्थापन भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाह, अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. पवनजंग रायमाझी, चिकित्सक, स्वास्थ्यकर्मी, नर्स सहितको टोली रहेका छन् । समितिका अध्यक्ष शाहले अस्पतालको नयाँ भवनको भुँईतलामा भुकम्पबाट घाइते बिरामीलाई उपचार गर्न आवश्यकता अनुसार बेड तयारी अवस्थामा राखिएको बताउनुभयो ।
जाजरकोटलाई केन्द्रबिन्दु पारेर शुक्रबार मध्यराती भूकम्प गएको थियो । भूकम्पको धक्का नेपालगन्ज लगायत देशैभरका विभिन्न जिल्लामा महसुस भएको थियो । राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६।४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।






