जानकी (बाँके), १० भदौः ‘ड्रागन खेती साथीहरुले गरेको देखेर मलाई पनि गर्न मन लाग्यो । अनुभवि साथीहरुसँग सल्लाह गरेर मैले पनि ड्रागन खेती गर्न शुरु गरेको हूँ ।’ यो भनाई हो बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ गाभारमा ड्रागन खेती गर्दै आउनु भएका पुर्ण बहादुर थापाको । उहाँले शुरुमै ३२ सय ड्रागनको बोट लगाउनुभयो । मुगुका पुर्ण बहादुरले विगत दुई वर्षदेखि १ विघा जग्गा भाडामा लिएर ड्रागन खेती गर्दै आउनु भएको छ ।
व्यावसायिक रुपमा ड्रगन खेती गर्नुभन्दा पहिला भारतको सिम्लामा मज्दुरी गर्नु हुन्थ्यो पुर्ण बहादुरले । भारतमा झण्डै १२ वर्ष मज्दुरी गरेर परिवारको पेट पाल्दै आउनु भएका पुर्ण बहादुरले आफ्नो प्रेरणाको श्रोत खेती गर्दै आएका साथीहरुलाई मान्नुहुन्छ । अर्काको देश, अर्कै परिवेश, परिवार स्वदेश अनि आफु परदेश यो कुराको चिन्तामा डुबी रहनु भएका उहाँलाई एक्कासी अरुको कामदार हुनुभन्दा आफै नै मालिक बन्न रहर लाग्यो । अनुभवी साथीहरुकै देखासिखि गरेर जसोतसो पुर्ण बहादुरले पनि ड्रागन खेती शुरु गर्नुभयो ।
आर्थिक अवस्था कम्जोर भएको हुँदा आफै मालिक बन्न पनि सजिलो थिएन उहाँलाई । त्यसैले अर्को एकजना साथीसँग मिलेर पार्टनरशीपमा जग्गा भाडामा लिई ड्रगन खेती गर्न शुरु गर्नुभयो । वि.सं. २०७८ चैतदेखि ड्रनग खेती गर्दै आउनु भएका पुर्ण बहादुरले पाँच लट ड्रगन फलाएर बजारमा विक्रि गरिसक्नु भएको छ । घर परिवारकै सदस्यले उक्त ड्रगन खेतीको रेखदेख, गोडमेल, मलपानी र बजार व्यवस्थापन गर्ने गरेको उहाँले बताउनुभयो ।
झण्डै ५० लाखको लगानीमा उहाँ र उहाँको साथी काली बहादुर रावलले शुरु गरेको उक्त ड्रागन खेतीबाट अहिलेसम्म लगानी उठ्न नसकेपनि आम्दानी चित्त बुझ्दो नै भएको उहाँको भनाई छ । ‘हामीले शुरु गरेदेखि अहिलेसम्म ५ लट बिक्रि गरिसकेका छौं । एक लटमा दुई देखि तीन लाख सम्मको आम्दानी भएको छ । लगानी अझैं उठ्न सकेको छैन ।’ उहाँले हाँस्दै भन्नुभयो,‘लागानी चाँडै नै उठ्ने छ भन्ने विश्वास छ । यस्को बजार राम्रो छ तर हाम्रो उत्पादन कम भएको हुनाले बजार माग पुर्याउन सकिरहेका छैनौं ।’
एक पटकमा दुईदेखि तीन लाखको व्यापार भएको उहाँले बताउनुभयो । उहाँका अनुसार आफु र परिवारलाई उक्त ड्रगन खेतीबाट आत्मसन्तुष्टि भएको छ । अरुको काम गरेर कामदार बन्नुभन्दा आफ्नै व्यावसाय शुरु गरेर मालिक बन्नु नै बेस भएको पुर्ण बहादुरले बताउनुभयो । ‘आफुले व्यावसाय गर्दा बजार भाऊदेखि बजारको प्रतिस्पर्धा कसरी गर्ने भन्ने कुरा सिकिंदो रहेछ ।’ उहाँले भन्नुभयो,‘जन सम्पर्क धेरै बढ्ने रहेछ । कामदार भन्दा व्यापारी भन्ने पहिचान नै धेरै सम्मानको हुने रहेछ ।’
पुर्ण बहादुर उहाँका साथी कालि बहादुरले पहिलो पटक उक्त ड्रगन खेती गरेको हुँदा आफुहरु अझैं पनि शुरुवाती चरण मै भएको बताउनुभयो । उहाँले अझैं ८ कठ्ठामा ड्रगनको बोट लगाउने योजना रहेको पनि बताउनुभयो । ड्रगनको बोटले फुल फुलेको ३५ दिन देखि ४५ दिनसम्म फल तयार गर्ने पुर्ण बहादुरले जानकारी दिनुभयो । यो पटकको उहाँको बारीमा लटरम्म फलेको ड्रागन फल भदौको अन्तिमसम्म बिक्रिका लागि तयार हुने उहाँले बताउनुभयो । बजार माग अनुसार अहिलेसम्म उहाँहरुले बाँके, बर्दिया, सुर्खेत हुँदै काठमाण्डौसम्म ड्रागन फ्रुट बिक्रि गर्नु भएको छ ।






