रुपनी जि एम, बाँके । बाँके बैजनाथ गाउँपालिका वडा नं. ८ टिटीहिरिया की ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दुरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगञ्जको बजारमा बेच्नमै व्यस्त छ । प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छाना माथि सितमा राख्ने र भोली पल्ट बिहानै टिपिएका तरकारीलाई बोरामा बाँधेर नेपालगञ्जको बजारसम्म ल्याउनमै उहाँको दिन बित्ने गर्दछ । शान्ति तरकारी बोकेर बिहानै सात बजे नेपालगञ्ज आई पुग्नुहुन्छ ।
मौसम अनुसार बारीमा फलाईएका तरकारी बेच्ने शान्तिलाई आफुले कति किलो तरकारी लिएर बिक्रि गर्ने गरेको भन्ने थाहा छैन तर बजारसम्म ल्याईएका तरकारी भने सबै बेचेर घर फर्कनुहुन्छ उहाँ । ‘अन्तबाट खरिद गरेर बेच्ने भए पो यति किलो खरिद गरें भन्ने हिसाब हुन्छ । यी त सबै आफ्नै बारीमा फलाईएका तरकारी हुन् ।’ उहाँले भन्नुभयो,‘आफ्नै बारीमा फलेको हुनाले टिप्यो बोरामा बाँध्यो अनि बजारमा ल्याएर बेच्यो । कति किलो ल्याइएको हुन्छ भन्ने थाहा नभएपनि बोकेर ल्याईएका सबै तरकारी बेचेर फर्कन्छु ।’ शान्तिले नेपालगञ्जको सडक छेऊमा बसेर विगत पाँच वर्षदेखि हिउँदे, वर्षे र बाह्रैमासे तरकारी बेच्दै आउनु भएको बताउनुभयो ।
प्रत्येक बिहान ६ बजेदेखि १० बजेसम्म सडक छेऊमा तरकारी बेजेर शान्तिले दैनिक चार देखि पाँच हजारसम्म कमाउने गरेको बताउनुहुन्छ । उहाँले यस पटक वर्षे तरकारी बेचेर १ लाख ९५ हजारको कमाई गरेको बताउनुभयो । ‘दैनिक आम्दानी थोरै भनेको ३ हजार हुन्छ नत्र त प्राय चार देखि पाँच हजार सम्मको भई रहन्छ । हामी बुढाबुढीले अस्ति भर्खरै हिसाब गरेको वर्षे तरकारी बेचेर १ लाख ९५ हजारको कमाई भएको रहेछ ।’ तरकारीबाट कमाएको पैसाले छोरीहरुको पढाई खर्च र घर खर्च दुवै चलेको उहाँले बताउनुभयो । शान्तिको चार छोरी सहीत ६ जनाको परिवार छन् ।
शान्तिलै झैं आफ्नै बारीमा फलेको तरकारी बेचेर विगत ४ वर्षदेखि घर चलाउँदै आउनु भएको छ शोभारानी थारुले पनि । ५५ वर्षिया शोभारानीको आम्दानी दैनिक पच्चिस सय देखि पैंतिस सयसम्मको हुने गर्दछ । उहाँले वर्षेबाली भन्दा हिउँदो बालीबाट बढी आम्दानी गर्ने गरेको बताउनुभयो । ‘हिजोआजको समयमा फलेको तरकारीबाट भन्दा हिउँदे बालीबाट उत्पादन भएका चना, केराऊ, मसुरोको दानासँगै झाँतोमा पिसेको दाल र अन्य गेडागुडीबाट मैले दिनको ५५ सय सम्मको आम्दानी गरेको छु ।’ उहाँले भन्नुभयो ।
शोभारानी र शान्ति एउटै गाउँका भएको हुनाले उहाँहरु बिहान ७ बजे नै गाउँबाट तरकारी बोकेर बेच्नकालागि नेपालगञ्जको धम्बौझिमा आई पुग्नुहुन्छ । यो समयमा शोभारानीले कटहर, आलु, प्याज, वर्षे खुर्सानी, भान्टा, कर्मुलाको साग लगाएतका हरियो तरकारी बेच्दै आउनु भएको छ । साथीको देखेर आफुले पनि बारीमा फलेको तरकारीलाई नेपालगञ्जको बजारसम्म ल्याएर बेच्न शुरु गरेको शोभारानीले बताउनुभयो ।
शुरुशुरुमा लाज लागेको बताउने उहाँले अहिले त उमेरले साथ दिएसम्म यही व्यापार नै गर्ने बताउनुहुन्छ । ‘सडकको छेऊमा तरकारीको थुप्रा लगाएर बेच्न मलाई पहिला त लाज लागेको थियो । तर अहिले त आफ्नै व्यापार हो भन्ने बुझेको छु । अब त सकुञ्जेल यही नै गर्ने हो ।’ शोभारानीले ८ कठ्ठा जग्गामा लगाईएको तरकारीलाई बजारसम्म ल्याएर बिक्रि गर्ने गर्नुहुन्छ ।
शान्ति र शोभारानीलाई पच्छ्याउँदै ३० वर्षिया सुबिना कुमारी थारुले पनि आफैले बारीमा फलाएको हरियो तरकारीलाई बजारमा ल्याएर बेच्ने गर्नुहुन्छ । उहाँले यसरी तरकारी बेच्न लागेको ३ वर्ष भएको छ । तरकारी बेच्नुभन्दा पहिला उहाँले ज्याला मज्दुरी गर्नु हुन्थ्यो । आफुले दिनभरी काम गर्दा जम्मा पाँच सय पाउने र तरकारी बेचेर शोभारानी अनि शान्तिले २५ सयदेखि ५५ सयसम्म आम्दानी गरेको थाहा पाएपछि उहाँले पनि बारीमा फलेका तरकारीलाई बजार भाऊ दिन शुरु गर्नुभयो ।
‘पहिला पहिला त मैले ज्याला मज्दुर गर्थें । दिनभरी काम गर्दा जम्मा ५ सय मात्र कमाई हुन्थ्यो । थकाई पनि उस्तै । जब मैले छिमेकी आन्टिहरुले बारीमा फलेको तरकारी बेचेर एकै दिनमा ५ हजारसम्म कमाएको थाहा पाएँ त्यसपछि मैले पनि उहाँहरुसँगै बजारमा आफ्नो बारीमा फलेका तरकारी बेच्न शुरु गरें ।’ सुबिनाले भन्नुभयो,‘अर्काको काम गर्दा बिहान देखि बेलुकासम्म नै खटिनु पथ्र्यो । सानै भएपनि यो त आफ्नै व्यापार हो । बिहान भरी तरकारी बेचेर दिउँसो घरको काम गर्न पनि पाईन्छ ।’
तरकारी बेचेरै सुबिनाले पनि एक बिहान ३५ सय हाराहारीमा आम्दानी गर्ने गर्नुहुन्छ । उहाँ दिन बिराएर तरकारी बिक्रि गर्न नेपालगञ्ज आउने गर्नुहुन्छ । तरकारीबाट राम्रो आम्दानी हुन थालेछि सुबिनाले आफ्नै बारीमा व्यावसायीक खेती गर्न शुरु गरेको बताउनुभयो,‘पहिला घरमै मात्र खानका लागि तरकारी लगाईन्थ्यो । अहिले तरकारीबाट सोंचेको भन्दा राम्रो आम्दानी हुन थालेपछि गोडमेलका लागि २ देखि ३ जनासम्म मान्छे लगाएर व्यावसायिक रुपमा तरकारी लगाउने गर्छु ।’
तरकारी फलाउनमा सुबिनाको श्रीमानले सहयोग गर्नुका साथै ज्याला मज्दुरको काम पनि गर्नुहुन्छ । उहाँका एक छोरा र एक छोरी छन् । चारजनाको परिवारलाई सुबिनाकै तरकारीले पालेको छ । अरुको काम गरेर ज्याला मज्दुरको रुपमा चिनिनुभन्दा सानै भएपनि आफ्नै व्यापर गरेर आत्मसन्तुष्टि भएको सुबिना बताउँनुहुन्छ । ‘अहिले त म निकै नै खुशी छु । अर्कैकोमा काम गर्छु भन्नुभन्दा आफ्नै व्यापार गर्छु भन्नुमा छुुट्टै मज्जा छ ।’ उहाँले भन्ुभयो,‘सडककै छेउमा बोरो ओच्छ्याएर तरकारी बेच्दा पनि यस्ले हामीलाई आत्मानिर्भर बन्न सिकाएको छ ।’
नेपलागञ्जको धम्बोझि चोक नजिकै प्रत्येक बिहान सडकको छेऊमा अग्र्यानिक तरकारी किन्ने ग्राहको भिड देख्न सकिन्छ । प्राय मर्निंग वाक गर्नेहरुले तरकारी किनेर लैजाने गर्दछन् । बिहान सडक सुनसान हुने र १० बजेपछि सरकारी कामसँगै चहलपहल पनि बढ्ने भएकाले ५÷६ बजेदेखि १० बजेसम्म तरकारी बेच्ने वातावरण मिलाई दिएको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख सुर्य बोगटीले बताउनुभयो । विगत केही वर्षदेखि नेपालगञ्जका सडक छेऊहरुमा गाउँघरका अग्र्यानिक मौसमी तरकारीले बजार लिन थालेका छन् ।






