बाँके । बाँकेको नेपालगञ्जमा अपांगता भएका महिलालाई आत्मनिर्भर बनाउनका लागि रोजगारीको सुनिश्चितता गर्न एक कार्यक्रमका सहभागीहरुले माग गरेका छन् । एक्सेस नेपालले बिहीबार आयोजना गरेको अपांगता भएका महिलाको रोजगारी र स्वरोजगारीको अवस्थाबारे सरोकारवालाहरुबीच सम्पन्न भएको परामर्श कार्यक्रमका सहभागीहरुले उक्त माग गरेका हुन् ।
अरुको तुलनामा अपांगता भएका महिलाहरु विशेषगरी परनिर्भर हुने भएकाले सिप सिकाएर ती महिलाहरुलाई स्वरोजगार बनाउनुपर्नेमा कार्यक्रममा सहभागी अधिकारकर्मीहरुले जोड दिएका थिए । उनीहरुले राज्य नै यस विषयमा निकै संवेदनशील हुन आवश्यक रहेको बताए ।
अपांगता अधिकारर्मी तथा नेपाल अपांग महिला संघ केन्द्रीय सदस्य विनिता शर्माले अपांगता भएका युवा तथा महिलालाई आधुनिक प्रविधिको प्रयोगबारे सिप सिकाउन जरुरी रहेको बताउनुभयो । उहाँले भौतिक संरचनामात्र अपांगमैत्री भएर नहुने भन्दै विभेदका कारण जागिर छोडनुपर्ने बाध्यता भएको पनि बताउनुभयो ।
एक्सेस नेपालका अध्यक्ष गार्गी नेपालले उद्योग तथा कलकारखानाहरुमा सिप सिकेका अपांगता भएका युवा तथा महिलालाई रोजगारीको व्यवस्था गर्नुपर्ने बताउनुभयो । ‘सरकारले अपांगता महिला युवालाई प्रोत्साहन गर्ने नीति ल्याएको छ ।’ उहाँले भन्नुभयो,‘हाम्रो समाजकै मानसिकता अपांगता भएकाहरुले केही गर्न सक्दैनन् भन्ने सोंचका कारण अपांगता भएका व्यक्तिहरुको मनोबल बढेन सकेको छैन ।’ अध्यक्ष नेपालले विभेदपुर्ण सोंचकै कारण अपांगता भएकाहरुले अवसर पाउन नसकेको कुरा औल्याउनुभयो ।
अपांगता क्षेत्रका अभियन्ता भावुकजंग थापाले अपांगता भएका युवा तथा महिलालाई सिप तथा तालिममा उनीहरुको सहभागिता सुनश्चित गर्नुपर्ने बताउनुभयो । त्यसैगरी कार्यक्रममा सहभागी हुनु भएका नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले अपांगतासम्बन्धी काम गर्ने संघ संस्थाहरुले उनीहरुलाई सिप दिएर सक्षम बनाइ रोजगारको सम्भावनाहरुमा सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।






