बाँके । बाँकेको कोहलपुर नगरपालिका २ स्थित तेह्र बिघामा बुधबारदेखि शुरु भएको ‘मुख्यमन्त्री गोल्डकप प्रतियोगिता २०८०’ को उद्घाटनमै पेनाल्टी सुटआउटमा ५ ४ गोलले पराजित भएसँगै आयोजक कोहलपुर ‘रेसिङ साहारा क्लब’ उद्घाटन खेलबाटै बाहिरिएको छ । घरेलु मैदानमा ‘ए.पि.पावर चर्च व्वाईज यूनाईटेड’ काठमाण्डौसँग पेनाल्टी सुट आउटमा पराजितसँगै आयोजक ‘रेसिङ साहारा क्लब’ खेलबाट बाहिरिएको हो ।
निर्धारित समयमा दुबै पक्षबाट गोल रहित बराबरी भएपछि पेनाल्टी सुट आउटमा ए।पि।पावर चर्च व्वाईज यूनाईटेडले ‘रेसिङ साहारालाई ५–४ गोलले पराजित गर्यो । निकै प्रतिस्पर्धात्मक उक्त खेलमा दुबै पक्षले गोल गर्ने अवसर गुमाउन पुगेका थिए । रेसिङ साहाराका तर्फबाट खेलेका तीन जना विदेशी खेलाडी खेलेका थिए ।
प्रतियोगिता अन्र्तगत बिहीबार गोर्खा व्वाईज स्पोर्ट्स क्लब बुटवल र सुदुरपश्चिम ११ स्पोर्ट्स क्लब धनगढीबीच प्रतिस्पर्धा हुने खेल संयोजक रामबहादुर मल्लले जानकारी दिएका छन् । प्रतियोगिता ‘नकआउट’ प्रणालीका आधारमा खेलाइएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारासहित सञ्चालन भएको प्रतियोगिता यही कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । रेसिङ साहारा क्लब कोहलपुरले आयोजना गरेको उक्त प्रतियोगितामा विदेशी, विभागिय क्लबसहित ८ वटा क्लब सहभागी भएका छन् ।
उक्त प्रतियोगिताका विजेतालाई ८ लाख र उपविजेतालाई ४ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए । फुटबल अवलोकनका लागि अस्थायी प्यारापिट र पर्खाल निर्माण गरिएको छ । खेल अवलोकन गर्ने दर्शकका लागि आयोजकले यसपटक भने टिकट ब्यवस्था गरिएको छ ।
प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्नु भएको थियो । प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले खेलकुदले एकआपसपमा सदभाव कायम गर्ने बताउनु भएको थियो । मुख्यमन्त्री कोहलपुर गोल्डकपलाई स्थापित गर्न लुम्बिनी प्रदेश सरकारले प्रतियोगितालाई संस्थागत गरी सम्पूर्ण खर्चको व्यवस्थापन गरेर नीतिगत निर्णय गर्ने बताउनु भएको थियो ।






