बाँके । बाँकेको नेपालगञ्जमा आगामी मंसिर नांै गते हुन गईरहेको नवौं धारा म्याराथनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । बिहीबार आयोजक क्रियटिभ ह्याण्ड्सले पत्रकार सम्मेलन मार्फत म्याराथनको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
क्रयटिभ ह्याण्ड्सका संस्थापक अध्यक्ष टिएस ठकुरीले आगामी मंसिर ९ गते हुने म्याराथनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । ‘प्रत्येक वर्ष झैं यस वर्ष पनि म्याराथन प्रतियोगिता हुने भएको छ । यस वर्ष हुने भएको म्याराथनको तयारी लगभग अन्तिम चरणमा पुगेको छ ।’ यस वर्ष म्याराथन राशीमा वृद्धि गर्न लागिएको अध्यक्ष ठकुरीले बताउनुभयो ।
नेपालगञ्ज म्याराथन एसोशियसन अफ ईन्तरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) बाट मान्यता प्राप्त डौद प्रतियोगिता हो । एम्सको प्रमाणिकरण रुट मार्फत नेपालगञ्ज म्याराथनले नेपालकै छैठौं पुरानो शहर नेपालगञ्ज र उदमान शहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।
यस वर्ष अघिल्लो वर्षभन्दा चार विधा थप गरी विभिन्न १४ वटा विधामा प्रतिस्पर्धा समावेश गरिएको छ । प्रतियोगितामा पुरष तर्फ म्याराथन ४२.१९५ किलोमिटर र महिला तर्फ हाप म्याराथनमा २१ किलोमिटर समावेश गरिएको छ ।
बाँकेको हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग अलग दौड प्रतियोगिता (५ किलोमिटर) सञ्चालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको गेटबाट म्याराथनको शुरुवात गरिने छ भने कोहलपुर नगरपालिकादेखि उत्तरमा रहेको वानियाभार पुगेर म्याराथन कोर्स पुरा हुनेछ ।
नेपाल सरकार र तत्कालिन विद्रोही नेकपा माओबादी बीच दशक लामो सशस्त्र द्धन्द्ध विधिवत अन्त्य गर्ने गरी भएको विस्तृत शान्ति सम्झौता २०६३ मंसिर ५ गतेको स्मरणमा विगत ९ वर्षदेखि निरन्तर नेपालगञ्ज म्याराथन आयोजना हुँदै आएको छ ।






