बाँके । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख तिलक न्यौपानेले बाँकेबासीले पाइप प्रणालीको पिउने पानी सुविधा पाएको बताउनु भएको छ । उहाँले बाँकेमा २८ वटा खानेपानी आयोजना सम्पन्न भई पानी संचालनमा आएको बताउँदै बाँकेबासीले पाइप प्रणालीको पिउने पानी सुविधा पाएको बताउनु भएको हो ।
उहाँका अनुसार आर्थिक वर्ष ०७९÷०८० सम्म बाँकेका ९२ हजार ४ सय २८ (१५ दशमलव ३२) प्रतिशत नागरिकले पाइप प्रणालीको पानी पिउन थालेका छन् । बाँकेमा सवैभन्दा धेरै राप्तीसोनारी गाउँपालिकामा खानेपानी आयोजना निर्माण भई संचालनमा आएका छन् । त्यहाँ २२ वटा आयोजना संचालनमा छन् भने १३ वटा योजना निर्माण पूरा भई पानी वितरण सुरु भएको डिभिजन प्रमुख न्यौपानेले बताउनुभयो ।
उहाँले बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा खानेपानीका चार आयोजना संचालनमा रहेको बताउनुभयो । उहाँका अनुसार नेपउपामा दुई वटा आयोजना पूरा भई पानी संचालनमा आएको छ । बाँकेकै खजुरा गाउँपालिकामा संचालनमा रहेका १० वटा आयोजना मध्य पाँच वटा खानेपानी आयोजनाले पानी वितरण सुरु गरेको डिभिजन प्रमुख न्यौपानेले बताउनुभयो ।
त्यसैगरी कोहलपुर नगरपालिकामा चार आयोजनाले पानी वितरण गरिरहेको छ भने पाँच आयोजना संचालनमा छन् । बैजनाथ गाउँपालिकामा पनि संचालनमा रहेका ६ वटा आयोजना मध्य चार ओटा आयोजनाले पानी वितरण गरिरहेका छन् । सोही अनुरुप बाँकेको जानकीमा गाउँपालिकामा ६, नरैनापुर गाउँपालिकामा ९ र डुडुवामा ५ खानेपानी आयोजना संचालनमा आएका छन् ।
ग्त आर्थिक वर्ष बाँकेमा ६८ वटा खानेपानी आयोजना संचालनमा छन् । बहुवर्षे आयोजना अन्तरत संचालनमा रहेका यी आयोजना मध्ये चालू आर्थिक वर्षमा करिव ४० प्रतिशत सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो,‘बाँकेका २५–३० प्रतिशत नागरिकलाई पाइप प्रणालीको पानी पिउने पहुँचमा पुर्याउने योजना छ । धेरै योजना एकसाथ सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको छ ।
डिभिजन प्रमुख न्यौपानेका अनुसार खानेपानी आयोजनामा जनश्रमदान गर्नुपर्ने प्रावधान भए पनि परिचालन गर्न चुनौती देखिएको छ । कार्यालयले ९० प्रतिशत अनुदान दिने र १० प्रतिशत स्थानीयले जनश्रमदान गर्नुपर्ने प्रावधान भए पनि यस्तो हुन नसकेको डिभिजन प्रमुख न्यौपानेले बताउनुभयो ।






