रुपनी जि एम, बाँके । बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दुध लिन आउने गाडीको बाटो हेरी बस्नुहुन्छ । दुध लिन आउने गाडीले हर्न बजाउँदै शशीरामले तयार पार्नु भएको ३५ लिटर दुधको भाँडो उठाएर लैजान्छ । बिहान दुध लैजान आउने गाडीले बेलुका पनि उहाँको घर छेऊमा आएर हर्न बजाउँछ । अनि शशीरामले तयार पारी राखेको २५ लिटर जति दुधको भाँडो बिहान जसरी नै उठाएर लैजान्छ । यो क्रम विगत ५ वर्षदेखि उहाँको घरमा चल्दै आएको छ ।
बाँकेको कोहलपुर नगरपालिका वडा नं. १३ खडकवारका शशीराम १० वर्ष साउदीमा बसेर फर्किएपछि व्यावसायीक रुपमा पशु व्यावसायी बन्नु भएको छ । गुर्वाकोटी पशु पालन फार्म र अमृत पशु पालन फर्म गरी दुई वटा फार्म दर्ता गराएर पशु व्यावसायी बन्नु भएका डाँगीलाई हिजोआज भ्याई नभ्याई छ । बाउबाजेले गर्दै आएको कामलाई व्यावसायिक रुपमा नै गर्न शुरु गर्नु भएका शशीरामको फार्ममा अहिले होलस्टेनक्रस प्रजातिका ७ वटा गाई छन् । शुरुमा २ वटा गाईबाट व्यावसाय गर्नु भएका शशीरामले दुधबाट फाईदा हुन थालेपछि गाईको संख्या बढाएको बताउनुभयो । ‘व्यावसाय सानैबाट गर्नुपर्छ भन्ने जानेर शुरुमा २ वटा गाई पालें । त्यसबाट चित्त बुझ्दो भएपछि ५ वटा गाई थपेको हुँ ।’ उहाँले भन्नुभयो ।
अरु व्यवसाय गर्नलाई पढाई लेखाई कम भएकै कारण पशु पालन सानैबाट गर्दै आएकाले यही पेशालाई अंगालेको शशीरामले बताउनुभयो । गाईलाई दानापानीमै मासिक ५० हजारको हाराहारीमा खर्च लाग्ने भएकाले आम्दानी ९० हजार भएपनि नाफा भने जम्मा ३० देखि ४० हजारसम्म हुने उहाँको भनाई छ । सोंचे जस्तो मनग्य फाईदा नहुँदापनि यही पेशा नै गर्न मन लाग्ने उहाँ बताउनुहुन्छ । ‘हामीले उत्पादन गरेको दुधको खरिद मूल्य जम्मा ६४ रुपैँया हुने अनि बजार भाऊ अनुसार उपभोक्ताले बिक्रि गर्ने मूल्य सय देखि एकसय २० सम्म हुँदापनि गर्न मन लाग्नु भनेको एक प्रकारको बाध्यता पनि हो ।’ उहाँले भन्नुभयो,‘पढाई लेखाई धेरै र हातमा अरु नै सीप भएको भए खासै चित्त नबुझ्दो नाफा हुँदा पनि चित्त बुझाएर बस्दिनथें ।’
शशीरामले झैं दुुध बेचेरै घरखर्च चलाउँदै आउनु भएको छ राम सुहवन यादवले पनि । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ३ हल्कारापुरुवाका सुहवनले पनि पुर्खाले पाल्दै आएको पशु पानलाई व्यावसायिक रुपमा अघि बढाउन ‘यादव भैंसी पालन फार्म’ दर्ता गराउनु भएको छ । २० लाख खर्च गरेर बनाएको राम सुहवनले उक्त फार्ममा हिजोआज १ सय ३० वटा भैंसी पालिएका छन् । उहाँको फार्ममा ती मध्ये हिजोआजको यो समयमा ३५ वटा भैंसीले दुधु दिन्छन् भने बाँकी भैंसी बियाउने चरणमा छन् ।
बाँकेका तीन ठाउँमा दैनिक १२ लिटरको हाराहारीमा राम सुहवनले दुध संकलनका लागि पठाउने गर्नुहुन्छ । त्यसरी दुध संकलन गर्ने दुध डेरी अन्तर्गत साईबाबा दुध डेरी, एस के दुध डेरी र डिडिसी दुध डेरी रहेका छन् । खर्च र आम्दानी ठ्याक्कै भन्न नसक्नु भएका राम सुहवनले मासिक नाफा भने ५० देखि ६० हजार सम्म हुने गरेको बताउनुभयो । नेपाल सरकारले ल्याएको पशु बिमा अन्तर्गत उहाँले पनि बिमा गराएको बताउनुभयो । तर पशु मृत्युपछि भने बिमाको रकम पाउने प्रकृया नै निकै झन्झटिलो भएको हुनाले गत वर्षदेखि बिमा गर्न छाडेको उहाँले बताउनुभयो । ‘बिमा गराउनुभन्दा बिमा रकम पाउने प्रकृया नै निकै झन्झटिलो रहेछ ।’ उहाँले भन्नुभयो,‘हामी किसानलाई दिन भरी बिमा रकमको लागि दिनैभरी अफिसमा बस्ने कहाँ फुर्सद ? हामीले त गत वर्षदेखि नै बिमा गराउन छाडेका छौं ।’
शशीराम र राम सुहवन जस्तै व्यावसायिक पशुपालन गरेर विगत ७ वर्षदेखि दुध बेच्दै आउनु भएको छ बर्दियाका गोविन्द उपाध्यले पनि । १५ वटा गाईबाट व्यावसाय गर्न शुरु गर्नु भएका गोविन्दले अहिले ४४ वटा गाईको रेखदेख गर्दै आई रहनु भएको छ । वि. संं. २०७३ सालमा एकता पशुपालन फार्म दर्ता गराएर उहाँले व्यवासायिक रुपमा नै पशुपालन गर्दै आउनु भएको हो । निर्जीवन बिमा कम्पनीमा कार्यरत ४४ वर्षिय गोविन्दले कृषिमा पनि केही गर्न सकिन्छ र युवाहरुले नै कृषि पेशालाई अंगालेर अगाडी बढ्नु पर्छ भन्ने उद्येश्यले आफुले गाई पालन गर्न शुरु गरेको बताउनुभयो ।
जर्सी र होलस्ट्रेनक्रस प्रजातिका गाईबाट उहाँले प्रत्येक दिन २३० देखि २३५ लिटर सम्मको दुध उत्पादन गर्नुहुन्छ । किसानबाट उपभोक्तासम्म ३० देखि ४० रुपैंयाको फरक पर्दापनि भोलीका दिनमा दररेट बढ्ने आशामा आफुले फार्म सञ्चालन गरेको उहाँको भनाई छ । आफ्नै जग्गामा फार्म सञ्चालन गर्दै आउनु भएका गोविन्दको मासिक खर्च ३ लाखको हाराहारीमा हुन्छ भने आम्दानी ३ लाख ७० हजार हुने गर्दछ । दुधबाट उहाँलाई पनि सरदरमा मासिक ४० देखि ४५ हजारको नाफा हुने गर्दछ । ५ जना कामदार राखेर फार्म सञ्चालन गर्दै आउनु भएका गोविन्दले पशुपालन किसानको मर्कालाई बुझेर उत्पादनमा अनुदानको व्यवस्थालाई कार्यान्वयनमा ल्याई दिन नेपाल सरकारलाई आग्रह गर्नु भएको छ ।
किसानद्धारा उत्पादित दुधलाई संकलन गरेर आत्मनिर्भर बनाउनमा निकै ठूलो सहयोग गरेको छ ‘एस के डेरी इन्डस्ट्रिज प्राईभेट लिमिटेड’ बाँकेले । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ को पुरैनीमा रहेको उक्त दुध डेरीमा बाँके र बर्दियाका गरी ५ हजार किसानले दुध संकलन गर्ने गर्छन् । प्रालीका प्रोडक्शन ईन्चार्ज सन्तोष पोख्रेलका अनुसार वि.सं. २०७६ सालदेखि उक्त उद्योगले किसानका दुधलाई संकलन गर्दै आएको छ । सो प्रालीमा ३२ जना कर्मचारी कार्यरत छन् । उहाँका अनुसार किसानबाट संकलित दुधलाई चिसो बनाएर ल्याबमा टेस्ट गर्दै परामिटरले चेक गरेर दुधको फयाट निकाल्ने गरिन्छ ।
फ्याटबाट निकालिएको दुधलाई ४ डिगिको तापक्रमा राखिएपछि उक्त दुधबाट आइसक्रिम, केक, पनीर, लगाएत अन्य दुधबाट बनिने सबै परिकार बनाएर बजारमा पठाईने उहाँले बताउनुभयो । ‘हामीले किसानबाट संलकन गरेका दुधलाई ४ डिग्रीको तापक्रममा राखेर दुधका विभिन्न परिकार बनाएर बजारमा पठाउँछौं ।’ उहाँले भन्नुभयो,‘हामीकहाँ राम्रो भोल्टेजका कारण प्याकींग गरेर राखीएका सामानहरु बिग्रने सम्भावना हुँदैन् । हामीले गुणस्तरलाई बढि ध्यान दिएका छौं ।’
प्रालीका प्रोडक्शन ईन्चार्ज पोख्रेलका अनुसार प्रत्येक दिन किसानबाट २५ सय लिटर दुध दसंकलन गरेर ५०० लिटर पनिर, दूध १२ सय लिटर, आईसक्रिम ३ सय लिटर र दही सिजन अनुसार पाँच देखि हजार लिटरसम्म बनाइन्छ । यसरी बनाईएका दुधका परिकारहरु बाँकेमा मात्र नभई बर्दिया, दांग, सुर्खेत, जुम्ला देखी काठमाण्डौ सम्म जाने गर्छ । साढे पाँच कठ्ठाको क्षेत्रफलमा निर्मित उक्त दुध डेरी बनाउनका लागि सबै मेसिन भारत र चाइनाबाट ल्याइएको पोख्रेलले बताउनुभयो । अनुदान बिना तीनजना युवाले मिलेर ८ करोडको लगानीमा अत्याधुनिक प्रविधिमा उक्त उद्योग सञ्चालन गरिएको हो ।






