बाँके । निकुञ्ज सफारी र नियमित गस्तिका लागि सहज होस् भन्ने उद्येश्यले बाँके राष्ट्रिय निकुञ्जभित्र काठका पुलहरु बनाईएका छन् । निकुञ्जभित्र रहेका स साना खोलानालाहरुमा आवाजावत सहजका लागि २० वटा काठका पुल निमार्ण गरिएको निकुञ्ज संरक्षण अधिकृत श्याम शाहले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘निकुञ्जभित्र स साना खोलानालाहरु छन् । वार्षामासमा खोला तर्दै गस्ति सम्भव छैन । नियमित गस्ति सहजताका लागि र अवलोकन भ्रमण आगलागिबाट बचाउन २० वटा काठमा पुलहरु निमार्ण गरिएका छन् ।’ संरक्षण अधिकृत शाहले उक्त पुल निमार्णका लागि निकुञ्जभित्रकै ढलेपडेका काठहरु प्रयोग गरिएको बताउनुभयो ।

सन् २०१० जुलाई १२ मा नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा स्थापित बाँके राष्ट्रिय निकुञ्ज देशकै कान्छो निकुञ्ज हो । निकुञ्ज स्थापना भएको केही समयपछि फायर लाईन बनाउने क्रममा खोला खहरेहरुमा काठका पुल निमार्ण गरिएको संरक्षण अधिकृत शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार निकुञ्जको चारै दिशामा काठका पुल बनाईएका छन् । आवश्यकता हेरी थप पुल बनाउन सकिनेछ । निकुञ्ज भित्र बनाईएका उक्त पुल तर्दै नियमित गस्तिदेखि सवारी साधन प्रयोग गरी निकुञ्ज सफारी गर्ने गरिएको छ ।






