रुपनी जि एम, बाँके । ‘मैले मेरो जेठानीलाई टिवी रोगले दिएको पिडा देखेपछि पाठेघरको क्यान्सर विरुद्धको खोप लगाएकी हुँ ।’ यो भनाई हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० पासांगल्हामु मार्गकी कुसु दुग्गडको । टिवी लागेकी जेठानीलाई पीडामा छटपटिएको देखेर क्यान्सर लाग्यो भने त आफुलाई योभन्दा बेसी पीडा दिन्छ भन्ने डरले आफुले पाठेघरको क्यान्सर विरुद्धको खोपा लगाएको उहाँको भनाई छ । कुसुमले खोपको सबै डोज पुरा गर्नुभएको छ ।
कुसुमले मात्र नभई उहाँका दुई छोरीले पनि पाठेघर विरुद्धको क्यान्सरको खोप लगाई सक्नुभएको छ । कुसुमले मात्र नभई उहाँका दुई छोरीले पनि पाठेघर विरुद्धको क्यान्सरको खोप लगाई सक्नुभएको छ । छोरीले नै आफुलाई खोप लगाउन सुझाव दिएको बताउने कुसुमले अरु महिलालाई पनि पाठेघरको क्यान्सर विरुद्धको खोप लगाउन सुझाव दिनुभयो । उहाँ भन्नुहुन्छ,‘क्यान्सर लागेर धेरै पैसा खर्च गर्नुभन्दा क्यान्सर विरुद्धको खोप लगाएर जीवनलाई स्वस्थ राख्नु नै उत्तम हुन्छ ।’ उहाँले भन्नुभयो,‘खोप महंगो भएपनि हाम्रो आर्थिक अवस्थाले भ्याउँथ्यो त्यसैले हामी तीन आमा छोरीले नै यो खोप लगाएका छौं ।’
कुसुम जस्तै पाठेघरको क्यान्सर विरुद्धको खोप लगाउनु भएको छ डा. प्रस्तुती शर्माले । उहाँ विश्व स्वास्थ संगठनको सामूयिक स्वास्थ्य डक्टरका रुपमा हाल धनगढीमा कार्यरत हुनुहुन्छ । उहाँले पनि आफ्नो स्वाथ्यको ख्याल गरेर पाठेघरको क्यान्सर विरुद्धको खोप लगाएको बताउनुभयो । उहाँका अनुसार खोपको शुल्क महंगो भएकै कारण सबै डक्टरले यो खोप लगाउँछन् भन्ने हुँदैन । ‘कतिपयलाई यो खोपका बारेमा जानकारी छैन भने जानकारी भएकालाई पनि खोपको शुल्क महंगो भएको हुनाले पनि उक्त खोप लगाउनबाट बञ्चित रहेका छन् ।’ उहाँले भन्नुभयो ।
३५ वर्षिय डा. शर्माले नेपालगञ्ज मेडिकल केलेज नेपालगञ्मा कार्यरत हुँदा आफुसँगै आमा र तीन जना आफन्तलाई पनि पाठेघर विरुद्धको क्यान्सरको खोप लगाउन सल्लाह दिनुभएको बताउनुहुन्छ,‘मैले आजभन्दा २ वर्ष पहिले नै पाठेघर विरुद्धको क्यान्सरको खोप लागउँदा मेरी आमा र आन्टिहरुलाई पनि यो लगाउन सल्लाह दिएकी थिएँ । म डाक्टर भएकोले पनि उहाँहरुले मेरो सल्लाहलाई मान्नु भयो र हामीलेसँगै खोप लगाएका थियौं ।’
आमा र आन्टिहरुले खोप लगाउन सजिलै मानेपनि खोपको शुल्क महंगो भएकै कारण उहाँहरुले आनाकानी गरेको पनि डा. शर्माले बताउनुभयो,‘मैले मेरो आमा र आन्टिहरुलाई खोप लगाएपछि हुने फाईदाका विषयमा भनेपछि उहाँहरु पाठेघर विरुद्धको क्यान्सरको खोप लगाउन तयार हुनुभयो तर खोपको महंगो शुल्कका कारण उहाँहरुले केही समय आनाकानी गर्नुभयो । त्यो विषयमा भने उहाँहरुलाई सम्झाउन र मनाउन मलाई अलि गाह्रो भएको थियो ।’
आफै डाक्टर भएर पनि नेपालमा यो खोप लगाउन पाईन्छ भन्ने थाहा नपाएर भारतको लखनऊमा गई लगाउने सोंच बनाउनु भएकी डा. प्रस्तुतीले २ वर्ष अघि मात्रै उक्त खोप लगाउनु भएको हो । उहाँले भन्नुभयो,‘यो खोपको बारेमा थाहा भएपनि नेपालमा पनि लगाउन पाईन्छ भन्ने थाहा थिएन । भारतको लखनऊमा गएर लगाउने योजनामा थिएँ । तर नेपालमै लगाउन पाईने भएपछि मैले महंगो नै भएपनि लगाएँ ।’ डा. प्रस्तुतिले पाठेघर विरुद्धको क्यान्सरको खोप सबै महिलाले लगाउनै पर्ने भएको हुनाले नेपाल सरकारले उक्त खोपलाई निशुल्क बनाउन आवश्यक रहेको बताउनुभयो ।
नेपाल सरकारले सन् २०१५ देखि २०१६ मा पाठेघरको क्यान्सर विरुद्ध लगाइने खोपको कास्की र चितवनमा पाइलोटिङक गरेको थियो । अहिले उक्त खोपलाई नीजि अस्पतालले विरामीको माग बमोजिम लगाउने गरेका छन् । त्यसरी खोप लगाउने मध्य बाँकेको नेपलागञ्ज स्थित कान्ति आरोग्य अस्पताल पनि एक हो । अस्पतालका बाल रोग विशेषज्ञ डा.रोमा बोराका अनुसार अहिलेसम्म ७ जनाले मात्र उक्त खोप लगाएका छन् ।
खोप लगाउनको लागि प्रति व्यक्ति १० हजार रुपैया खर्च हुने भएकाले पनि यो खोप लगाउन जो कोहीको क्षमताले नसक्ने डा. बोराले बताउनुभयो । उहाँले भन्नुभयो,‘खोप महंगो छ । लगाउने ईच्छा भएपनि खोपको मूूल्यकै कारण लगाउन सकिरहेका छैनन् ।’ उहाँले भन्नुभयो,‘समयमै लगाउन सके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ भन्ने जनचेतनाको पनि कमीकै कारण हुन सक्छ खोप प्रति यहाँका जनताको चासो खासै देखिएको पाईँदैन ।’
खोपको बारेमा थाहा पाएर लगाउने ईच्छा भएकाहरुलाई बाहीरबाट खोपको व्यवस्था गरी लगाउने गरेको डा बोराको भनाई छ । उहाँका अनुसार १० वर्षदेखि ४९ वर्ष सम्मका महिला तथा बालबालिकाले यो खोप लगाएका छन् । १५ वर्षभन्दा तलका उमेर समूहले ६ महिनाको अन्तरालमा २ पटक खोप लगाउनु पर्छ भने १५ वर्षभन्दा माथिका उमेर भएका महिलाहरुले ६ महिनाकै अन्तरालमा ३ पटक खोप लगाउनु पर्छ । एक पटक खोप लगाएपछि अर्को पटकको खोपलाई व्यवस्थापन गर्न चुनौति नै हुने गरेको डा. रोमाले बताउनुभयो ।
परीक्षणको समयमा पाठेघरको क्यान्सर कुन अवस्थामा छ भन्ने जानकारी लिन सकिन्छ । समयमा नै चिकित्सकको सल्लाहमा औषधि सेवन गरेमा रोग निको हुन्छ । सानै उमेरमा विवाह गरेमा, असुरक्षित र सानै उमेरमा यौनसम्बन्ध राखेमा, धेरै बच्चा जन्माएमा, धेरै गर्भधारण गरेमा यो रोग लाग्ने बढी खतरा रहने भेरी अस्पतालका स्त्री क्यान्सर रोग विशेषज्ञ कृतिपाल सुबेदीले बताउनुभयो ।
धूमपान गरेको महिलालाई पनि पाठेघरको मुखको क्यान्सरको सम्भावना बढी हुने उहाँको भनाई छ ।
यस्तै ५ वर्ष भन्दा बढी हर्मोनयुक्त परिवार नियोजनको साधन प्रयोग गरेका महिलामा पनि क्यान्सरको जोखिम रहने डा. सुबेदीले जानकारी दिनुभयो । उहाँका अनुसार भेरी अस्पतालमा दैनिक दुई देखि ३ जनासम्म पाठेघरका क्यान्सरका विरामी चेकजाँचका लागि आउने गरेका छन् ।
त्यसैगरी बाँकेको खजुरामा रहेको क्यान्सर अस्पतालमा पनि पाठेघरको मुखको क्यान्सरका विरामीको संख्या पछिल्लो समय बढ्दै गएको स्त्री रोग विभागका प्रमुख एवं क्यान्सर सर्जन डा. ईन्द्रनील घोषले बताउनुभयो । ‘पहिलो, दोश्रो र तेश्रो चरणका सबै प्रकारका क्यान्सरका बिरामीहरु पछिल्लो समय यता अस्पतालमा चेकजाँच र उपचारका लागि आई रहनु भएको छ ।’ उहाँले भन्नुभयो,‘धेरै जसो बिरामी त तेश्रो चरणमा आउन हुन्छ । जस्का लागि अप्रेसन नै अन्तिम विकल्प हुन्छ ।’
डा. ईन्द्रनील घोषले पाठेघरको क्यान्सर विरुद्धको खोपको व्यवस्था नेपाल सरकारले नै गरेको भए महिलाहरुको पाठेघरको क्यान्सर पीडित हुनबाट बच्न सकने धेरै सम्भावना हुन सक्थ्यो । खोप मंहगो भएकै कारण निशुल्क गर्न नसके पनि थोरै शुल्कमा यो खोपको व्यवस्था सरकारले गर्नु पर्ने डा. घोषले बताउनुभयो । पठेघरको क्यान्सर पीडितको संख्या बढ्दै गएको डा. घोषले बताउनुभयो । उहाँका अनुसार खजुरा अस्पतालमा प्रत्येक महिना ५ देखि ६ जनासम्म पठेघरको क्यान्सरका लागि डाईग्लोसिसका लागि जाने गर्दछन् । अस्पतालको तथ्यांक अनुसार २४ देखि ६५ वर्ष सम्मका क्यान्सर पीडितहरु रहेका छन् ।
उहाँले भन्नुभयो,‘ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को संक्षमणले हुने क्यान्सर हो । यो संक्रमणले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्ने गर्छ ।’ संक्रमण भएको ८ देखि १० वर्ष पछि क्यान्सरमा परिणत हुन्छ । महिलालाई पाठेघरको मुखमा क्यान्सर भएन–नभएको बारे ‘प्याप स्मेयर टेस्ट’ अर्थात गर्भाशय श्राव परीक्षण गरेर पत्ता लगाउन सकिन्छ । यो विधि पाठेघरको कोषिकामा सामान्य अवस्थामा रहे नहरेको पत्ता लगाउने एउटा सरल र छरितो विधि भएको डा.घोषको भनाई छ ।
पहिलो चरणमा नै औषधी उपचार गरे निको हुने पाठेघरको क्यान्सरलाई तेश्रो चरणमा पुर्याएर अप्रेसन नै गर्नु पर्ने कारण चेतनाको कमी भएको डा. घोषको भनाई छ । महिलाहरुमा हुने क्यान्सर मध्ये सबै भन्दा धेरै पाठेघरको मुखको क्यान्सर भएको विश्व स्वास्थ्य संघको तथ्यांकले बताएको छ । पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमणको कारण हुन्छ ।
विश्व स्वास्थ्य संघको एक तथ्यांकअनुसार यो रोगबाट वर्षैनी २ लाख ७० हजार भन्दा बढी महिलाहरुको अकालमै मृत्यु हुने गरेको छ । नेपालमा बार्षिक १० हजारको हाराहारीमा पाठेघर मुखको क्यान्सरका नयाँ विरामीहरु थपिने गरेको देखिएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखाले जनाएको छ । जसमा ८५ प्रतिशत कम विकसित अर्थात नेपाल जस्तो देशहरु पर्दछन् । पाठेघरको मुखमा एचपिभी भाइरस प्रवेश गरेको छ भने यौनसम्पर्क सुरु भएपछि असर देखिन सुरु हुन्छ ।






