रुपनी जि एम, बाँके । डा. बिनोद कर्ण पेशाले उहाँ एक प्लाष्टिक सर्जन हुनुहुन्छ । हाल उहाँ बाँके स्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत हुनुहुन्छ । डाक्टरी पेशामा असाध्यै नै व्यवस्त डा. कर्णले समय निकालेर नेपालगञ्ज शहलाई सफा र स्वच्छ राख्ने उद्येश्यले हातमा कुचो र डस्टबीन समातेर सरसफाईका लागि फोहोर थुप्रिएको ठाउँमा पुग्न भ्याई हाल्नुहुन्छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ निवासी डा. कर्ण ‘क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज’ को अगुवाईकर्ता पनि हुन्हुन्छ । पछिल्लो केही दिन यता नेपालगञ्जमा भएको हिन्दु मुस्लिमको दंगाले नेपागञ्ज शहरलाई कुरुप बनाएको थियो । सडकमा बालिएको टाएर, टाएर जलिसकेपछि बनेको कालो बाक्लो धुलोले सडकलाई बनाएको कुरुप, ढुंगा र ईट्टाका स साना टुक्राहरु, बाटैभरी छरप्रष्ट फालिएका पानीका बोतलहरु जस्ता कुराहरुको सरसफाई उहाँकै नेतृत्वमा गरिएको थियो ।
अभियानमार्फत नेपालगन्ज शहर सफा र व्यवस्थित देखियोस् भन्ने उद्येश्यले आफुले यस्तो काम गर्ने गरेको उहाँको भनाई छ । ‘मेरा पेशा बिरामीको ज्यान बचाउनका साथै नेपालगञ्ज शहरलाई फोहोरबाट जोगाउनु पनि हो ।’ उहाँले भन्नुभयो,‘पहिलाको तुलनामा सरसफाईमा धेरै नै जागरुक हुन थालेका छन् । यो आभियानमा मलाई धेरैले साथ दिईरहनु भएको छ ।’
कर्फ्युको समयमा नेपालगञ्जमा कार्यरत सुरक्षाकर्मीहरु भोक, प्यासको पर्वाह नगरी निरन्तर ड्युटीका क्रममा रहेका सुरक्षाकर्मीलाई डा. कर्णले पिउने पानीको व्यवस्था गरेर उहाँहरुको प्यास बुझाउन सहयोग गर्नुभएको थियो । नेपालगन्ज उपमहानगर क्षेत्रका विभिन्न स्थानमा पुगेर उहाँले सुरक्षाकर्मीलाई शुद्ध पिउने पानी (मिनरल वाटर) निःशुल्क वितरण गर्नु भएको थियो ।
‘सुरक्षाकर्मीमा कडा अनुशासन हुन्छ, कतै जान पनि पाइँदैन, कर्फ्युको समयमा बजार पुरै बन्द थियो, चाउचाउ खाएर ड्युटी गरेको पनि देखियो, उहाँहरुलाई पिउने पानीको आवश्यकता देखेर मैले ब्यवस्थापन गरिदिएको हुँ ।’ उहाँले भन्नुभयो,‘कोरोना महामारीको समयमा पनि मैले सुरक्षाकर्मी र अटोरिक्सा वालालाई माक्स, स्यानिटाइजर जस्ता सामाग्री बाँडेको थिएँ ।’
५२ वर्षिय कर्ण डाक्टरी पेशामा लागेको २३ वर्ष पुगिसकेको छ । पेशाको शिलशिलामा काठमाण्डौ बस्नु भउका उहाँ २७ वर्षपछि नेपालगन्ज फर्कनुभयो । झण्डै एक दशकदेखी नेपालगन्जमै रहेका उहाँले यहाँको अवस्थालाई सुर्धानका लागि ‘क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज’ को अभियान शुरु गर्नुभयो । कुनै समयमा एक्लै सरसफाईमा निस्कने डा। कर्णलाई पछिल्लो समय अभियानलाई साथ मिल्न थालेको छ ।






