बाँके । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष अस्थाई दरबन्दीको माग गरिएको छ । प्रत्येक वर्ष अस्थाई दरवन्दी स्वीकृत गराउनु पर्ने भएकाले यस वर्षपनि २८ जनाको अस्थाई दरबन्दी थप गरेर माग गरिएको अस्पतालका प्रमुख निरज भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार अस्पतालमा प्रत्येक वर्ष दरबन्दी स्वीकृति गर्नु पर्ने बाध्यता रहेकाले यस वर्ष पनि अस्पतालमा कर्मचारी अभाव हुदा गुणस्तर सेवा दिन नसकिएकाले थप २८ जनाको दरबन्दी माग गरिएको हो । उहाँले भन्नुभयो,‘अघिल्लो वर्ष एक सय एक जनाको स्वीकृति भएको थियो । तर त्यतिले अस्पतालमा सेवा भने जसरी सुचारु गर्न कठीन भएकाले यस वर्ष थप गरेर एक सय उनान्तिस जनाको दरबन्दी माग गरिएको छ ।’
अस्पताल प्रमुख भट्टराईले मन्त्रालयद्धारा अघिल्लो वर्ष जम्मा ५४ जनालाई तलबका लागि बजेट उपलब्ध गराईएको थियो । सो अनुरुप अन्य ४७ जनालाई तलबको व्यवस्थापन अस्पताल श्रोत आफैले गर्नु परेको उहाँले बताउनुभयो । कर्मचारीलाई तबल खुवाउने समस्यालाई मध्यनजर गर्दै यस वर्ष २८ जनाको अस्थाई दरबन्दी थप गरेर माग गरिएको हुँदा ८० जनालाई तलब खुवाउने गरी बजेटको माग गरिएको उहाँको भनाई छ ।
यसअघि क्यान्सर अस्पतालमा करारमा स्वास्थ्यकर्मीले सेवा गर्दै आएका छन् । नेपाल सरकारको स्थायी कर्मचारी मध्य ५ जना काजमा सेवा दिंदै आईरहेको र बाँकी ९६ जना करारमा सेवारत छन् ।






